सिंगापुर सपना र नेतृत्व
पञ्चायतकालमा नेपालको बिकासका सम्बन्धमा एउटा निरपेक्ष नारा थियो नेपाललाई एसियाली मापदण्डमा पु-याउने । त्यसका मापक परिसूचकहरु के थिए भन्ने कुरा त यो नाराका प्रबर्तकलाई पनि थाहा नहुँदो हो । २०४६ को जनआन्दोलन पश्चात सिंगापुर र स्वीजरल्याण्ड बनाउने नारा आए । नेताहरुको ती देशमा भ्रमण पनि जारी छ । नयाँ नाराहरु सापेक्ष त होलान् तर ती नारालाई कार्यरुप दिन योजना, नेतृत्व र बातावरण बनाउन सक्ने क्षमतावान नेताको अभाव कहिले पुरा हुने हो वा यो केवल मृगतृष्णा मात्र सावित हुने हो, भविश्यको गर्भमै छ ।
कुनै पनि देशलाई सिंगापुर बनाउने या स्वाजिल्याण्ड बनाउने भन्ने कुरामा राजनैतिक नेतृत्वको मुख्य जिम्मेवारी हुन्छ । हामीले देख्ने गरेको सिंगापुर सपनालाई बुझ्न सिंगापुरको बिगत, यसले पाएको ओजस्वी नेतृत्व र यसको बर्तमान सम्मको यात्रालाई सर्सर्ती हेर्नु पर्ने हुन्छ ।
राजनीतिक ईतिहासको खुला शिक्षा यो हो कि प्रत्येक राजनेताको राजनैतिक भविश्यको अन्त असफलता वा हारबाट हुने गर्दछ तर कतिपय अपवाद हुन्छन् । ती मध्ये एक हुन् — आधुनिक सिंगापुरका परिकल्पनाकार ली कुआन यिउ । यो नामको चिनीया अर्थ हुन्छ —टाढासम्म फैलिएर चम्किने प्रकाश । साँच्चिनै आफ्नो नामको बिरासत थामे उनले —एउटा गुमनाम नगरराज्यलाई समृद्धिको प्रकाशले टाढाटाढासम्म चम्काएर । ३० बर्षसम्मको अबिच्छिन्न र अत्यन्त सफल प्रधानमन्त्रीकाल पुरा गरेर सन् १९९० मा प्रधानमन्त्रीबाट अवकाश लिएतापनि अझैंसम्म पनि सिंगापुरको राजनीतिका पर्दापछाडीका सर्बशक्तिमान खेलाडी उनै रहेका छन् , सन् १९९० देखि २००४ सम्म सिनीयर मिनिस्टर र २००४ देखि हालसम्म मिनिस्टर मेन्टरको रुपमा ।
बि.बि.सि.का सम्बाददाता आफ्नो सिंगापुर भ्रमणको अनुभवबारे लेख्छन् —“ आगन्तुकले यहाँ कमै गर्मी (या सर्दी) को अनुभव गर्न पाउँछन् ।...बातानुकुलित सवारी, वातानुकुलित किनमेल केन्द्र र वातानुकुलित होटलहरु...। एउटा सानो देश जहाँ विश्वकै ठूलाठूला बैंकहरु र गगनचुम्बी भवनहरु छन् । सिंगापुरका बस्ती र सडकमा कतै फोहोरको संकेत पाइँदैन ।”
सेप्टेम्बर १६, सन् १९२३ मा सिंगापुरको चीनियाँ मूलका परिवारमा जन्मेका ली को जन्म हुने बित्तिकै उनका हजुरबाले भनेका थिए रे — “यस नातीलाई कुनै पनि अंग्रेजसँग बराबरी गर्न सक्ने बनाउनु पर्छ ”। पोर्चुगिज पछि ब्रिटिश उपनिवेशको रुपमा रहेको सिंगापुरमा सन् १९४३ मा जापानी सेनाले कब्जा जमाएपछि त्यसबेला जापानी सेनाको क्रुरताबाट आफूले कहिल्यै नबिर्सिने पाठ सिकेको बताउने ली ले विश्वविद्यालयको शिक्षा भने हजुरबाको सपना पुरा गर्न बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट