के छैन हामीकहाँ ?
भर्खरैको प्रधानमन्त्रीको भारत भ्रमण कत्तिको सफल हुन्छ भन्ने कुरा नेपालले कति माग्न सक्छ भन्ने कुरालाई मानक बनाएर प्रस्तुत गर्ने हाम्रो शैलीले एकपटक फेरी खिन्न तुल्याएको छ । हामीले कति माग्न सक्यौं भन्ने होइन, एउटा सार्वभौम राष्ट्रको सरकार प्रमुखले पारस्परिक समानताका कायम गर्न सक्ने दिशामा के गर्न सक्नुहुन्छ र हाम्रो स्वाभिमान उचो पार्ने गरी प्रस्तुत हुन सक्नुहुन्छ कि हुन्न भन्ने हो । हामी आफ्नो बारीको कान्लामा पुरिएका हिराका टुक्राहरु अलिकति खनेर निकाल्न भन्दा मोतीको खोजीमा समुद्रतिरको यात्रा गछौं र त्यहाँ नपुग्दै सकिन्छौं । अव यो अवस्थाको अन्त्य गर्न लाग्नु पर्ने वेला आएको छ । विश्व इतिहासमा मागेर कोही धनी भएको अभिलेख छैन । वर्तमानमा हाम्रो सम्पन्नताका केही उदाहरणहरु हेरौं र यी सम्पदारुपि हीराहरुलाई तत्काल उपयोगमा ल्याउन सिकौं ।
आर्थिक बृद्धि र विकासका लागि चाहिने मुख्य कुराहरु हुन् ः मानव संशाधन, प्राकृतिक स्रोत, भूमी, उद्यमशीलता, बजार आदि । अहिले यी सबै कुराहरु हाम्रो अनुकूल छन् । केही उदाहरणहरु हेरौं ः
प्राकृतिक सम्पदाका हिसाबले हेर्दा जलविद्युतका क्षेत्रमा विश्वकै दोस्रो धनी भनेर घोषणा गरिएको दशकौं भइसक्यो । त्यसमाथि भर्खरै जापानको नेशनल इन्स्टिच्यूट अफ एडभान्स इन्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजीको अध्ययन अनुसार हिमाली क्षेत्रबाट विश्वकै सबैभन्दा सस्तो सौर्य उर्जा निकाल्न सकिन्छ । जति विद्युत उत्पादन गरेपनि बिशाल छिमेकी देशहरुमा यति ठूलो बजार छ कि हाम्रो रातो माटो पनि बिक्छ, बिजुलीको कुरै छोडौं यसमा ढीलो नगरौं । हामीले यो सम्पदा दोहन गर्न ढीला ग¥यौं भने छिमेकी बजारले विद्युत आपूर्तिको अर्कै विकल्प खोजीसक्नेछ ।
प्रकृतिले हिमाल, पहाड र तराइको संरचना दिएको छ । विश्वभर आयुर्वेदिक उपचार पद्धति फैलिरहेको बेला हिमाली क्षेत्र जडीबुटीबाट मात्रै पनि अपार आयआर्जन गर्न सक्छ । पहाडले बिभिन्न जातका फलफूल र नगदे बाली उब्जाउन सक्छ, तराइले खाद्यान्न । यति माग्यमानी देश कमै हुन्छन् ।
जनशक्तिः भर्खरै सार्वजनिक नेपालको जनसंख्या सर्भेक्षणले नेपालको उत्पादनशील जनसंख्या उच्चतम तहमा रहेको देखाएको छ । विकासशील देशमा जस्तो परनिर्भर जनसंख्या बढ्ने क्रम नेपालमा घट्दो छ । हाम्रो सांस्कृतिक संरचनाले बलियो पारिवारिक संरचना छ । यस्तो बेलामा यी पाखुराहरुलाई बढीभन्दा बढी राष्ट्रनिर्माणमा लगाउँ । बिप्रेषणले देश धनी हुने भने फिलिपिन्स अहिलेसम्म विश्वकै धनी भइसक्ने थियो ।
अर्कोतिर नेपालीहरुले बिदेशमा गएर पनि निकै मिहिनेती र इमान्दारको दर्जा पाएका छन् । केही बर्ष अघिसम्म पनि आन्दोलन र राजनीतिमा बढी रमाउने श्रमिकहरुले बिदेशका अनुभवबाट पाठ सिकेर आएका छन् । बिदेशकै तीता अनुभवले त्यहाँबाट फर्केका नेपालीहरुलाई स्वरोजगारतर्फ उन्मुख हुन निकै प्रेरित गरेको छ ।
नेपालका कानूनहरु यति पर्याप्त छन् कि विकसित देशहरुले नेपाल लगायतका देशहरुबाट सिक्ने कुरा छन् । विकसित देशमा भन्दा हामीकहाँ धेरै कुरामा अनुकरणीय अनुशासन छ । उदाहरणको लागि, विकसित देशमा विश्वविद्यालयका कक्षहरु पनि धुम्रपानले गन्हाएका हुन्छन् । हामीले सार्वजनिक स्थानमै धुम्रपान गर्न नपाउने कानून कार्यान्वयन गर्दैछौं ।
आर्थिक बृद्धिको छचल्किने प्रभाव (Spillover effect) अवका विश्वशक्तिहरु भारत र चीन नै हुन् । आफ्ना छिमेकी राष्ट्रहरु विश्वशक्ति भएको समयमा त्यहाँ भएको समृद्धिको बाछिटा हामीले सोहोर्न सक्नु पर्छ । हामीकहाँ त्यसको स्पीलओभर प्रभाव प्राप्त हुने ठूलो अवसर छ ।
पर्यटनः बुद्धको जन्मभूमी नेपाल र चीनमा बुद्ध धर्मको पुनरुत्थानले धार्मिक पर्यटनको सम्भावना निकै बढ्दो छ । हिन्दू र बुद्ध धर्मावलम्बीका तीर्थहरुको प्रचार र प्रवद्र्धनबाट मात्रै हामीले लाख होइन करोडौं धार्मिक पर्यटक भित्राउन सक्छौं ।
राजनीतिक दलहरु शान्ति स्थापनातिर चासो दिन थालेका छन् जसले संविधान र राजनीतिक स्थायित्वको अपेक्षा गर्न सकिन्छ ।
इतिहासले नै हामीलाई निकै ठूलो अवसर दिएको छ अहिले ।
२०६८ बैशाख १५ गते
सान सेबाष्टियन, स्पेन
No comments:
Post a Comment