Monday, March 25, 2013

इतिहासको अग्निपरीक्षामा कर्मचारीतन्त्र


इतिहासको अग्निपरीक्षामा कर्मचारीतन्त्र

“तिनीहरुका परिवारमा पुग्दो अन्न थिएन । बर्गीय बिभाजनले ती खेतीपातीबाट पनि अलग थिए । उब्जनीको पचास देखि पैसट्ठी प्रतिशत कर तिर्दा पनि अविचलित भै खेती स्याहार्ने बेला निष्फिक्रि कामूक नृत्य नाचिरहेका निर्दोष किसानलाई हेरेर चित्त बुझाउँथे र उत्साहित हुन्थे । तिनीहरुसँग बर्षभरी कार्यालय जान केवल एकसरो लुगा हुन्थ्यो तर ती इतिहास बदल्ने गौरवशाली आस्थामा अडिग थिए । तिनमा अभावको भीषण खडेरी थियो तर सँगै थियो अविचल दृढ बिश्वास, देशलाई सवल र समृद्ध बनाउन दिइएको अभिभाराप्रति । त्यसैले ती पारिवारिक र बर्गीय स्वार्थबाट माथि उठे र समृद्ध जापान बनाउने अभियानको जगमा कहिल्यै नमक्किने, नपिसिने ढुङ्गाका रुपमा आफूलाई बिलीन गराए ।” ती थिए– सन् १८६८ मा ‘मैजी अभ्यूदय’ पछिका कर्मचारीहरु जसले आजको समृद्ध जापानको मूल जग बसालेका थिए ।

 बर्तमान पुस्ताले पुर्खाहरुको पसिनाले आर्जेका बिरासतको ब्याज खाइरहेको हुन्छ । दुर्भाग्यवश हामी नेपालीले नेपाल एकीकरण, ब्रिटिशसँगको त्रासदीपूर्ण लडाइमा प्राप्त प्रदर्शित बीरता र सातसालको प्रजातन्त्र प्राप्तिको उत्सर्गबाहेक पुर्खाबाट त्यस्तो कुनै बिरासत पाएनौ जसको ब्याज हामीले खान सकौं । अंग्रेजसँगको लडाईंमा पानीमात्र खाएर खुकुरी नचाएका बीरबीरांगनाको रगत र पसिनाको ब्याज हामीले अझै खाइरहेका छौं बीर गोर्खार्ली भनेर । त्यसबाहेकका केही सपूतहरुका लोकोपकारका खातिर गरिएका आत्मोत्सर्ग पक्कै प्रेरणादायी छन् तर देशको संगठित समूहबाट गरिएका त्याग र बलिदानको ब्याज नै आगामी पुस्ताले खान पाउने रहेछ । हाम्रा भावी सन्ततिका लागि सुनौलो क्षितिज खोल्न त्याग र उत्सर्ग गर्नुपर्ने संगीन घडी अहिले नेपाली कर्मचारीतन्त्रमा आएको छ ।

अवश्य पनि भोको पेटले भजन गाउन कठीन हुन्छ तर के पनि सत्य हो भने सच्चा भक्तहरु भोको हुनुमै गौरव गर्छन् । एउटा स्नातकोत्तर गरेको कर्मचारी (ऊ खरिदार पनि हुनसक्छ) ले अहिले जति तलब पाउँछ, ऊ सचिव नै भएपनि उसले पाउने तलव उसको बालसखा ( जसले तीन कक्षा पास गर्न सकेको थिएन) ले दुबइमा कमाएको मासिक आम्दानीको आधा पनि हुँदैन । सँगै मुखियामा नियुक्ति पाएको साथी अमेरिका भासिएको छ, उसका छोराछोरी निजी गाडीमा महङ्गो स्कूल जान्छन् र आलिसान बंगलामा बस्छन् तर उसलाई चाचानाना र चिचिपापाकै पिरलो छ । हो यस अवस्थाबाट गुज्रेको छ अहिलेको इमान्दार कर्मचारीबर्ग (सबै होइन) । यस हिसावले नेपालमा कर्मचारीको अवसर लागत (अपर्चुनिटी कस्ट) निकै उच्च छ र प्रतिफल न्यून तर पनि एउटा टेक्ने हाँगो छ, त्यो हो –स्वदेश सेवामा अर्पेको जीवन ।

इतिहासका केस्रा केलाउने हो भने नेपाली कर्मचारीतन्त्र सधैं घडीको पेण्डुलमभन्दा बढी केही हुन सकेको छैन न त यसले कुनै आदर्श नै स्थापित गर्न सकेको छ । यो सधैं शक्तिका पछाडी पसिना सुँघ्दै हिड्छ, स्वाभिमानलाई चाकरीको बेदीमा बली दिन्छ र आदर्शलाई बाध्यताको कात्रो ओढाएर राष्ट्रिय स्वार्थको मलामी जान्छ । यो बौद्धिक छ तर सबै बुद्धि सत्ताको ताबेदारीमा खर्चन्छ र आफूलाई कुरुप पार्छ ।