लिए । पढाइमा बिलक्षण तेजिला ली ले अध्ययनको समाप्ति पश्चात सन् १९५० को पूर्वाद्धमा सिंगापुर फर्केर कानूनी फर्म खोले । सन् १९५४ नोबेम्बर महिनामा बेलायतमा शिक्षित मध्यम बर्गीय चीनियाँहरु, जुन १९५० को पूर्बाद्धमा सिंगापुर फर्केका थिए, तिनीहरुसँग मिलेर “ पिपुल्स एक्सन पार्टी ” खोले । यो पार्टीले अधिकांश गरीव र गैर अंगे्रजी भाषी चिनीयाँहरुलाई आकर्षित ग¥यो । १९५९ मा सिंगापुर आन्तरिक स्वशासनका लागि स्वतन्त्र भयो र यसै बर्ष भएको आम निर्वाचनमा अत्यधिक बहुमतका सात उनको पार्टीले बिजय हासिल गरेपछि ३५ बर्षकै उमेरमा उनी सिंगापुरको प्रथम प्रधानमन्त्री भए । सन् १९६३ मा भएको जनमत संग्रहबाट ७१ प्रतिशतको बहुमतले सिंगापुरलाई मलेशिया (तत्कालीन मलाया) मा गाभियो तर नेतृत्व तहमा भएको तीब्र बिबादले सन् १९६५ मा मलेशियाले सिंगापुरलाई निष्कासन गरेको घोषणा ग¥यो । ली ले भनेका छन् — “मलेशियाको मुस्लिम सरकारले सिंगापुरलाई तलाक दियो” । यसरी सोही बर्ष संयुक्त राष्ट्र संघको सदस्यता पाएपछि सिंगापुरको नयाँ अध्याय शुरु भयो ।
स्पष्ट योजना र मिहीन शुरुवात
मूख्यतः आफू कानूनी क्षेत्रको ज्ञाता भएपनि उनले सर्वप्रथम शहरको दीर्घकालीन योजना तयार पारे । गरीबी र वासस्थानको अभाव झेलिरहेका सिंगापुरवासीलाई पब्लिक हाउजिङको ब्यवस्था गरेर बासको ठेगान लगाए । बिकासको शुरुवात कसरी गर्नुभयो त ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन् ः “सिंगापुरवासीलाई हामीले कसरी नम्र हुने, कसरी हल्ला अत्यन्त कम गर्ने, कसरी शिष्टाचार निभाउने, दिसा गरेपछि कसरी चर्पी सफा गर्ने, कसरी चुइगम चपाएर गाडीको सीटमुनी नचप्काउने (कानूनी रुपमा अझै पनि चुइगम आयात निषेध छ) जस्ता कुराहरु सिकायौं ।”
अर्थनीति
तेश्रो शताब्दी देखिको इतिहास भएको तर चौधौं शताब्दीमा श्रीविजय राज्यका राजकुमार परमेश्वरको शासनकालबाट बिशेष महत्वपूर्ण रहँदै आएको यसको आधुनिक इतिहास भने सन् १८१९ मा ब्रिटिश अधिग्रहण अन्तर्गत सर थोमस राफल्सले ब्रिटीश बन्दरगाहको रुपमा बिकास गरेपछि शुरु भएको पाइन्छ । त्यसपछि नै यो चीन तथा भारत दुबैको ब्यापारिक केन्द्र र दक्षिणपूर्बी एसियाको महत्वपूर्ण ब्यापारिक टापूको रुपमा फस्टाउँदै गएको हो । बिभिन्न उतारचढाव ब्यहोर्दै सन् १९५९ मा ब्रिटिश राजबाट पूर्ण आन्तरिक स्वशासन को अधिकार प्राप्त गरेपछि सन् १९६३ मा मलेशियामा गाभिएको सिंगापुरलाई आन्तरिक बिग्रह र मनमुटावका कारण मलेशियाले निष्काशन ग¥यो । त्यसपछि मात्र सिंगापुर एक सार्वभौमसत्तासम्पन्न मुलुक बन्न पुग्यो र यस सँगै आर्थिक एवं राजनैतिक सक्षमता प्रस्तुत गर्ने चुनौतीका साथै एकै चोटीे ठूलो बेरोजगारी र बासस्थानको अभावका समस्या सल्टाउनु पर्ने चुनौती आइलाग्यो ।
