Sunday, April 28, 2013

छुवाछूत, व्राम्हणवाद र शास्त्रज्ञहरूको कुम्भकर्ण निद्रा


छुवाछूत, व्राम्हणवाद र शास्त्रज्ञहरूको कुम्भकर्ण निद्रा

१२ चैत्रमा प्रकाशित नागरिक दैनिकको बिचार पृष्ठमा तारा लाम्गादेद्वारा लिखित "दलित आन्दोलनमा जातीयताको सवाल" शीर्षकको लेखमा "मैले सबैभन्दा बढी घृणा गर्ने धर्म हिन्दू नै हो" भन्ने भनाइ उल्लेख भएको छ। केही दिन अघि अन्यत्र कतै अन्जना बिशंखेको "यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम?" शीर्षकको लेखमा मा पनि प्रेम र यौनलाई " हिन्दू ब्राम्हणवादी संस्कृतिद्वारा निर्देशित सोच" भनिएको छ। यी त केही उदाहरणहरू हुन्। प्रत्येक दिनको पत्रिकाका हिन्दू धर्म, ब्राह्मण संस्कृतिको विरुद्ध बिषवमन गर्दै गोयबल्स शैलीमा गरिएका पीत पत्रकारिताको बारेमा कसैले कुनै खण्डन गरेको पाइँदैन।जहाँ ८२ प्रतिशत भन्दा बढी हिन्दू छन् त्यहाँ तिनीहरूको आस्थामा रातोदिन प्रहार गर्दा पनि कोही बोलिरहेको छैन। कसैले बुध्दिबिलास गर्न छ भने " हिन्दू ब्राम्हणवादी पितृसत्तात्मक सोंच' भनिदिए त्यो ठूलो प्रगतिवादी ठहरिने भ्रम परेको छ। तर साँवा अक्षर पढ्न सक्नेले इमान्दारीपूर्वक अध्ययन गरोस् र बुझोस् वास्तवमा हिन्दू धर्म नै त्यस्तो धर्म हो जसले प्रत्येक धर्मावलम्बीलाई आफ्नै धर्मप्रति गौरव गर्न सिकाएको छ नकि धर्मान्तरण गर्न वा अरू धर्म मान्नेलाई विभेद गर्न। कृष्ण भगवानले गीतामा " स्वधर्मो निधनं श्रेयः परधर्मो भयावहः " भनेर भनेको यो वाक्य नै त्यसको प्रमाण हो।

नेपाललाई क्रिश्चियनीकरण गर्नका लागि यूरोपियन यूनियन अन्तर्गतका धनी क्याथोलिक चर्चहरू र गैससहरू, कोरियाका चर्चहरूमात्र हैन, जापान-नेपालको मित्रताको फाइदा उठाउँदै केही जापानी क्रिश्चियन स्वयंसेवकहरूको समेत योगदान र ठूलो धनराशि ओइरिएको छ।त्यो धन लुँड्याउनेहरूले नै नेपालमा जातीय सद्भाव भड्काउने प्रपञ्च गरिरहेका छन्। यस कुत्सित कार्यमा नेपालका उग्रपन्थी भड्कावबादीहरू, उग्र जातीवादीहरू र पैसाको लागि धर्म परिवर्तन गरेकाहरू अहोरात्र तन, मन र वचनले लागिरहेका छन्।नेपाललाई उपनिवेश बनाउने नपाएको झोंकमा नेपालमा जातीय विद्वेष बढाएर नेपाल तहसनहस पार्न डेढसय बर्ष अघिदेखि योजनाबद्ध रूपमा शुरू गरिएको गोराछालावालाको साहित्यमूलक इतिहास लेखनले हाम्रो इतिहास बङ्गाइएको छ। त्यही साहित्यको गायत्री जप्दै नेपालमा जातीय विद्वेषको बीउ रोपेर त्यसको बिरुवामा मलजल गर्ने काम भएको छ तर हाम्रा हिन्दूधर्म मान्ने विद्वानहरू जसले संस्कृत र धर्मशास्त्रको अध्ययन गरेर आफूलाई पण्डित, महापण्डित दाबी गर्दै मखलेल मुद्रामा हिँडिरहेका छन्, तिनीहरूले व्राम्हणलाई राक्षसीकरण गर्ने यस्ता आरोपको खण्डन गर्ने जाँगर समेत देखाउँदैनन्। तिनलाई टपराको अलमल नै प्रिय छ, दुई चार अन्धभक्तको पाउलागी र प्रणाम नै प्रिय छ। त्यसभन्दा अघि बढेर हिन्दु धर्म संस्कृति, सामाजिक सद्भाव र हिन्दू धर्मको सनातनी भावको व्याख्या गर्नका लागि दुई चार वाक्य लेख्ने जाँगर, हिम्मत र तत्परता तिनमा छैन। ती त केवल नेपाल संस्कृत विश्वविद्यालयलाई कामधेनू बनाएर गोडा पसारेर खानमै गौरव  गर्छन्।

