Thursday, May 14, 2015

हामी फेनिक्स चरा झै खरानीबाट ब्यूँतिने छौ

http://setoparewa.com/2015/05/14/27565

एउटा प्रलय भर्खरै फर्केको छ हाम्रो आँगनबाट। हाम्रा शतकौका सम्पत्तिहरु खोसेर हाम्रा अमूल्य सम्पदाहरुलाई केही सेकेण्डमा धुलिसात गरेर हिडेको छ त्यो। बर्षौ मरुभूमिको बालुवा पेलेर तेल निकाली हाम्रा बान्धवहरुले बनाएका घरहरुसँग कतिपयका परिवार र धेरै सपनाहरुको अपहरण गरेर गएको छ त्यसले।
हामी त्रास, ब्याकुलता, पीडा र आँसुले लथपथ भएका छौं।
यसै बेला केही उपबुज्रुकहरु नेता र कर्मचारीतन्त्रको सत्तो सराप गर्दै आफू चाहीं राहतका सामग्री कसरी कब्जा गर्ने भन्ने ध्याउन्नमा बसेका देखिन्छन्। नैतिकता र मानवीय सम्वेदना माथि नै चुनौती दिँदै कतिपय यातायात ब्यवसायीहरुले संकटमा फसेका र विपदले ब्याकुल हुँदै काठमाडौं छोड्न आतुर यात्रुहरुबाट तीन गुणा सम्म बढी भाडा असूल गर्ने गरेको, चोरहरुले लुटपाट गर्न निस्केको, धर्मपरिवर्तनकारीहरु अलिकति पनि मानवीय संवेदनाको ख्याल नराखी राहतका सामग्रीको साटो तिनीहरुका धर्मग्रन्थ बाँडेको र धार्मिक आस्थाको आधारमा राहतमा भेदभाव गरेको तथा कालाबजारी लुब्धहरुले राहतको लाइनमा बसी त्यो सामान पसलमा राखेर बेच्ने गरेको तथा मर्दा कात्रोमा खल्ती बोक्नेहरुले बोराका बोरा खाद्यान्न घरको गोदाममा राखेर भूकम्पपीडितका लागि राहत बाँड्न आएकाहरुलाई अपशब्द बोल्दै चामलका बोरा लुट्ने सम्मका घटनाहरुले हाम्रो नैतिकताको कहालीलाग्दो स्तर देखाएको छ भने अर्को तिर थुप्रै नौजवानहरु आफ्नो गास कटाएर भोक तिर्खा नींदको परवाह नगरी भूकम्पपीडितहरुका लागि राहत बोकेर स्वयंसेवामा जुटिरहेका छन्।
थुप्रै स्वयंसेवी विश्वका कुनाकुनाबाट आएर वसुधैव कुटुम्बकम् भन्ने भनाईलाई वास्तविक जीवनमा देखाउन सफल भएका पनि छन्।
यही समयमा एकातिर संसारका कुनाकुनाबाट नेपालमा भूकम्पपीडितहरुका लागि राहत सङ्कलन भैरहेछ। संसार एकजुट भएको छ। हाम्रो पीडामा उनीहरुको समभाव छचल्किएको छ। धेरै देशका उध्दारकर्ताहरु रातोदिन उध्दारमा खटेर भर्खरै फर्केका छन् भने अर्कोतिर तिनै मध्ये कतिपयले एक सयको सहयोग गरेर एक लाखको विज्ञापन गर्न र आफू नै नेपालको विधाता भएको गोयबल्स प्रचारवाजी गर्न पनि भ्याएका छन् ।
हाम्रै सरकारको कार्यसम्पादनको बिषयमा भन्नुपर्दा म नेपाल सरकारको एक हप्ता लामो अलमल र धरमरबाट बिचलित भएको थिएँ।
प्रलयको त्यो कहालीलाग्दो दिनदेखि स्वतस्फुर्त उध्दारमा खटिएको मैले दोस्रो दिन देखि कार्यालय पुगेर विपद् प्रभावित नेपाली भूगोलको जुनसुकै कुनामा भए पनि उध्दारका लागि खटाइयोस् भनेर बिन्तीपत्रै हालेको हुँ र पनि त्यसको ४८ घण्टापछि मात्र फिल्डमा खटाइएको थिएँ म। त्यो ४८ घण्टा मेरा दाजुभाइ दिदीबहिनीहरु भत्केका घरको भग्नावशेषमा छटपटाइ रहँदा म अर्थ मन्त्रालयको क्यान्टिनमा चिया पिएर बसिरहेको थिएँ मुटुभरी पीडाको पहाडले थिंचिएर।
लोकसेवा आयोगको जाँचको लागि तयारीका लागि बाहेक हामीले यति ठूलो बिपद् ब्यवस्थापनको कुनै तयारी गरेका रहेनछौं।