ली ले ब्यापक कर कटौती र कर छूटको ब्यवस्था गरेर बैदेशिक पूँजीलाई आकर्षित गरे । एकै चोटी २५००० आवास गृह बनाएर घरबारबिहीनहरुका समस्या सल्टाउँदै गए । खुला बजार अर्थनीतिको प्रयोग गरियो । बैदेशिक पूँजी प्रवेश सँगै रोजगारीका अवसरहरु र आन्तरिक आर्थिक गतिबिधिमा ब्यापक बृद्धि भयो । त्यस सँगै सिंगापुर एयरलाइन्सको स्थापना गरियो जसले हाल विश्वकै सर्वाधिक ठूला बिमानसेवाहरुमा आफूलाई उभ्याउन सफल भएको छ । यसले सिंगापुरको पर्यटन उद्योगमा गुणात्मक प्रभाव (मल्टिप्लायर इफेक्ट) पा¥यो र संसारकै आकर्षक र ठूला पर्यटन उद्योगमध्ये एक हुन पुग्यो । क्रमशः ठूला पब्लिक हाउजिङ फेसिलिटी निर्माण गरियो र बाँकी आवास समस्या पनि समाधान गरियो । ठूला ठूला बिदेशी तेल प्रशोधन कम्पनीहरु तथा इलेक्ट्रोनिक्स कम्पनीहरु सिंगापुर प्रवेश गरे लगत्तै सिंगापुरको अर्थतन्त्रले पछि फर्केर हेर्नु परेन । हाल सिंगापुर ३२८६७ अमेरिकी डलर प्रति ब्यक्ति आय सहित विश्वकै १८ औं धनी मुलुकमा दरिन पुग्यो (२००६ को तथ्यांक अनुसार) । एसियाकै सर्वाधिक कम भ्रष्टाचारयुक्त मुलुक, उच्च बिकसित बजार अर्थतन्त्र, विश्वकै सर्वाधिक ब्यापार÷बाणिज्य–मैत्री कर्मचारीतन्त्र सहितको अर्थतन्त्र र केवल २.४ प्रतिशत बेरोजगारी दर भएको सिंगापुरको २००६ को आर्थिक बृद्धिदर ७.९ प्रतिशत छ भने सो बर्ष ९७ लाख पर्यटकले सिंगापुरको भ्रमण गरेका थिए ।
राजनैतिक पक्ष
राजनैतिक सवालमा ली हार्डलाइनरको रुपमा देखा परे । जातीय द्वन्द्व र आन्तरिक अस्थिरताका बीच गुज्रेको एउटा सानो राज्यले थप द्वन्द्व धान्न सक्ने अवस्था पनि थिएन । लगातार अत्यधिक बहुमतमा रहेको ली को पिपुल्स एक्सन पार्टीलाई आफ्नो अभियानमा दृढतापूर्वक लाग्न सहज पनि भयो भने अर्कोतिर जातीय बिद्वेश फैलिने, धार्मिक सहिष्णुतामा खलल पुग्ने भाषणमा उनले प्रतिबन्ध समेत लगाए । ली सँग लिएको एक अन्तर्वार्तामा सन् १९६५ तिरको अवस्था बारे उनले भनेका छन् —“हामी अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिरहेका थियौं । हामीले चारैतिर शत्रुबाट घेरिएको इजराइलबाट पाठ सिक्यौं । हामीलाई नान्नी स्टेट भनिन्थ्यो... तर अहिले हामीलाई सबैले राम्रो ब्यवहार गर्छन् । अब हामीले आफूलाई प्रतिस्पर्धी बनाइ राख्न बिना कुनै सरकारी सुरक्षा–जाली जीवनको नयाँ बाटोमा चुनौती र खतरालाई सामना गर्ने कुराको शुरुवात गनुपर्छ । ”