खास गरी तीन अवस्थामा ब्राम्हणबादको शब्दको निकै दुरूपयोग गरेको  पाइन्छ- (क) महिलाका पीडासँग जोडेर, छुवाछूतसँग जोडेर र नश्लबादसँग जोडेर। महिलाका पीडा र नश्लबादसँग ब्राम्हणबादलाई जोडेर पछिका लेखहरूमा लेखिनेछ, यहाँ केवल छूवाछूतको प्रसंग जोडौं ।जातीय भेदभाव र छुवाछूत हाम्रो धर्मको अन्तर्य हैन। वास्तवमै इतिहासको अन्धयूगमा शासकहरूले ब्राह्मणहरू प्रति समाजको विश्वासलाई दुरुपयोग गर्दै आफ्नो शासन सत्ता लम्बाउन र दमनयुक्त शासन चलाउन वैधानिकता प्राप्त गर्न ब्राम्हण कर्मचारीको विद्वताको दुरूपयोग गर्दै स्मृति परम्परालाई बङ्गाएर  छुवाछूत र जातीय विभेदको बीउ रोपेका हुन् भन्ने कुरा गहिरिएर हिन्दू धर्मशास्त्र अध्ययन गर्नेलाई भनिरहनु पर्ने कुरा हैन।स्मृतिहरू पढेर हैन, श्रुति पढेर मात्र यो तथ्य उजागर गर्न सकिन्छ।तर कतिपय स्मृति परम्परामा आधारित जातीय छुवाछुत हिन्दू धर्मको बदनामी गर्ने हतियार भएको छ। यही छुवाछूतको वैशाखीमै क्रिश्चियनीकरण मौलाउँदै गएको छ।उग्रवामपन्थी र उग्रजातीबादीहरूलाई नारा मिलेको छ, तर शास्त्र पढैयाहरू त्यस्ता कुतर्कको खण्डन गर्न भन्दा आफ्ना खुट्टा ढोगाउनतिरै प्रसन्न चित्त भएर लागेका छन्।

के हिन्दू धर्मविरूध्द भएका यी सबै प्रलापको तर्कसंगत खण्डन गर्नु तिनीहरूको दायित्व हैन (कुनै पनि धर्मबिरूध्दका प्रलाप हामीलाई सह्य छैन हिन्दूधर्मको बिरूध्दको मात्र हैन)? के हाम्रा पण्डितहरू शंकरभाष्यसूत्र घोक्छन् मात्र तर त्यहाँ उल्लेखित 'सडेर जाने सबैको शरीर चाण्डाल नै हो, आत्मासँग के को छूवाछुत" भन्ने कुरा बिर्सन्छन्? के ती माझी-दैाहित्र वेदव्यासको उदाहरणबाटै नै हाम्रो धर्मले जातीय छुवाछूत मान्दैन भन्ने कुरा बुझाउँदा आफ्ना खुट्टा ढोग्नेहरू कम हुन्छन भनि ठान्छन्? के सत्यकाम जावालाको बाबु र गोत्रको पत्तो नभएपनि उनको सत्यवादिता नै ब्राम्हण हुन योग्य आधार भएको थियो भन्ने कुराको इतिहास तिनले बिर्सेका हुन्? के शवरीका जूठा वयरदाना खाने रामचन्द्रको आराधना गर्ने तर मूर्ति बनाउने कालिगढलाई मन्दिर प्रवेशमा रोक लगाएर धर्मको पालना गरेको भन्ठान्छन्? गोमांसभक्षी म्लेच्छ र यवनहरूसँग छोइछिटो गर्नुपर्ने तर आफ्ना बान्धवहरूसँग दलित भनी छोइछिटो गर्नमा धर्मको उच्चता देख्छन्? जन्मेना जायते शुद्रो कर्मेणा द्विजः उच्यते भन्ने कुरा तिनीहरूले जाँचदिनका लागि मात्र पढेका हुन्? ती सत्य जान्दछन् भने किन बोल्दैनन्? जान्दैनन भने किन जानिटोपल्छन्? "न जटाहि न गोत्तेहि न जच्चा होति ब्राह्मणो।यम्हि सच्चं च धम्मो च सो सुची सो च ब्राह्मणो॥" अर्थात जटाले हैन, गोत्रले हैन, जन्मले हैन, सत्य, धर्म र पवित्रतायुक्त मानिस नै ब्राम्हण हो भन्ने बुध्दबचन पनि छ भने ब्राम्हण कसरी सबै समस्याको कारण हुन्छ? अनि ब्राह्मणवाद भनेको त सत्य, धर्म र पवित्रताको पक्ष लिनु भएन र? के यो सत्य बुझाउन हाम्रा पण्डितहरू सक्षम छैनन्?  के साँच्चै आज हामी जसलाई ब्राह्मण भन्छौं ती साँच्चै ब्राह्मण त हुन्? ब्राह्मण शब्दको दुरूपयोग हैन बरू सच्चा ब्राह्मण हुने दिशामा सबै जात जाति लाग्नु पर्छ किनकी समभाव , शुद्धता , पवित्रता , तपगर्नु , निश्छली , ज्ञानी , विज्ञानले युक्त हुनु , दान लिनु र दानदिनुपनि , यज्ञगर्नु गराउनु , वेदाध्ययन गर्नु गराउनु आदी  गुणले युक्त हुनु नै ब्राह्मण हुनु हो। हरेक जात, कूल, वर्ण, गोत्र, वंश वा धर्मको मानिस ब्राह्मण हुन सक्दछ यी गुणहरूको विकास गरेर। अनि यस्ता कुराको पक्ष लिनु नै ब्राह्मणबाद हो नकि अहिले पीत पत्रकारिता गरिएजस्तो नकारात्मक चरित्र। कसैलाई पनि ब्राह्मण हुनबाट रोकिएको छैन हिन्दू धर्ममा।