पंक्तिकारले  केहीबर्ष अघि काठमाण्डौका कर्मचारीहरुबीच गरेको अध्ययनले के देखाएको छ भने धेरै कर्मचारीहरु आफ्नो दक्षताको क्ष्ोत्रभन्दा बाहिर काम गर्न बाध्य छन् । पहिले कुन कुरा निर्णय गर्ने भन्ने स्पष्ट एजेण्डा अधिकांश निर्णयाधिकारीमा छैन (उनीहरुको बिचारमा ‘माथिको आदेश’ लाई नै पहिलो प्राथमिकता दिनुपर्छ), कर्मचारीतन्त्र हाकिममुखी छ (हाल यसमा परिवर्तन आएर राजनितीक शक्तिमुखि हुँदै गैरहेको छ), प्राबिधिक कर्मचारीहरुमा मात्र कार्यस्पष्टता छ, साठी प्रतिशत कर्मचारीहरु त्यस्तो निर्णय मन पराउँछन् जसले भविश्यमा असुरक्षित नभइयोस् (तदर्थबादी निर्णय), असी प्रतिशतले आफ्नो निर्णयबाट सेवाग्राहीमा पर्ने लागत–लाभ बिश्लेशण नगरी प्रकृयागत निर्णय गर्छन् र “भोली” र “प्रकृया मिलेन” भन्ने शब्दावली छयासी प्रतिशतलाई प्रिय लाग्छ । चौवन्न प्रतिशत कर्मचारीहरु बिवेकसम्मत निर्णय गर्ने वातावरण नभएको गुनासो गर्छन् ।

सेवाग्राहीका मतमा छिटो सेवा पाउनका लागि सुन्नुपर्ने “चिया खर्च” राष्ट्रिय लज्जाको बिषय हो । काम फत्ते गर्न चिनजानको कर्मचारी हुनु सर्वाधिक सहज उपाय हो भने नेताबाट दवाव दोस्रो उपाय । छ्यहत्तर प्रतिशत सेवाग्राहीमा नेपाली कर्मचारीतन्त्रले बिवेकशील निर्णय गर्छ भन्ने विश्वास छैन ।

यद्यपि यो अध्ययनको निष्कर्षलाई सामान्यीकरण गर्न त सकिंदैन तर पनि यसले नेपाली कर्मचारीतन्त्रको छबिछायाँलाई स्पष्ट प्रतिबिम्बित गर्छ । के यो भासबाट उम्कने बेला भएन अब ? अवश्य पनि राजनैतिक अस्थिरता र उच्च अवसर लागतका हिसावले नयाँ आँट र कार्यदिशा जोखिमपूर्ण र चुनौतियुक्त छ तर एक अविचलित आस्था र दृढ संकल्पका अँगाडी सबै तगाराहरु दावानलको अगाडी परालको पहाड भष्म भएझैं खत्तम हुँदै जान्छन् । होइन हामीलाई भूपीका शब्दझैं यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ भने दक्ष कर्मचारीहरुले पनि बिख्यात साहित्यकार कालीप्रसाद रिजालले हालै अतित सम्झेर आफू सफल साहित्यकार र सफल कर्मचारी दुबै हुन नसकेकोमा गरेका प्रलाप सबैको नियति हुनेछ । गौरवपूर्ण र राष्ट्रहीतको लागी लिइएको अडानले जागीरै जान्छ भने पनि त्यो बलिदानीका लागि अव तयार हुनैपर्छ ।

अबको कार्यदिशा
आदर्शको बाटो कण्टकयुक्त, असजिलो र साँघुरो हुन्छ तर अगम्य नै हुँदैन । हो, हामीमा त्यही आदर्श चाहिएको छ, आजैबाट हामीले राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर जनसेवाको प्रण गर्नैपर्छ । नेताहरुलाई कसरी बजेटखर्चको हिसाव मिलाउने भन्नेमा आफ्नो योग्यता र बुद्धि खर्च नगरी एकएक पैसा कसरी राष्ट्रहीतमा लगाउन सकिन्छ भन्ने मार्गदर्शनमा लगाउनु पर्छ । एउटा आदर्श कर्मचारी संगठनमा भएको नैतिक बल कुनै पनि राजनैतिक बलभन्दा कमजोर हुँदैन । हामीले जुन समयको लागि जनताको पसिनाबाट तलब खाएका छौं त्यो एकएक पल जनसेवामै लगाउनु पर्छ । आर्थिक प्रलोभनबाट यो सोचेर मुक्त हुनुपर्छ कि हामीले आधा पेट खाएर बनाएको समृद्ध नेपालमा हाम्रा सन्ततिले यसको भुक्तानी पाउनेछन् । उच्च पदस्थमा “पदेन बुद्धि” को मानसिकतालाई तुरुन्त हटाउनु पर्छ, बुद्धि र बिचारका लागि बुढो हुनै पर्ने होइन । संसारको निर्माण युवाहरुले नै गरेका हुन् । नेपालमै पनि बि.पि., मदन र गगन बुढो भएर बिचारशील र युगद्रष्टा भएका होइनन् । त्यो कर्मचारीका हकमा पनि लागू हुन सक्छ ।

