एउटा नागरिकको पत्र प्रधानमन्त्रीलाई
प्रिय प्रधानमन्त्री !
मलाइ नोकरशाही औपचारिकताको “सम्माननीय प्रधानमन्त्रीज्यू” भनेर सम्बोधन गर्न भन्दा “प्रिय प्रधानमन्त्री” भनेर आत्मीय सम्बोधन गर्न मन लाग्यो । नेपाली नागरिकहरुले आफ्ना राजनीतिक आस्थाबाट निस्पृह रहेर तिमीलाई अन्धकारमा उज्यालोको राँको लिएर आएको भनेर सहर्ष तिम्रो स्वागत गरेका हुन् । तिमीलाई इतिहासको गर्तमा धूलीधूसर भएर बिलाएको हेर्न होइन, देशको समृध्दिका र प्रतिष्ठाका ध्रुवताराको रुपमा हेर्न चाहेका हुन् ।
भदौ ११, २०६८ को दिन जब तिमी प्रधानमन्त्रीमा निर्वाचित भयौ त्यसवेला म दुर्गम पहाडको एउटा दलित बस्तीमा हिंड्दै थिएँ । साँझ परिसकेको थियो । त्यहाँ एउटा कोलाहल सुनियो । तिमी प्रधानमन्त्री भएको खुसियालीमा त्यो दलित बस्ती कुनै राजनीतिक आस्थाको घेरा तोडेर हर्षबढाइ गरिरहेको थियो र दशैंका लागि किनेर राखेको राँगो काटेर हर्ष बढाइ गर्ने तयारी गर्दै थियो । “दशैंमा देखा जाएगा, यी मान्छेले अब देशाँ केही गर्चन् गर्चन्, दशैं ता आजै मनाउन पर्च” भन्दै थियो त्यो समूह । आफ्नो करिब चार दशकको जीवनमा दर्जनौं प्रधानमन्त्रीहरु निर्वाचित वा मनोनित भएको देखियो, सुनियो तर जनताका आँखा यसरी कुनै व्यक्ति पदासीन हुँदा चम्केको मैले कहिल्यै देखेको थिइन ।
जब तिमीले अर्थमन्त्रीको कार्यकालमा करिब उनान्साठी हजार बिदेश भ्रमणवापतको रकम आफूले दोहोरो भ्रमण खर्च नलिने भनेर राज्यकोषमा फिर्ता ग¥यौ, त्यसले तिम्रो ख्याति करोडौंले बढायो । जब तिमी मुस्ताङ्ग गाडी चढेर एउटा नमूना देखायौ, ढोंगीहरुले जे भने पनि नेपाली जनताका आँखा फेरी एकचोटी तिम्रा आदर्शले पुलकित भए । भदौ महिनाभरका खवरकागजहरु हेर्दा तिम्रा प्रशंसामा लाखौंलाख शब्दहरु खर्च भएका छन् । जनस्तरबाट निस्वार्थ त्यस्तो प्रशंसा नेपालको इतिहासमा कसैले पाएको छैन । ती सबै तिमीप्रति आमजनताका सपना, आशा र भरोशाका प्रतिध्वनी थिए । बजार अनुगमन र हेलो सरकारका तिम्रा पहलकदमीहरु बिरोधीहरुका आँखामा प्रचारको माध्यममात्र भएपनि जनताका आँखामा तिनका तिमीप्रतिको भरोशाका मूर्तता थिए । अध्ययनमा तिम्रो अब्बलताको उपयोग देशले अब गर्न लाग्यो भनेर हामी सबै हर्षित थियौं ।
वास्तविक नेताको परीक्षा संकटको बेलामा हुन्छ । हामीलाई थाहा छ, तिम्रो प्रधानमन्त्रीत्वको धरातल निकै कमजोर छ तर के यो नै जीवनको अन्तिम घडी हो प्रधानमन्त्रीमा रहिरहनलाई । तिम्रो सत्कर्मको निरन्तरता अविचलित रहेमा फेरी तिमीलाई विपक्षीहरुले नै काँधमा बोकेर पुनः प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराउन वाध्य हुनेछन् आफ्नो दलले रोक्न सक्ने कुरै हुने छैन । लोभीहरुका घेरामा सत्ताको उच्चतम आसनमा टिक्न खोजेर आफ्ना सुकीर्तिको क्षय बाहेक केही हुँदैन । पश्चिमाका आँखामा तानाशाह भएपनि सन् सत्तरीको दशकमा लिबियाका शासक कर्णेल गद्दाफीले लिबियाको बिशाल मरुभूमीमा कृत्रिम नदी निर्माण गरेर कृषिक्रान्ति मात्रै गरेनन् आफ्नो देशका नागरिकको प्रतिव्यक्ति आय समृद्ध देशको हाराहारीमा पु¥याएकै हुन् तर त्यस्ता राष्ट्रबादी नेताको पनि सत्तामोहले कीर्तिक्षय मात्र भएन, त्रासद अन्त्य पनि भोग्नुप¥यो । एउटा महापुरुष तवसम्म सत्तामा रहिरहन्छ जबसम्म उसले नयाँ नयाँ सुकीर्ति र आदर्शका इँटाहरु थ्पिरहेको हुन्छ । राष्ट्रनिर्माणका ती इँटा अलिकति पनि खिइन थाल्नु अगावै उसले आफ्ना सुकर्मको विरासत अर्को पुस्तालाई सुम्पन्छ । प्रधानमन्त्री भएको तीन महिनामै छोड भन्न खोजेको कदापी होइन, हामीले तिमीलाई कम्तीमा एक दशक यो देशको कार्यकारीको पदमा देख्न चाहन्छौं तर तिम्रा सच्चा आदर्श र बोलीमा अडिग हुने शर्तमा मात्र ।