 लेखक संस्कृतको औपचारिक अध्ययन गरेको ब्यक्ति हैन, अर्थशास्त्रको विद्यार्थी हो।त्यसैले धर्मशास्त्रका घाघडान विद्वानहरूबाटै यो कुप्रचारको खण्डन होस् भनेर बर्षौं प्रतिक्षारत रह्यो तर हाम्रा ब्राह्मण विद्वानहरूले त आत्मश्लाघाबाट माथि निस्कने छन्दछाँटै देखाएनन्। अब यसको बहस चलाउनै पर्ने भएको छ। हिन्दू विद्वानहरू, कृपया सोच्नुहोस्- अलिकति दायित्व हाम्रो धर्म रक्षार्थ (धर्मो रक्षति रक्षितः, अरू के भनौं र?), सांस्कृतिक विरासतको पवित्रतार्थ र सुविचारको प्रवर्धनार्थ पनि हुनु पर्दैन र? त्यतिमात्र हैन, जातीय राजनीतिका लागि हिन्दू धर्मावलम्बीमा विद्यमान कुसंस्कारको सहारा लिने प्रचलनको अन्त्यका लागि पनि हामीले बोल्नै पर्ने र अभियानै चलाउनु पर्ने भएको छ। के छूवाछूत र उचनीचको भावनाका विरुद्धको जनजागरणको शुरूवात तपाइँहरूबाटै हुनु पर्दैन र? धर्म निरपेक्षताको दुरूपयोग गर्दै हिन्दू धर्मका विरुद्ध योजनाबद्ध आक्रमण हुँदा बोल्ने दायित्व कसको हो? के कोही हिन्दू धर्मका अनुयायीले अन्य धर्मको विरुद्ध लेख लेखेको देखिएको छ? हामी सबै धर्मको सम्मान गर्छौं त्यसैले कुनै धर्मको विरुद्ध बोल्नु नै अधर्म हो भन्ठान्छौं तर हिन्दू धर्ममाथि सबैको आक्रमण के टुलुटुलु हेरेर बसिरहने?

कृपया, पण्डित महोदयहरू, सक्नुहुन्छ भने यो पीतपत्रकारिता बन्द गराउनोस्। तपाइँहरूको विद्वता, तर्क, ज्ञानको प्रयोग गर्ने बेला आइसक्यो। केही मानिसहरूको खुट्टा ढोगाइ पाउनमा मात्र आफ्नो अमूल्य समय नष्ट नगर्नुहोस्। नश्वर देहको खुट्टा ढोगाएर ईश्वरको अदालतमा हामी देवमार्गको अधिकारी हुने छैनौं, हामीले छाडेर गएका हाम्रो ज्ञान, विवेक र तर्कयुक्त सुविचारहरूले समाजलाई मार्गदर्शन गर्न सकेमात्र हामीले आफ्नी आमा, धर्म, संस्कृति र पूर्वजहरूको ऋणभार घटाउन सहयोग पुग्नेछ। उत्तिष्ठतः जाग्रतः प्राप्य वरान्निबोधत । अधिकं किम्।

 -भीष्मकुमार भूसाल

२०६९ चैत्र १२

Friday, April 26, 2013

क्या ह्यान्डसम, क्या क्यूट, छि! साहित्य?