देशले राजनैतिक कायापलट गरेको तर राजनैतिक नेतृत्वले स्पष्टदिशा निर्देश गर्न नसकेको यस इतिहासकै सर्वाधिक संगीन मोडमा कर्मचारीतन्त्रले यथास्थितिबादलाई सिद्धार्थ गौतमले दरवार त्यागेजस्तै त्यागेर “राष्ट्रनिर्माणका लागि मेरो जीवन” भन्ने मानसिक उर्जा बोकेर प्रगतिशील र साहसिक निर्णय गर्ने, सबै कर्मचारीमा समभाव राख्ने, सेवाग्राहीलाई तुरुन्त सेवा र उनीहरुको सम्मान गर्ने, लोभबाट मुक्ति र “उज्ज्वल नेपालको लागि मेरो कार्यालय समय” भन्ने दृढसंकल्पका साथ अघि बढौं । हामीसँग प्रबिधि कमजोर छ तलब दुर्बल छ र राजनैतिक हस्तक्षेप प्रबल छ तर ती सबै हाम्रो दिशाहीनतामा मात्र मौलाएका हुन्, हाम्रो राष्ट्रनिर्माणको अठोटसामू ती पानीका फोका सरह बिलाउने छन् ।

अन्तमा, ‘आन वास्वो’का सटीक शब्दहरुमा –“एउटा प्रबुद्ध कर्मचारीतन्त्र जुन बर्गीय स्वार्थबाट माथि उठेर राष्ट्रका लागि आत्मोत्सर्ग गर्न तयार हुन्छ, द्वन्दरत सामाजिक शक्ति र गुटहरुबीच मिलनभाव ल्याउन र सामाजिक न्याय प्राप्त गर्ने उत्तम यन्त्र त्यही हो ।” दलीय स्वार्थ र सामाजिक न्यायहीनता मौलाएको यस संगीन घडीमा समग्र कर्मचारी उत्सर्गका लागि तयार होउँ । शुरु आफैबाट र आजैबाट गरौं । हाम्रा भावीपीढिले हामीलाई सम्झने एउटा सानो चौतारी हाम्रा नाममा चिन्न सकून् ।