त्यस सम्बन्धी नीति तथा निर्देशिकाहरु पनि अपुरा रहेछन् हाम्रा। नेपाली सेना र प्रहरी बाहेक राज्यकोषबाट तलब खाने कर्मचारी र शिक्षकहरु लामो समय भूमिकाबिहीन रहे या बनाइए। तिनले आफ्नो घर सुरक्षित रहेकोमा मखलेल मुद्रामा चिया गफमै त्यो अमूल्य समय कटाइरहे। निकै ढीला परिचालित भयौ हामी।
नेपाल बन्द गराउन र दलगत तुच्छ स्वार्थका लागि लाखौ जनता सडकमा उतार्ने धम्की दिने र नेपाल बन्द गर्ने राजनीतिक दलहरु पनि यो बिपदको घडीमा ट्वाल्ल परिरहे। निकै ढीलो बेहासीबाट ब्युँझे ती।
२००७ सालको प्रजातन्त्रपछि नेपाल कहिल्यै स्थिर हुन पाएन। राजनीतिक हिसाबले अस्थिर यो देशले प्रकृतिको कोप भाजन पनि ब्यहोर्नु पर्‍यो। उध्दार, राहत र पुनर्स्थापनाको चरण पार गर्दै यसको क्षतिपूर्ति हुन कम्तीमा अर्को एक दशक लाग्नेछ ।
हुन त नेपालमा राहत र पुनर्स्थापनाको लागि देश विदेबाट धेरै ब्यक्ति र संस्थाले सहयोग गर्ने घोषणा गरेका छन् तर ती मध्ये कमै रकम मात्र वास्तविक पीडित सम्म पुग्नेछ। बिदेशी संस्थाबाट आउने धेरै रकम तिनीहरुका कर्मचारीहरुका लागि नै खर्च हुने हुँदा उतै फिर्ता हुनेछ भने कतिपय स्वार्थप्रेरित संस्थाहरुको सहयोग नेपालमा तिनको अनुयायीहरुका लागि मात्र उपयोग हुनेछ। हाम्रा प्राथमिकताहरुमा हामीले नै खर्च गर्न पाउने गरी नआउने बैदेशिक सहायताले केवल परनिर्भरता र असमानता मात्र बढाउने छ।
तर हामी यस बखत जति धेरै निराशाको भूमरीमा परेका भए पनि चाँडै नै फिनिक्स चरा झै खरानीबाट बौरेर प्रगतिको उत्तङ्ग आकाशमा उड्ने छौं। तल उल्लेख गरिएका कुराहरु आशाका सुनौला किरणहरु हुन् जो भोली पारिलो घामजस्तै हामीले अनुभूत गर्न पाउने छौं।
  • यो विपद्को घडीमा उध्दारका लागि हामीबीच पहाडी र मधेशीको जाति र जनजातिको पूर्वेली र पश्चिमेलीको कुनै रेखा थिएन। त्यहाँ केवल नेपाली रह्यौं। एउटै परिवारका दाजुभाइ दिदीबहिनीहरु भयौ। देशलाई आपत् पर्दा जसरी हामी एकाकार भएका छौं देशको समृध्दिका लागि त्यसरी नै हाम्रा हातहरु जुट्नेछन्।हाम्रो राष्ट्रियता बलियो हुँदै जानेछ।
  • गएको एक दशक हामी कसको अग्लो घर बनाउने भन्ने ध्याउन्नमा लाग्यौं।उद्यमशील बनेनौं। हामीले कुनै भवन सम्बन्धी र भू उपयोग सम्बन्धी आचार संहिता बनाएनौ या पालना गरेनौं। हामीले प्रकृतिको भारवहन क्षमताको वास्ता गरेनौं। पर्यावरणको उपेक्षा गरिरह्यौं। अब हामीले भवन संहिताको पालना गर्नेछौ। ससाना र उस्तै साइजका घर बनाउने छौं।भूकम्प सहन सक्ने जापानी प्रविधिका घर बनाउने छौं। सानो घर बनाएपछि बचत हुने पैसा उद्योगधन्दामा लगाउने छौं।
  • ब्यवस्थित र सुन्दर शहरका लागि राष्ट्रिय शहरी विकास रणनीति लागू हुनेछ। त्यसले समग्र शहरी विकासको ब्यवस्थित खाकामा आधारित दीगो विकासको पूर्वाधारहरु खडा हुँदै जानेछन्।
  • बिदेश जाने रकम समेत जुटाउन नसकेका दाजुभाइहरुले यहाँ पर्याप्त काम पाउनेछन्। तिनको ज्यालादर बढ्नेछ।तिनका नानीहरु विद्यालय जानेछन्।विदेशमा रहेका घर बनाउने सीप भएका नेपाली दाजुभाइहरु स्वदेश फर्कने छन्। तिनले बिदेशमा सिकेको सीप र प्रविधि यहाँ लागू गर्नेछन्।