निरपेक्ष राजनीतिक स्वतन्त्रका पक्षमा भने ली कडा रुपमा प्रस्तुत भएका छन् । सन् १९९१ मा जापानको आसाही शिम्बुनले आयोजना गरेको गोष्ठीमा बोल्दै उनले भनेका थिए —“ ब्यक्तिका निरपेक्ष स्वतन्त्रता तथा अधिकारले कहिलेकाँही सार्वजनिक सुरक्षा र नियम कानूनको निर्वाध पालनामा सम्झौता गर्नुपर्ने हुन्छ , राष्ट्र जब निश्चित तहको शिक्षा र औद्योगिकीकरणको तहमा पुग्छ, परस्पर बिरोधी स्वार्थ समूह भएका प्रतिनिधी समावेश भएको प्रतिनिधिमूलक सरकारको आवश्यकता पर्नसक्छ —ल एण्ड अर्डर कायम गर्नका लागि । ”
कानूनी पद्धतिका बारेमा पनि ली आफ्नो दृष्टिकोणमा स्पष्ट र दृढ देखिएका छन् । यसबारेमा सन् १९९८ मा सिंगापुर टाइम्समा एच्. एफ्. क्याङ, डब्ल्यू फर्नान्डिज र सुमिको तानले उनको भनाई उद्धृत गर्दै लेखेका छन् —“ल एण्ड अर्डरहरु पास गर्दै जानु दुखद आसा मात्र हुन्छ जबसम्म यस अघि पास गरेका कानूनहरुको निश्चित रुपमा पालना र स्थायित्व स्थापित भैसकेको हुँदैन ।” । क्याम्ब्रिज विश्वविद्यालयका गे्रजुएट भएतापनि त्यहाँको कानूनी प्रणालीमा रहेको जुरी सिस्टममा उनलाई बिश्वास नरहेको धारणा ब्यक्त गरेका छन् । यसले जुरीमेनहरुको अन्धबिश्वास, अज्ञानता, पक्षपात र पूर्वाग्रहलाई स्वीकृती दिन सक्ने उनको भनाइ रहेको छ । कडा दण्ड सजायले समाजमा अपराध बढाउँछ भन्ने एकथरिको तर्कमा उनको बिमति छ । उनी भन्छन् —“ अपराध र सजायमा नरम धारणाले अपराध घटाउँदैन भन्ने तर्क राख्नेहरुप्रति मेरो कहिल्यै विश्वास भएन ।” आफ्नो भनाइलाई पुष्टि गर्न उनले जापानले कब्जा गर्दाताका तिनीहरुले दिने क्रुर सजायको डरले सिंगापुरमा अपराधमा ठूलो कमी आएको कुरा औंल्याएका छन् । वास्तवमै सिंगापुरमा कानून अत्यन्त कडा छ । त्यसैले पनि होला, सिंगापुरलाई डिस्नेल्याण्ड अफ डेथ पेनाल्टी पनि भन्ने गरिन्छ । हुर्के बढेका छोराछोरीले आफ्ना बृद्ध आमाबाबुको हेरचाह गर्नै पर्ने कानूनी ब्यवस्था “मेन्टेनेन्स अफ प्यारेन्टस् एक्टले गरेको छ ।”
समावेशीकरण
समावेशीकरणको मूल मुद्धा उठाउँदै द्वन्द्वको भूमरीमा रुमल्लिइरहेको हाम्रो देशमा झैं सिंगापुरमा पनि बहुभाषी, बहुजातीय नागरिकहरुको बसोवास छ । जम्मा ७०४ बर्ग कि.मि. क्षेत्रफल भएको सिंगापुरमा पनि समावेशिकरणलाई ठूलो महत्व दिएको पाइन्छ । यसको लागि प्रतिनिधिमूलक संसदीय प्रणाली (वेष्टमिनिष्टर सिस्टममा आधारित) अपनाइएको पाइन्छ । ली को सरकारले बहुजातीय र बहुभाषिक बासिन्दाहरुलाई गोलबन्द गरेर एउटै साझा “सिंगापुरी” को परिचय दिए । वास्तवमा जातिबाद र बर्गबादका समस्या समृद्धिसँगै स्वतः हराएर जान्छन् ।
हाल हाम्रो देशमा सवैभन्दा चर्कोरुपमा उठाइएको सवाल भनेको समावेशीकरणको मुद्दा हो । ली ले यसबारेमा भनेका कुरा बारेमा सन् १९९८ मा सिंगापुर टाइम्सले लेखेको छ —“ जव शक्तिमा भएकाहरुले अल्पसंख्यकहरुलाई बेवास्ता गर्छन्, बाहिर पार्छन् वा अल्पसंख्यक समुदायका मुख्य ब्यक्तिहरुसँग शक्तिको बाँडफाँड गरेर देशको एकताको रक्षा गर्दैनन् (तब) सरकार असफलतातिर उन्मुख हुन र (देश) टुक्रिन बेर लाउँदैन ।”