तर कति छिटै तिमी गल्यौ? हामीले सत्तामा टाँसिइरहनका लागि अदालतले दोषी करार गरेका व्यक्तिको आममाफीको प्रस्ताव गर्ने, चारदर्जन मन्त्रीको जम्बो मन्त्रीमण्डलको नेतृत्व गर्ने प्रधानमन्त्रीको कल्पना गरेका थिएनौं तिमीबाट । यदि मन्त्री नपाएकै कारण अर्को समूहमा जाने सभासद्लाई मन्त्री बनाएर शक्ति सन्तुलन गर्न खोेजेको हो भने ती तिम्रा आडभरोसा होइन खिर्राको काठका खाँवाहरु सावित हुनेछन् । तिमीजस्ता विद्वान व्यक्तिले जातीय सन्तुलन मिलाउन चारदर्जन सल्लाहकार नियुक्त गरेको भनेर हास्यास्पद तर्क दिंदा हामीलाई लाग्नु लाज लागेको छ । अर्थमन्त्री छँदाको तिम्रो सफलता के जातीय सल्लाहकारबाट सम्भव भएको थियो? जातीय सन्तुलन चाहिएजति संसदमै थियो । तिनीहरुले प्रधानमन्त्रीलाई सल्लाह दिन नमिल्ने भनी संविधानमा प्रतिबन्धात्मक व्यवस्था पनि गरिएको थिएन । तर पनि तिमी गल्यौ । तिमीले प्रचण्डको प्रधानमन्त्रीत्व कालमा सुत्ने पलङ्ग, महंगो घडी र छोरालाई बिदेश घुमाउने जस्ता क्षुद्र लोभ त्याग्न नसकेर करोडौंको बदनामी कमाएको बिस्र्यौ । । देशमा साढे तीन दर्जन भन्दा बढी नागरिकको बस दुर्घटनाबाट एक चिहान हुँदा एउटा समवेदना पनि व्यक्त नगरी अमेरिका हानिने बाबुरामको कल्पना तिमीप्रति आशालु नेपाली जनताका मष्तिष्कमा थिएन ।
कुनै पनि गृहस्थी मानिसको सादा जीवनको अठोट परिवारको समर्थनबिना पुरा हुन असम्भव हुन्छ । तिमीले जतिसुकै हिसिला म्याडमको क्षमताको चर्चा गरे पनि उनको राम्रा गाडी चढ्ने मोह, नातागोता भर्नाको अतिरेक आकांक्षा र अर्थ संकलनको मोहले तिमीलाई निरन्तर कलंकित तुल्याइरहेछ । हामीलाई थाहा छ, तिम्रा जीवनमा भोगबिलासको कुनै महत्व छैन तर एकातिर तिमी चाणक्यको शैलीमा घरको काममा राज्यको तेल खर्चेर दियो नबाल्ने प्रतिबद्धता देखाइरहेका हुन्छौ अर्कोतिर करोडौंको राज्यकोष खर्चेर कार्यकर्तालाई उच्चतहको सुविधा सहित कथित सल्लाहकारमा भर्ना गरिरहेका हुन्छौ । यदि तिनै लोभीपापीहरुको आडबाट मात्र सत्तामा टिकीरहनु पर्छ भने त्यो कुर्सीलाई तिलाञ्जली किन नदिने ? बापू महात्मा गान्धीले आजीवन राज्यसत्ताको भोग गरेनन् र पनि ती विश्वमा बुद्ध जत्तिकै पूजित छन् । काका हो ची मिन्हले प्रधानमन्त्री हुँदासम्म पनि टायरका चप्पल लगाएकै हुन् । हामीले तिमीबाट देशमा सुव्यवस्था, सुशासन, संबृद्धि र राष्ट्रिय प्रतिष्ठाको बीउ रोपेर छोड्ने अपेक्षा गरेका थियौं ताकि त्यसपछि सत्तामा आउनेहरुका लागि तिमी आदर्शका पुञ्ज बन्न सक । नभए अर्को चुनावमा जनताले तिमीलाई नै त्यो बिरुवा हुर्काउने जिम्मेवारी दिउन् ।
प्रिय प्रधानमन्त्री ! जति दिन प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन्छौ, जनताका नजरमा आदर्शका पात्र भएर बस, तिम्रो पार्टी वा अन्य पार्टीका शकूनीहरुले जे सुकै भनून् । तिम्रो मितब्ययिता र कानूनी राज्यको एकलब्य चेष्टा यति छिट्टै किन स्खलित भैरहेछ ? हाम्रा भोलीका सन्तानलाई कुनै आदर्श पुरुषको नाम लिनु पर्दाका वखतमा तिम्रो नाम तिनका मुखमा सरर्र आओस् । शान्त, सभ्य, समृद्ध र सुन्दर देशका लागि जग हाल । पारिवारिक लोभ र मोहबाट माथि उठ, अपराधीलाई आफ्नै परिवारको सदस्य भए पनि मोलाहिजा नगर । हाम्रा आँखामा तिमीप्रतिका विश्वास, भरोसा र आस्थालाई बाँचीरहन देउ ।
(बाबुराम भट्टराई प्रधानमन्त्री भएको १ बर्ष पुग्दा लेखेको पत्र जुन इमेल गरी पठाएको थिएँ। त्यसको कुनै प्रतिकृया आएन। उनले पढे या उनका निजी सचिवले इमेल नै डिलिट गरे थाहा भएन)
No comments:
Post a Comment