सान सेबाष्टियन, स्पेन
२०६८ आश्विन ६

गरीबहरूलाई सुरक्षित आवासको पहल होस्


बिहीबारको नागरिक मुखपृष्ठमा छापिएको खरानीमा रूपान्तरित औरही गाउँको तस्वीर देखेर असाध्यै मन रोयोप्रत्येक बर्षको गर्मीयामसँगै शुरू हुने भीषण आगलागीले यसरी नै हजारौं हजार नागरिकको बिचल्ली हुने गरेको छ । यसले गर्दा प्रत्येक बर्षको मेहनत नयाँ झुप्रो खडा गर्नेमै जानेहुँदा ती गरीबहरूको जीवन पनि गरिबीको दुष्चक्रभित्रै खरानी हुने गरेको छ । घरसँगै लुगा, पुस्तकहरू र खानेकुरा सखाप हुँदा विद्यार्थीहरू विद्यालय जान सकेका छैनन । बिनाशले बालबालिकामा पारेको मानसिक असर त छँदैछ, यसले नयाँ पुस्ता पनि गरिबीको दुष्चक्रबाट कहिल्यै निस्कन नसक्ने कुरा निर्बिवाद छ ।
बैशाख महिनाको अन्त्य सम्म् केबल २० प्रतिशत मात्र विकास बजेट खर्च हुनसकेको खवर आइरहेको छ । तराको राजनीति गर्नेहरूला केबल सत्तालिप्सा र निकृष्ट ब्यक्तिगत स्वार्थको जंजीरले सधैं बाँधेको छ । ती गरीबहरूका बारेमा सोंच्ने फुर्सद उनीहरूला छैन, छ त केबल आफ्ना भाइभतिजाला ठेक्कापट्टा दिलाएर कसरी कमाउन सकिन्छ भन्ने मात्र ।
जबसम्म घर निर्माणको परम्परागत शैलीमा परिवर्तन ल्याउन सकिन्न तवसम्म हामीले प्रत्येक बर्ष आगलागी पीडितका लागि राहत संकलगन गर्नुपर्ने र उनीहरू सधैंभरी नयाँ झुपडी निर्माणमा लाग्नु पर्ने हुन्छ । यसले गर्दा गरिबीको दुष्चक्रबाट उनीहरूलाई कहिल्यै माथि उठ्न नसक्ने कुरा घामजस्तै छर्लंङ्ग छ । तसर्थ कंक्रिट टायल (वा अरू कुनै सस्तो र कम ज्वलनशील बस्तु) को छाना सहितका कंक्रिट ब्लकका स-साना घर (जो ४०/५० हजारमा तयार हुन्छन्) बनाउनका लागि सरकारी, नीजि र सामाजिक संस्थाको संयुक्त अभियान चलाउन सकिन्छ । त्यस्ता घरहरू आगलागीबाट बच्न मात्र नभै बिजुली जडान गर्न पनि सुरक्षित हुनेछन् । गाउँमै बिजुली आएपनि उपयुक्त घर नभएका कारणले त्यसको सुविधाबाट बञ्चित भएका गरीबहरू पनि यसबाट लाभान्वित हुनेछन् । तसर्थ आगामी बजेटमा अत्यन्त गरीबहरूका लागि कम्ती  ५००० सस्ता र सुरक्षित घर बनाउन बजेट बिनियोजन गरी सरकार, सामाजिक संस्था र सम्बन्धित लाभार्थीको योगदानमा त्यस्तो कार्यक्रम लागू गर्नु उपयुक्त हुन्छ । प्रत्येक बर्ष ५००० हजारका दरले मात्र बनाउँदा पनि केही बर्षमै आगलागी सम्बेदनशील क्षेत्रका बिपन्नका लागि आवश्यक घर निर्माण गर्न सकिन्छ। गरिबी निवारण कोषले पनि बिपन्नका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्न सक्छ। सरकारले केही करोड बजेट छुट्याएर बर्षेनी अर्बौंको आर्थिक र खर्बौंको मानसिक क्षति रोक्न सकिने हुँदा यसका लागि सबै पक्षबाट तत्काल पहल होस् ।
भीष्मकुमार भूसाल
हालः विद्यावारिधि शोधार्थी, देउस्तो विश्वविद्यालय, स्पेन
2068/01/22

बारीमा हीरा छ, कोइला माग्न हिड्छैां हामी


के छैन हामीकहाँ ?

भर्खरैको प्रधानमन्त्रीको भारत भ्रमण कत्तिको सफल हुन्छ भन्ने कुरा नेपालले कति माग्न सक्छ भन्ने कुरालाई मानक बनाएर प्रस्तुत गर्ने हाम्रो शैलीले एकपटक फेरी खिन्न तुल्याएको छ । हामीले कति माग्न सक्यौं भन्ने होइन, एउटा सार्वभौम राष्ट्रको सरकार प्रमुखले पारस्परिक समानताका कायम गर्न सक्ने दिशामा के गर्न सक्नुहुन्छ र हाम्रो स्वाभिमान उचो पार्ने गरी प्रस्तुत हुन सक्नुहुन्छ कि हुन्न भन्ने हो । हामी आफ्नो बारीको कान्लामा पुरिएका हिराका टुक्राहरु अलिकति खनेर निकाल्न भन्दा मोतीको खोजीमा समुद्रतिरको यात्रा गछौं र त्यहाँ नपुग्दै सकिन्छौं । अव यो अवस्थाको अन्त्य गर्न लाग्नु पर्ने वेला आएको छ । विश्व इतिहासमा मागेर कोही धनी भएको अभिलेख छैन । वर्तमानमा हाम्रो सम्पन्नताका केही उदाहरणहरु हेरौं र यी सम्पदारुपि हीराहरुलाई तत्काल उपयोगमा ल्याउन सिकौं ।

आर्थिक बृद्धि र विकासका लागि चाहिने मुख्य कुराहरु हुन् ः मानव संशाधन, प्राकृतिक स्रोत, भूमी, उद्यमशीलता, बजार आदि । अहिले यी सबै कुराहरु हाम्रो अनुकूल छन् । केही उदाहरणहरु हेरौं ः
प्राकृतिक सम्पदाका हिसाबले हेर्दा जलविद्युतका क्षेत्रमा विश्वकै दोस्रो धनी भनेर घोषणा गरिएको दशकौं भइसक्यो । त्यसमाथि भर्खरै जापानको नेशनल इन्स्टिच्यूट अफ एडभान्स इन्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजीको अध्ययन अनुसार हिमाली क्षेत्रबाट विश्वकै सबैभन्दा सस्तो सौर्य उर्जा निकाल्न सकिन्छ । जति विद्युत उत्पादन गरेपनि बिशाल छिमेकी देशहरुमा यति ठूलो बजार छ कि हाम्रो रातो माटो पनि बिक्छ, बिजुलीको कुरै छोडौं  यसमा ढीलो नगरौं । हामीले यो सम्पदा दोहन गर्न ढीला ग¥यौं भने छिमेकी बजारले विद्युत आपूर्तिको अर्कै विकल्प खोजीसक्नेछ ।