शिक्षा
ली ले प्रधानमन्त्रीत्व ग्रहण गर्दा सिंगापुरमा ब्यापक निरक्षरता थियो । उनले अंग्रेजीलाई समेत सरकारी कामकाजको भाषा बनाए र आफ्ना नागरिकलाई बिकसित मुलुकसँग प्रतिपस्धी बनाउन अंग्रेजी शिक्षाको बिस्तारमा ब्यापक कार्यक्रम लागू गरे । ९५ प्रतिशत साक्षरता दर भएको सिंगापुरमा हाल आएर प्राथमिक शिक्षा अनिवार्य छ भने परम्परागत पाठ्यक्रमको भारमा ३० प्रतिशतले कटौती गरिएको छ । माध्यमिक तह पुरा गरेपछि विद्यार्थीले पोलटेक्निक्स या युनिभर्सिटी एउटा रोज्छन् । निजी तथा सरकारी विद्यालयको गुणस्तरमा कुनै भिन्नता छैन । १९९९ मा बिषेश योजना अन्तर्गत पुराना विद्यालय भवनहरु भत्काई नयाँ सुविधासम्पन्न भवनहरु निर्माण गरिएका छन् जसमा विद्यार्थीको चाप अनुसार कक्षाकोठालाई बढाउन वा घटाउन सकिन्छ । सिकाइको लागि अत्युत्तम वातावरण निर्माण गर्न आवश्यक भौतिक पुर्वाधारहरुको पर्याप्त ब्यवस्था गरिएको छ । बालबालिकालाई सिर्जनशील सोंचाइ र रचनात्मक क्रियाकलापमा बढी भन्दा बढी संलग्न गराइन्छ । बरु समस्याको रुपमा त शुरुशुरुमा अभिभावक नै देखिए । उनीहरुले आफ्ना नानीहरुलाई धेरै गृहकार्य, धेरै ट्यूसन र राम्रो नम्बर ल्याउन सधैं दवाव दिने गरेको खुलासा गर्दै निवर्तमान शिक्षा मन्त्रीले भनेका थिए —“ हामीले हाम्रा नानीहरुलाई तिनीहरुको क्षमताले भ्याएसम्मकै उत्तम र प्रतिस्पर्धी बनाउने प्रयत्न गर्नुपर्छ तर तिनीहरु तिनका अभिभावकका अवास्तविक प्रत्यासा र मागहरुलाई पुरा गर्न खोजेर तिनको क्षमता भन्दा पर धकेन्नु हुँदैन ।”
हुनत एउटा देशको मोडेल अर्को देशमा हुवहु अपनाउन त सकिंदैन तर पनि हाम्रो देशमा हाल विद्यमान अराजकता नियन्त्रणका लागि कठोर दण्डप्रणाली, समावेशीकरणका लागि ब्यापक सहभागितामूलक प्रतिनिधित्व, विकास निर्माणका लागि दीर्घकालीन र स्पष्ट योजना, अनुशासित र कर्मशीलतामा जोड, जातीय बिद्वेश फैलाउने बिरुद्ध कडा कारवाहीको ब्यवस्थाजस्ता कैयन कुराहरु छन् जुन नेपालले पनि अनुसरण गर्नसक्छ । हुनत आलोचकहरुले एकदलीय अधिनायकत्व चलाएको, वाक्स्वतन्त्रतामा नियन्त्रण गरेका जस्ता आरोप पनि ली लाई लगाएका छन् तर के चाँही स्पष्ट हो भने त्यसो नभएको भए शायदै आजको सभ्य, समृद्ध र सबल सिंगापुर बन्दो हो ।
सन्दर्भ सामग्रीहरुः
द सिंगापुर स्टोरीः मेमोरिज अफ ली कुआन यिउ
सिंगापुर टाइम्सका बिभिन्न अंकहरु
अग्ली जापानिज , फ्राइडम्यान बर्तु
विकीपेडियाः द फ्रि इन्साइक्लोपेडिया इत्यादि ।

No comments:
Post a Comment