"वाह! क्या ह्यान्डसम देखिएको?"
"क्या मुस्कान छ!"
"कस्तो जवान देखिएको!"
एउटा फोटो फेसबुकमा पोष्ट भएको थियो, २४ घन्टा नबित्दै यस्तै प्रतिक्रिया सहित झन्डै १०० लाइक आएछन् (केटीको भए त्यसको ४ गुणा आउनै पर्थ्यो)। त्यस अघि २१ अप्रिल (आज २६ हो) मा मैले आफू हेमसरिता पाठक अन्तरराष्ट्रिय साहित्य पुरस्कारबाट सम्मानित भएको खबर सम्प्रेषण गरेँ जुन भ्रष्टाचार विरोधी सन्देश बोकेका सात सय भन्दा बढी कवितासँग प्रतिस्पर्धा गरेर प्रथम भएकोमा दिइएको थियो। करिब दर्जन अनलाइन समाचार पोर्टलमा प्रकाशित उक्त समाचारको लाइक भने ५ दिनमा ५ दर्जन पनि पुगेनछ। तपाइँले म आत्मप्रशंसाको लोभी  रहेछु भन्ने अर्थ  लगाइसक्नु भयो है, धैर्य गर्नुस्। मेर ध्येय केवल हाम्रा रुचिहरू उजागर गर्ने मात्र हो।
सोही समाचार जब मैले बिदेशी मित्रहरूको जानकारीको लागि भनेर प्रकाशित गरेँ, त्यसमा लाइक कम र इमेल धेरै प्राप्त भए । जसमा उक्त कविताको अंग्रेजी अनुवाद पठाइदिन अनुरोध गरिएको थियो। मैले उक्त कवितालाई शेक्सपियरका सोनेटको ढाँचामा अनुवाद गरी अनुरोधकर्ता साथीहरूलाई पठाइदिएँ । केही प्रतिक्रियाहरू यस प्रकार रहे -
अमेरिकाको टेक्सासकी (मेक्सिकन सँग विवाह गरेकी) डा. क्रिष्टल कोभारूवियास लेख्छिन्-
"Wow! This is just beautiful! And the last two lines are my very favorites :) Congratulations on your much deserved recognition!!!
You know that in Mexico, and on the border where we live, corruption is rampant. While this is extremely worrisome, what makes corruption in that area particularly scary is that it is almost always tied to very vicious forms of violence--sometimes unimaginable acts of violence.