 प्रकृतिले हिमाल, पहाड र तराइको संरचना दिएको छ । विश्वभर आयुर्वेदिक उपचार पद्धति फैलिरहेको बेला हिमाली क्षेत्र जडीबुटीबाट मात्रै पनि अपार आयआर्जन गर्न सक्छ । पहाडले बिभिन्न जातका फलफूल र नगदे बाली उब्जाउन सक्छ, तराइले खाद्यान्न । यति माग्यमानी देश कमै हुन्छन् ।

जनशक्तिः भर्खरै सार्वजनिक नेपालको जनसंख्या सर्भेक्षणले नेपालको उत्पादनशील जनसंख्या उच्चतम तहमा रहेको देखाएको छ । विकासशील देशमा जस्तो परनिर्भर जनसंख्या बढ्ने क्रम नेपालमा घट्दो छ । हाम्रो सांस्कृतिक संरचनाले बलियो पारिवारिक संरचना छ । यस्तो बेलामा यी पाखुराहरुलाई बढीभन्दा बढी राष्ट्रनिर्माणमा लगाउँ । बिप्रेषणले देश धनी हुने भने फिलिपिन्स अहिलेसम्म विश्वकै धनी भइसक्ने थियो ।
अर्कोतिर नेपालीहरुले बिदेशमा गएर पनि निकै मिहिनेती  र इमान्दारको दर्जा पाएका छन् । केही बर्ष अघिसम्म पनि आन्दोलन र राजनीतिमा बढी रमाउने श्रमिकहरुले बिदेशका अनुभवबाट पाठ सिकेर आएका छन् । बिदेशकै तीता अनुभवले त्यहाँबाट फर्केका नेपालीहरुलाई स्वरोजगारतर्फ उन्मुख हुन निकै प्रेरित गरेको छ ।

नेपालका कानूनहरु यति पर्याप्त छन् कि विकसित देशहरुले नेपाल लगायतका देशहरुबाट सिक्ने कुरा छन् । विकसित देशमा भन्दा हामीकहाँ धेरै कुरामा अनुकरणीय अनुशासन छ ।  उदाहरणको लागि, विकसित देशमा विश्वविद्यालयका कक्षहरु पनि धुम्रपानले गन्हाएका हुन्छन् । हामीले सार्वजनिक स्थानमै धुम्रपान गर्न नपाउने कानून कार्यान्वयन गर्दैछौं ।

आर्थिक बृद्धिको छचल्किने प्रभाव (Spillover effect) अवका विश्वशक्तिहरु भारत र चीन नै हुन् । आफ्ना छिमेकी राष्ट्रहरु विश्वशक्ति भएको समयमा त्यहाँ भएको समृद्धिको बाछिटा हामीले सोहोर्न सक्नु पर्छ । हामीकहाँ त्यसको स्पीलओभर प्रभाव प्राप्त हुने ठूलो अवसर छ ।

पर्यटनः बुद्धको जन्मभूमी नेपाल र चीनमा बुद्ध धर्मको पुनरुत्थानले धार्मिक पर्यटनको सम्भावना निकै बढ्दो छ । हिन्दू र बुद्ध धर्मावलम्बीका तीर्थहरुको प्रचार र प्रवद्र्धनबाट मात्रै हामीले लाख होइन करोडौं धार्मिक पर्यटक भित्राउन सक्छौं ।

राजनीतिक दलहरु शान्ति स्थापनातिर चासो दिन थालेका छन् जसले संविधान र राजनीतिक स्थायित्वको अपेक्षा गर्न सकिन्छ ।
इतिहासले नै हामीलाई निकै ठूलो अवसर दिएको छ अहिले ।

२०६८ बैशाख १५ गते
सान सेबाष्टियन, स्पेन

बाबुराम भट्टराइलाई खुला पत्र


एउटा नागरिकको पत्र प्रधानमन्त्रीलाई

प्रिय प्रधानमन्त्री !
मलाइ नोकरशाही औपचारिकताको “सम्माननीय प्रधानमन्त्रीज्यू” भनेर सम्बोधन गर्न भन्दा “प्रिय प्रधानमन्त्री” भनेर आत्मीय सम्बोधन गर्न मन लाग्यो । नेपाली नागरिकहरुले आफ्ना राजनीतिक आस्थाबाट निस्पृह रहेर तिमीलाई अन्धकारमा उज्यालोको राँको लिएर आएको भनेर सहर्ष तिम्रो स्वागत गरेका हुन् । तिमीलाई इतिहासको गर्तमा धूलीधूसर भएर बिलाएको हेर्न होइन, देशको समृध्दिका र प्रतिष्ठाका ध्रुवताराको रुपमा हेर्न चाहेका हुन् ।

