इतिहासको अग्निपरीक्षामा कर्मचारीतन्त्र
“तिनीहरुका परिवारमा पुग्दो अन्न थिएन । बर्गीय बिभाजनले ती खेतीपातीबाट पनि अलग थिए । उब्जनीको पचास देखि पैसट्ठी प्रतिशत कर तिर्दा पनि अविचलित भै खेती स्याहार्ने बेला निष्फिक्रि कामूक नृत्य नाचिरहेका निर्दोष किसानलाई हेरेर चित्त बुझाउँथे र उत्साहित हुन्थे । तिनीहरुसँग बर्षभरी कार्यालय जान केवल एकसरो लुगा हुन्थ्यो तर ती इतिहास बदल्ने गौरवशाली आस्थामा अडिग थिए । तिनमा अभावको भीषण खडेरी थियो तर सँगै थियो अविचल दृढ बिश्वास, देशलाई सवल र समृद्ध बनाउन दिइएको अभिभाराप्रति । त्यसैले ती पारिवारिक र बर्गीय स्वार्थबाट माथि उठे र समृद्ध जापान बनाउने अभियानको जगमा कहिल्यै नमक्किने, नपिसिने ढुङ्गाका रुपमा आफूलाई बिलीन गराए ।” ती थिए– सन् १८६८ मा ‘मैजी अभ्यूदय’ पछिका कर्मचारीहरु जसले आजको समृद्ध जापानको मूल जग बसालेका थिए ।
बर्तमान पुस्ताले पुर्खाहरुको पसिनाले आर्जेका बिरासतको ब्याज खाइरहेको हुन्छ । दुर्भाग्यवश हामी नेपालीले नेपाल एकीकरण, ब्रिटिशसँगको त्रासदीपूर्ण लडाइमा प्राप्त प्रदर्शित बीरता र सातसालको प्रजातन्त्र प्राप्तिको उत्सर्गबाहेक पुर्खाबाट त्यस्तो कुनै बिरासत पाएनौ जसको ब्याज हामीले खान सकौं । अंग्रेजसँगको लडाईंमा पानीमात्र खाएर खुकुरी नचाएका बीरबीरांगनाको रगत र पसिनाको ब्याज हामीले अझै खाइरहेका छौं बीर गोर्खार्ली भनेर । त्यसबाहेकका केही सपूतहरुका लोकोपकारका खातिर गरिएका आत्मोत्सर्ग पक्कै प्रेरणादायी छन् तर देशको संगठित समूहबाट गरिएका त्याग र बलिदानको ब्याज नै आगामी पुस्ताले खान पाउने रहेछ । हाम्रा भावी सन्ततिका लागि सुनौलो क्षितिज खोल्न त्याग र उत्सर्ग गर्नुपर्ने संगीन घडी अहिले नेपाली कर्मचारीतन्त्रमा आएको छ ।
अवश्य पनि भोको पेटले भजन गाउन कठीन हुन्छ तर के पनि सत्य हो भने सच्चा भक्तहरु भोको हुनुमै गौरव गर्छन् । एउटा स्नातकोत्तर गरेको कर्मचारी (ऊ खरिदार पनि हुनसक्छ) ले अहिले जति तलब पाउँछ, ऊ सचिव नै भएपनि उसले पाउने तलव उसको बालसखा ( जसले तीन कक्षा पास गर्न सकेको थिएन) ले दुबइमा कमाएको मासिक आम्दानीको आधा पनि हुँदैन । सँगै मुखियामा नियुक्ति पाएको साथी अमेरिका भासिएको छ, उसका छोराछोरी निजी गाडीमा महङ्गो स्कूल जान्छन् र आलिसान बंगलामा बस्छन् तर उसलाई चाचानाना र चिचिपापाकै पिरलो छ । हो यस अवस्थाबाट गुज्रेको छ अहिलेको इमान्दार कर्मचारीबर्ग (सबै होइन) । यस हिसावले नेपालमा कर्मचारीको अवसर लागत (अपर्चुनिटी कस्ट) निकै उच्च छ र प्रतिफल न्यून तर पनि एउटा टेक्ने हाँगो छ, त्यो हो –स्वदेश सेवामा अर्पेको जीवन ।