  • हामीले पहिले देखि नै धरापमा रहेका विद्यालयको ठाउँमा नयाँ उस्तै गुणस्तरका विद्यालयहरु बनाउने छौं।ध्वस्त भएका स्वास्थ्य चौकीहरु थप साधन र स्रोत सहित पुनर्स्थापित हुनेछन्। ध्वस्त प्रहरी चौकीहरु बिउँतेर आउँदा त्यहाँ महिला शौचालयको समस्या हुनेछैन। सरकारले बस्ती विकासको एकीकृत योजना ल्याउनेछ। ब्यवस्थित बस्तीहरुमा आधारभूत सेवा र सुविधाहरु प्रभावकारी तरिकाले प्रदान गर्न सहज हुनेछ।
  • नेपाली निर्माण ब्यवसायीहरुको क्षमता बिस्तार हुनेछ। तिनले अत्याधुनिक उपकरणहरु भित्र्याउने छन्। नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगधन्दाको विकास हुनेछ।
  • भूकम्पले क्षतिग्रस्त सम्पदाहरुले नयाँ जीवन पाउने छन्। ती फेरी नयाँ प्रविधिमा आधारित भएर कम्तीका १०० बर्षको आयू लिएर ब्यूँतने छन्।
  • सरकारी बजेटको वितरण प्रणालीमा परिवर्तन हुनेछ। कनिका छराइबाट मुक्त गर्ने यो उपयुक्त मौका हुनेछ। दातृ राष्ट्रहरुले सहयोगको मुठ्ठी खोल्नेछन्। पुनर्निर्माणको लागि रकमको अभाव हुनेछैन।
  • बिदेशी सहयोग लिंदा सार्वभौमसत्ताको रक्षा गरेर कसरी लिन सकिन्छ भन्ने बारेमा हामी तयारी गर्न सक्नेछौं। विदेशको जोगी सिध्द गाउँको जोगी गिध्द ठान्ने आम नेपाली प्रबृत्तिमा सुधार आउनेछ।
  • नेताहरुले विपदको घडीमा कसरी जनताको आक्रोसबाट बच्दै जनमुखी कार्यक्रम अघि सार्ने भन्ने कुरा सिक्नेछन्।जनताले आफै पनि विपदको तयारी गर्न सिक्नेछन्।
  • नेपाली कर्मचारीतन्त्र जुम्स्याइँबाट मुक्त हुन उपयुक्त अवसर प्राप्त गर्नेछ। यसले विपद ब्यवस्थापनको प्रभावकारी तरिका सिक्नेछ।तिनमा हिम्मत, आँट, आशा, स्वाभिमान, जाँगर, इमान्दारिता, स्वयंसेवी भावनाको विकास हुनेछ।
  • हाम्रो नयाँ पुस्तामा स्वयंसेवाको भावना अद्भूत रुपले उदाउँदै गएको छ। भोलीका पुस्ताहरुमा यसको उत्साहजनक सकारात्मक प्रभाव पर्नेछ। देशको लागि निस्वार्थ सेवा भन्ने भावनाको प्रवल विकास हुनेछ।
यी केही उदाहरणहरु मात्र हुन्। यी तर्कहरुको तथ्यगत विश्लेषण अर्को लेखमा गरिने छ। यी सम्भावनाका अतिरिक्त अरु हजारौं सम्भावनाहरु छन्। धेरै राष्ट्रहरु ठूलो विपदबाट गुज्रने बित्तिकै नयाँ अठोट, साहस, प्रतिवध्दता, परिश्रम र फेनिक्स चरा झैं पुनरुत्थान र माथिल्लो तहको प्रगतिको बुलन्द सपनाले पुनर्स्थापित मात्र भएका छैनन् अझ उच्चस्तरको प्रगति हासिल गर्दै देशको कायापलट नै गरेका छन्।
असीम पीडाका बीच गुज्रीरहेका हामीहरुलाई यस प्रलयले नयाँ बिहानीको खोजी गर्ने उपयुक्त अवसर दिएको छ। छाडौ अब भ्रष्ट मनोवृत्ति, जुम्स्याईं, धरमर, अलमल र आफूलाई मात्र केन्द्रमा राख्ने प्रवृत्ति । हामी आफ्नै बलबुताबाट माथि उठ्न सक्छौं । यो देशको भाग्य बोकी आउने मान्छे कुनै विदेशी हैन। हामी आफै हौं।
 -लेखक अर्थ मन्त्रालयका उपसचिव हुन् ।

- See more at: http://setoparewa.com/2015/05/14/27565#sthash.rpe5Yxq4.dpuf

No comments:

Post a Comment