भदौ ११, २०६८ को दिन जब तिमी प्रधानमन्त्रीमा निर्वाचित भयौ त्यसवेला म दुर्गम पहाडको एउटा दलित बस्तीमा हिंड्दै थिएँ । साँझ परिसकेको थियो । त्यहाँ एउटा कोलाहल सुनियो । तिमी प्रधानमन्त्री भएको खुसियालीमा त्यो दलित बस्ती कुनै राजनीतिक आस्थाको घेरा तोडेर हर्षबढाइ गरिरहेको थियो र दशैंका लागि किनेर राखेको राँगो काटेर हर्ष बढाइ गर्ने तयारी गर्दै थियो । “दशैंमा देखा जाएगा, यी मान्छेले अब देशाँ केही गर्चन् गर्चन्, दशैं ता आजै मनाउन पर्च” भन्दै थियो त्यो समूह । आफ्नो करिब चार दशकको जीवनमा दर्जनौं प्रधानमन्त्रीहरु निर्वाचित वा मनोनित भएको देखियो, सुनियो तर जनताका आँखा यसरी कुनै व्यक्ति पदासीन हुँदा चम्केको मैले कहिल्यै देखेको थिइन ।

जब तिमीले अर्थमन्त्रीको कार्यकालमा करिब उनान्साठी हजार बिदेश भ्रमणवापतको रकम आफूले दोहोरो भ्रमण खर्च नलिने भनेर राज्यकोषमा फिर्ता ग¥यौ, त्यसले तिम्रो ख्याति करोडौंले बढायो । जब तिमी मुस्ताङ्ग गाडी चढेर एउटा नमूना देखायौ, ढोंगीहरुले जे भने पनि नेपाली जनताका आँखा फेरी एकचोटी तिम्रा आदर्शले पुलकित भए । भदौ महिनाभरका खवरकागजहरु हेर्दा तिम्रा प्रशंसामा लाखौंलाख शब्दहरु खर्च भएका छन् । जनस्तरबाट निस्वार्थ त्यस्तो प्रशंसा नेपालको इतिहासमा कसैले पाएको छैन । ती सबै तिमीप्रति आमजनताका सपना, आशा र भरोशाका प्रतिध्वनी थिए । बजार अनुगमन र हेलो सरकारका तिम्रा पहलकदमीहरु बिरोधीहरुका आँखामा प्रचारको माध्यममात्र भएपनि जनताका आँखामा तिनका तिमीप्रतिको भरोशाका मूर्तता थिए । अध्ययनमा तिम्रो अब्बलताको उपयोग देशले अब गर्न लाग्यो भनेर हामी सबै हर्षित थियौं ।

वास्तविक नेताको परीक्षा संकटको बेलामा हुन्छ । हामीलाई थाहा छ, तिम्रो प्रधानमन्त्रीत्वको धरातल निकै कमजोर छ तर के यो नै जीवनको अन्तिम घडी हो प्रधानमन्त्रीमा रहिरहनलाई । तिम्रो सत्कर्मको निरन्तरता अविचलित रहेमा फेरी तिमीलाई विपक्षीहरुले नै काँधमा बोकेर पुनः प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराउन वाध्य हुनेछन् आफ्नो दलले रोक्न सक्ने कुरै हुने छैन । लोभीहरुका घेरामा सत्ताको उच्चतम आसनमा टिक्न खोजेर आफ्ना सुकीर्तिको क्षय बाहेक केही हुँदैन । पश्चिमाका आँखामा तानाशाह भएपनि सन् सत्तरीको दशकमा लिबियाका शासक कर्णेल गद्दाफीले लिबियाको बिशाल मरुभूमीमा कृत्रिम नदी निर्माण गरेर कृषिक्रान्ति मात्रै गरेनन् आफ्नो देशका नागरिकको प्रतिव्यक्ति आय समृद्ध देशको हाराहारीमा पु¥याएकै हुन् तर त्यस्ता राष्ट्रबादी नेताको पनि सत्तामोहले कीर्तिक्षय मात्र भएन, त्रासद अन्त्य पनि भोग्नुप¥यो । एउटा महापुरुष तवसम्म सत्तामा रहिरहन्छ जबसम्म उसले नयाँ नयाँ सुकीर्ति र आदर्शका इँटाहरु थ्पिरहेको हुन्छ । राष्ट्रनिर्माणका ती इँटा अलिकति पनि खिइन थाल्नु अगावै उसले आफ्ना सुकर्मको विरासत अर्को पुस्तालाई सुम्पन्छ । प्रधानमन्त्री भएको तीन महिनामै छोड भन्न खोजेको कदापी होइन, हामीले तिमीलाई कम्तीमा एक दशक यो देशको कार्यकारीको पदमा देख्न चाहन्छौं तर तिम्रा सच्चा आदर्श र बोलीमा अडिग हुने शर्तमा मात्र ।