इतिहासका केस्रा केलाउने हो भने नेपाली कर्मचारीतन्त्र सधैं घडीको पेण्डुलमभन्दा बढी केही हुन सकेको छैन न त यसले कुनै आदर्श नै स्थापित गर्न सकेको छ । यो सधैं शक्तिका पछाडी पसिना सुँघ्दै हिड्छ, स्वाभिमानलाई चाकरीको बेदीमा बली दिन्छ र आदर्शलाई बाध्यताको कात्रो ओढाएर राष्ट्रिय स्वार्थको मलामी जान्छ । यो बौद्धिक छ तर सबै बुद्धि सत्ताको ताबेदारीमा खर्चन्छ र आफूलाई कुरुप पार्छ ।
पंक्तिकारले केहीबर्ष अघि काठमाण्डौका कर्मचारीहरुबीच गरेको अध्ययनले के देखाएको छ भने धेरै कर्मचारीहरु आफ्नो दक्षताको क्ष्ोत्रभन्दा बाहिर काम गर्न बाध्य छन् । पहिले कुन कुरा निर्णय गर्ने भन्ने स्पष्ट एजेण्डा अधिकांश निर्णयाधिकारीमा छैन (उनीहरुको बिचारमा ‘माथिको आदेश’ लाई नै पहिलो प्राथमिकता दिनुपर्छ), कर्मचारीतन्त्र हाकिममुखी छ (हाल यसमा परिवर्तन आएर राजनितीक शक्तिमुखि हुँदै गैरहेको छ), प्राबिधिक कर्मचारीहरुमा मात्र कार्यस्पष्टता छ, साठी प्रतिशत कर्मचारीहरु त्यस्तो निर्णय मन पराउँछन् जसले भविश्यमा असुरक्षित नभइयोस् (तदर्थबादी निर्णय), असी प्रतिशतले आफ्नो निर्णयबाट सेवाग्राहीमा पर्ने लागत–लाभ बिश्लेशण नगरी प्रकृयागत निर्णय गर्छन् र “भोली” र “प्रकृया मिलेन” भन्ने शब्दावली छयासी प्रतिशतलाई प्रिय लाग्छ । चौवन्न प्रतिशत कर्मचारीहरु बिवेकसम्मत निर्णय गर्ने वातावरण नभएको गुनासो गर्छन् ।
सेवाग्राहीका मतमा छिटो सेवा पाउनका लागि सुन्नुपर्ने “चिया खर्च” राष्ट्रिय लज्जाको बिषय हो । काम फत्ते गर्न चिनजानको कर्मचारी हुनु सर्वाधिक सहज उपाय हो भने नेताबाट दवाव दोस्रो उपाय । छ्यहत्तर प्रतिशत सेवाग्राहीमा नेपाली कर्मचारीतन्त्रले बिवेकशील निर्णय गर्छ भन्ने विश्वास छैन ।
यद्यपि यो अध्ययनको निष्कर्षलाई सामान्यीकरण गर्न त सकिंदैन तर पनि यसले नेपाली कर्मचारीतन्त्रको छबिछायाँलाई स्पष्ट प्रतिबिम्बित गर्छ । के यो भासबाट उम्कने बेला भएन अब ? अवश्य पनि राजनैतिक अस्थिरता र उच्च अवसर लागतका हिसावले नयाँ आँट र कार्यदिशा जोखिमपूर्ण र चुनौतियुक्त छ तर एक अविचलित आस्था र दृढ संकल्पका अँगाडी सबै तगाराहरु दावानलको अगाडी परालको पहाड भष्म भएझैं खत्तम हुँदै जान्छन् । होइन हामीलाई भूपीका शब्दझैं यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ भने दक्ष कर्मचारीहरुले पनि बिख्यात साहित्यकार कालीप्रसाद रिजालले हालै अतित सम्झेर आफू सफल साहित्यकार र सफल कर्मचारी दुबै हुन नसकेकोमा गरेका प्रलाप सबैको नियति हुनेछ । गौरवपूर्ण र राष्ट्रहीतको लागी लिइएको अडानले जागीरै जान्छ भने पनि त्यो बलिदानीका लागि अव तयार हुनैपर्छ ।