 I hope to keep it forever, so that if we do return to that area of Texas/Mexico, I can refer to it whenever needed."
देउस्तो विश्वविद्यालयका प्रा.डा. जेम्स विल्सन लेख्छन्-
"It is a lovely poem :) Some of the words feel a little odd in English, but I wouldn't change them, as I think they fit with the style."
योकोहामा विश्वविद्यालय जापानका प्रा.डा. क्रेग पार्सन्स लेख्छन्-
"What wonderful words!"
देउस्तो विश्वविद्यालयकै PhD candidate माइते आल्तुना लेख्छिन् -(उनको जवाफ स्पेनिशमा भएकोले नेपालीमा भाषान्तर गरिएको)
"म यस्तो राम्रो कविको साथी हुन पाएकोमा आफूलाइ निकै भाग्यमानी र सम्मानित महसूस गर्छु। जीवन प्रतिको दृष्टिकोणको सुन्दरतम भाव भएको उक्त कविता कृपया हस्ताक्षर गरेर दिनुहोस्। म फ्रेममा हालेर घरमा सधैंको लागि राख्न चाहन्छु।"
नेपालबाट डा. कृष्ण गुरूङ लेख्नुहुन्छ-
"It is truly beautiful, heart touching and the fact. Well written sir. It deserved the award."
मेरो साहित्यको ब्लग छ, http://nadikinarakageet.blogspot.com.es/ त्यसका पाठक कहाँका रहेछन् भनेर वेभ डाटा हेरेँ। सर्वाधिक पाठकहरू स्पेन बस्ने नेपाली रहेछन्, लगभग उत्तिकै रहेछन् अमेरिका बस्ने नेपाली पनि। त्यसपछि बल्ल नेपालमा रहेका साथीहरूको पालो आउँदो रहेछ, जवकी मेरा मित्रसूचीमा रहेका ८५ प्रतिशत जति साथीहरू नेपालमै हुनुहुन्छ। यसको मतलब नेपालमा रहेका साथीहरूलाई विश्लेषणात्मक लेखहरू र साहित्य भन्दा फोटो-लाइक मन पर्ने विषय हो त?
अब मेरो कार्यालयका साथीहरूको कुरा गरूँ, अचम्मैसँग निकै कम साथीहरूलाई मात्रै मेरो साहित्य पुरस्कारको खबर मन प-यो। " के के न बाघै मारेजस्तो पो ग-यो ए!  के पो लछारेको रहेछ र कविता लेखेर,  ल न त पढिदिउँ न त"  भन्ने साथीहरू पनि निकै कम रहे?  महाअचम्म त मेरा साहित्यकार मित्रहरूलाई पनि त्यो पढ्ने झ्याउलो गर्न मन लागेन (शायद उहाँहरू आफै प्रतिस्पर्धी भएर पो हो कि?) भने अरूको के कुरा?  मेरा हाकिमहरूलाई त यस्तो नाथे कुरा पढ्ने के फूर्सद हुन्थ्यो। तर अपवाद रहनुभयो, म कार्यरत मन्त्रालयका सचिव श्री शान्तराज सुवेदी र मलाइ निरन्तर साहित्य लेख्न उत्प्रेरित गर्ने सहसचिव राममणी दुवाडीज्यू। उहाँहरू बाहेक अरू ४ जना साथीहरू मात्र उक्त कविता पढ्न पाउँ भनेर लेख्नेमा पर्नुभयो।
त्यसो त मैले ३/४ दिनमा नयाँ पोष्ट गरिन भने "लौ न, नयाँ पढ्न पाउँ भन्ने साथीहरू पनि स्पेनमा हुनुहुन्छ जसमध्ये दुईजना मित्रहरूले त मलाई उक्त प्रतियोगितामा भाग लिने सम्मको प्रेरणा दिनुभएको हो, नत्र म यस्ता प्रतियोगितामा भाग लिन अघि सर्ने मान्छे हैन। उहाँहरूको नाम मैले मनमै राख्न चाहेँ।
अब कुरा उठ्छ, के फेसबुक हामीले निराशा, कुण्ठा र नेताहरूप्रति घृणा पोख्नका लागि मात्र हो? या सुन्दरीहरूका तस्वीरमा कमेण्ट गर्नका लागि मात्र? त्यही फेसबुकबाट हामीले पुष्पा बस्नेतलाइ सिएनएन हिरो बनाउन सक्यौं भने राम्रा र सन्देशमूलक कुराहरू पढ्न हामीलाइ किन यस्तो विरक्ति?
१२ बर्षको उमेरदेखि साहित्य लेख्दै आएपनि मूलप्रवाहमा पस्न नचाहेको र प्रकाशित गर्नमा मेरो अरूची लगायतका कुराले नेपाली साहित्यका स्वनामध्य मनिषीहरूबीच म अपरिचित नाम हो भन्ने मलाइ थाहा छ। अझ भनूँ, मेरो साहित्यिक हैसियतबारे म अपरिचित छैन। यो पनि थाहा छ, कविता धेरैले बुझ्दैनन् पनि। अझ यो त झन् स्पष्ट छ, भ्रष्टाचार विरोधी कुराहरू पद र पावरमा पुगेकामध्ये धेरैजसोलाई मन पर्ने बिषय हैन। तर पनि जव सम्म हाम्रो पठन संस्कृतिमा सुधार हुँदैन, हामी राम्रो समाजको कल्पना गर्न सकौंला र ? एउटा अमेरिकन साथीलाई त्यो कविताका शब्दहरूले त्यति छुने कि उनले सधैँका लागि त्यो कविता याद गर्न र अरूलाई सुनाउन चाहन्छिन् तर हाम्रै देशको अवस्थालाई समेटेर उल्लेख गरेको र उत्कृष्ट ठहरिएको कविता हामीलाई पढ्न पनि मन लाग्दैन। हाम्रा रूची के हुन्?
मैले उक्त कविता मेरो साहित्य ब्लगबाट हटाएँ पनि। रचनाकारले आफ्नो अमूल्य समय र सिर्जना शक्ति लगाएर लेखेर पनि निशुल्क उपलब्ध गराएका सिर्जनाहरू कसैले पढिदेओस् र त्यसमा टिप्पणी गरिदेओस् या मनन गरी राम्रा कुराहरूबाट प्रेरणा प्राप्त गरोस् भन्ने अपेक्षा गर्नु शायद प्रशंसाको लोभी हुनु हैन। नकारात्मक टिप्पणी पनि स्वीकार्य छन्।
२६ अप्रिल, २०१३
सान सेवाष्टियन, स्पेन