तर कति छिटै तिमी गल्यौ? हामीले सत्तामा टाँसिइरहनका लागि अदालतले दोषी करार गरेका व्यक्तिको आममाफीको प्रस्ताव गर्ने, चारदर्जन मन्त्रीको जम्बो मन्त्रीमण्डलको नेतृत्व गर्ने प्रधानमन्त्रीको कल्पना गरेका थिएनौं तिमीबाट । यदि मन्त्री नपाएकै कारण अर्को समूहमा जाने सभासद्लाई मन्त्री बनाएर शक्ति सन्तुलन गर्न खोेजेको हो भने ती तिम्रा आडभरोसा होइन खिर्राको काठका खाँवाहरु सावित हुनेछन् । तिमीजस्ता विद्वान व्यक्तिले जातीय सन्तुलन मिलाउन चारदर्जन सल्लाहकार नियुक्त गरेको भनेर हास्यास्पद तर्क दिंदा हामीलाई लाग्नु लाज लागेको छ । अर्थमन्त्री छँदाको तिम्रो सफलता के जातीय सल्लाहकारबाट सम्भव भएको थियो? जातीय सन्तुलन चाहिएजति संसदमै थियो । तिनीहरुले प्रधानमन्त्रीलाई सल्लाह दिन नमिल्ने भनी संविधानमा प्रतिबन्धात्मक व्यवस्था पनि गरिएको थिएन । तर पनि तिमी गल्यौ । तिमीले प्रचण्डको प्रधानमन्त्रीत्व कालमा सुत्ने पलङ्ग, महंगो घडी र छोरालाई बिदेश घुमाउने जस्ता क्षुद्र लोभ त्याग्न नसकेर करोडौंको बदनामी कमाएको बिस्र्यौ । । देशमा साढे तीन दर्जन भन्दा बढी नागरिकको बस दुर्घटनाबाट एक चिहान हुँदा एउटा समवेदना पनि व्यक्त नगरी अमेरिका हानिने बाबुरामको कल्पना तिमीप्रति आशालु नेपाली जनताका मष्तिष्कमा थिएन ।

कुनै पनि गृहस्थी मानिसको सादा जीवनको अठोट परिवारको समर्थनबिना  पुरा हुन असम्भव हुन्छ । तिमीले जतिसुकै हिसिला म्याडमको क्षमताको चर्चा गरे पनि उनको राम्रा गाडी चढ्ने मोह, नातागोता भर्नाको अतिरेक आकांक्षा र अर्थ संकलनको मोहले तिमीलाई निरन्तर कलंकित तुल्याइरहेछ । हामीलाई थाहा छ, तिम्रा जीवनमा भोगबिलासको कुनै महत्व छैन तर एकातिर तिमी चाणक्यको शैलीमा घरको काममा राज्यको तेल खर्चेर दियो नबाल्ने प्रतिबद्धता देखाइरहेका हुन्छौ अर्कोतिर करोडौंको राज्यकोष खर्चेर कार्यकर्तालाई उच्चतहको सुविधा सहित कथित सल्लाहकारमा भर्ना गरिरहेका हुन्छौ । यदि तिनै लोभीपापीहरुको आडबाट मात्र सत्तामा टिकीरहनु पर्छ भने त्यो कुर्सीलाई तिलाञ्जली किन नदिने ? बापू महात्मा गान्धीले आजीवन राज्यसत्ताको भोग गरेनन् र पनि ती विश्वमा बुद्ध जत्तिकै पूजित छन् । काका हो ची मिन्हले प्रधानमन्त्री हुँदासम्म पनि टायरका चप्पल लगाएकै हुन् । हामीले तिमीबाट देशमा सुव्यवस्था, सुशासन, संबृद्धि र राष्ट्रिय प्रतिष्ठाको बीउ रोपेर छोड्ने अपेक्षा गरेका थियौं ताकि त्यसपछि सत्तामा आउनेहरुका लागि तिमी आदर्शका पुञ्ज बन्न सक । नभए अर्को चुनावमा जनताले तिमीलाई नै त्यो बिरुवा हुर्काउने जिम्मेवारी दिउन् ।

प्रिय प्रधानमन्त्री ! जति दिन प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन्छौ, जनताका नजरमा आदर्शका पात्र भएर बस, तिम्रो पार्टी वा अन्य पार्टीका शकूनीहरुले जे सुकै भनून् । तिम्रो मितब्ययिता र कानूनी राज्यको  एकलब्य चेष्टा यति छिट्टै किन स्खलित भैरहेछ ? हाम्रा भोलीका सन्तानलाई कुनै आदर्श पुरुषको नाम लिनु पर्दाका वखतमा तिम्रो नाम तिनका मुखमा सरर्र आओस् । शान्त, सभ्य, समृद्ध र सुन्दर देशका लागि जग हाल । पारिवारिक लोभ र मोहबाट माथि उठ, अपराधीलाई आफ्नै परिवारको सदस्य भए पनि मोलाहिजा नगर । हाम्रा आँखामा तिमीप्रतिका विश्वास, भरोसा र आस्थालाई बाँचीरहन देउ ।