अबको कार्यदिशा
आदर्शको बाटो कण्टकयुक्त, असजिलो र साँघुरो हुन्छ तर अगम्य नै हुँदैन । हो, हामीमा त्यही आदर्श चाहिएको छ, आजैबाट हामीले राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर जनसेवाको प्रण गर्नैपर्छ । नेताहरुलाई कसरी बजेटखर्चको हिसाव मिलाउने भन्नेमा आफ्नो योग्यता र बुद्धि खर्च नगरी एकएक पैसा कसरी राष्ट्रहीतमा लगाउन सकिन्छ भन्ने मार्गदर्शनमा लगाउनु पर्छ । एउटा आदर्श कर्मचारी संगठनमा भएको नैतिक बल कुनै पनि राजनैतिक बलभन्दा कमजोर हुँदैन । हामीले जुन समयको लागि जनताको पसिनाबाट तलब खाएका छौं त्यो एकएक पल जनसेवामै लगाउनु पर्छ । आर्थिक प्रलोभनबाट यो सोचेर मुक्त हुनुपर्छ कि हामीले आधा पेट खाएर बनाएको समृद्ध नेपालमा हाम्रा सन्ततिले यसको भुक्तानी पाउनेछन् । उच्च पदस्थमा “पदेन बुद्धि” को मानसिकतालाई तुरुन्त हटाउनु पर्छ, बुद्धि र बिचारका लागि बुढो हुनै पर्ने होइन । संसारको निर्माण युवाहरुले नै गरेका हुन् । नेपालमै पनि बि.पि., मदन र गगन बुढो भएर बिचारशील र युगद्रष्टा भएका होइनन् । त्यो कर्मचारीका हकमा पनि लागू हुन सक्छ ।
देशले राजनैतिक कायापलट गरेको तर राजनैतिक नेतृत्वले स्पष्टदिशा निर्देश गर्न नसकेको यस इतिहासकै सर्वाधिक संगीन मोडमा कर्मचारीतन्त्रले यथास्थितिबादलाई सिद्धार्थ गौतमले दरवार त्यागेजस्तै त्यागेर “राष्ट्रनिर्माणका लागि मेरो जीवन” भन्ने मानसिक उर्जा बोकेर प्रगतिशील र साहसिक निर्णय गर्ने, सबै कर्मचारीमा समभाव राख्ने, सेवाग्राहीलाई तुरुन्त सेवा र उनीहरुको सम्मान गर्ने, लोभबाट मुक्ति र “उज्ज्वल नेपालको लागि मेरो कार्यालय समय” भन्ने दृढसंकल्पका साथ अघि बढौं । हामीसँग प्रबिधि कमजोर छ तलब दुर्बल छ र राजनैतिक हस्तक्षेप प्रबल छ तर ती सबै हाम्रो दिशाहीनतामा मात्र मौलाएका हुन्, हाम्रो राष्ट्रनिर्माणको अठोटसामू ती पानीका फोका सरह बिलाउने छन् ।
अन्तमा, ‘आन वास्वो’का सटीक शब्दहरुमा –“एउटा प्रबुद्ध कर्मचारीतन्त्र जुन बर्गीय स्वार्थबाट माथि उठेर राष्ट्रका लागि आत्मोत्सर्ग गर्न तयार हुन्छ, द्वन्दरत सामाजिक शक्ति र गुटहरुबीच मिलनभाव ल्याउन र सामाजिक न्याय प्राप्त गर्ने उत्तम यन्त्र त्यही हो ।” दलीय स्वार्थ र सामाजिक न्यायहीनता मौलाएको यस संगीन घडीमा समग्र कर्मचारी उत्सर्गका लागि तयार होउँ । शुरु आफैबाट र आजैबाट गरौं । हाम्रा भावीपीढिले हामीलाई सम्झने एउटा सानो चौतारी हाम्रा नाममा चिन्न सकून् ।
सान सेबाष्टियन, स्पेन
२०६८ आश्विन ६
No comments:
Post a Comment