(बाबुराम भट्टराई प्रधानमन्त्री भएको १ बर्ष पुग्दा लेखेको पत्र जुन इमेल गरी पठाएको थिएँ। त्यसको कुनै प्रतिकृया आएन। उनले पढे या उनका निजी सचिवले इमेल नै डिलिट गरे थाहा भएन)



हामी माकुराका सन्तान


हामी माकुराका सन्तान

फेरी अर्को एउटा बहुराष्ट्रिय कम्पनीलाई नेपालबाट लखेट्ने प्रपञ्च नेपाल यूनिलिभरका मजदूर (?) बाट भएको खवर आएको छ । कोडाक, कोलगेट पाल्मोलिभ, सूर्य गार्मेन्टस हुँदै यो क्रम अब नेपाल युनिलिभरमा सरेको छ । भारतसँग बिप्पा सम्झौता, लगानी बोर्डको गठन जस्ता नीतिगत आधार तयार पार्नेतिर सरकार लागे पनि बैदेशिक लगानी भित्रिनका लागि नीतिले मात्र केही गर्दैन भन्ने कुरातिर सरकारको ध्यान पुगेको देखिंदैन । बैदेशिक लगानीका तीन मुख्य शर्तहरु हुन् - औद्योगिक वातावरण, उत्पादित बस्तुको बजार र कानून ।

जसरी पुस्तकालयमा रहेका पुस्तकहरु हेर्दैमा नपढी लाइब्रेरियन विद्वान हुँदैन, त्यस्तै जतिसुकै सम्झौता र कानून बनाए पनि जवसम्म ती कार्यान्वयनमा आउँदैनन् तवसम्म ती केवल खोष्टा कागज मात्र हुन्छन् ।
विश्व बैंकको Doing Business Index 2012 ले नेपालको स्थान विश्वका १८३ अर्थतन्त्रमध्ये १०७ औं स्थानमा देखाएको छ । भूपरिवेष्टित राष्ट्र भएको कारणले मात्र सीमापार व्यापारमा नेपाल विश्वको १६२ औं स्थानमा पर्दछ अर्थात नेपाली निर्यातले प्रतिस्पर्धा गर्न निकै कठीन छ । यस अवस्थाले गर्दा नेपालमा बैदेशिक लगानी आकर्षित हुने अवसथा नै छैन । त्यसमाथि श्रमिक उत्पादकत्व हेर्ने हो भने दक्षिण एशिया संसारकै कम उत्पादकत्व भएको क्षेत्र हो र त्यसमा पनि नेपालक दक्षिण एशिया पनि सबैभन्दा कम श्रमिक उत्पादकत्व भएको देश हो ।

श्रमिकका हक र अधिकारको प्रत्याभूति गर्नु रोजगारदाताको कर्तव्य हो तर के पनि बिर्सनु हुँदैन भने जुन देशबाट मासिक ५ देखि ९ हजार तलबका लागि एक लाख भन्दा बढी खर्चेर नेपालीहरु अरबका मरुभूमी र मलेशियामा पापड बेलिरहेका छन् त्यही देशमा तुलानात्मक हिसाबले असाध्यै कम काम गरेर (अझ मजदूर नेताहरुले त कामै नगरेर) मासिक रु. २१ हजार भन्दा बढी तलब सुविधा पाउँदा पनि थप आन्दोलन गर्नु भनेको हामी नेपालीको माकुरे प्रबृत्ति नै हो । माकुराले बच्चा आफ्नो पेटमा हुर्काउँछ, जब ती बाहिर निस्कन समर्थ हुन्छन् तिनले आफ्नै आमालाई खान्छन् र माउको अन्त्य हुन्छ । यो प्रबृत्तिको अन्त्यका लागि सरकारले नै अग्रसरता देखाउँदैन र राजनीतिक दलले आफ्ना कथित कार्यकर्तालाई छाडा छोड्छन् भने नेपालमा केही बर्ष भित्रै माकुराका सन्तानहरुले देशमा एउटै उद्योग पनि बाँकी रहन दिने छैनन् । रुख हुर्कन दिए पो धेरै फलको आशा गर्न सकिन्छ, बढ्नै नदिने, हाँगा छिमलीरहने, जरा काटीरहने हो भने रुख कसरी हुर्कन्छ र धेरै फलको आशा गर्ने ? यो प्रबृत्तिको अन्त्य नगर्दासम्म कुनै बैदेशिक त के स्वदेशी लगानीको लागि पनि फोस्रा भाषण नगरे हुन्छ ।

भीष्मकुमार भूसाल
विद्यावारिधि शोर्धार्थी (अर्थशास्त्र)
स्पेन
2068/10/4