Tuesday, January 31, 2012

भूटानी शरणार्थी तेस्रो देश पुनर्स्थापनाका स्वार्थहरू

 (यो लेख सन् २००८ मे महिनामा नेपाल जापान डटकममा प्रकाशित भएको थियो । समयत्रम सँगै शरणार्थीहरू तेस्रो देश पुनःस्थापनामा लगिए । शरणार्थी आन्दोलन कमजोर बन्दै गएको परिप्रेक्ष्यमा कसरी यो आन्दोलन तुहाउन थरिथरीका भूमिका खेलिएका थिए भन्ने बुझ्न सहयोगी हुने लागेकोले पुनः उध्दरण गरिएको हो)

भूटानी शरणार्थी तेस्रो देश पुनर्स्थापनाका स्वार्थहरू
“हालैका बर्षमा जापानले बिदेशीहरुको आगमन र बसोवासमा नरम नीति अपनाएको हो ?” प्रश्न गरियो— योकोहामा युनिभर्सिटीका एकजना प्राध्यापकसँग । “अवश्य ! तर ,” उनले भने — “ जवसम्म तपाईं हाम्रो दैनिकीलाई दखल पु¥याउनु हुन्न, जवसम्म तपाईं हाम्रा छोराछोरीले प्रतिस्पर्धा गर्ने जागीरमा प्रतिस्पर्धी बनेर आउनुहुन्न र जवसम्म तपाईं हाम्रो संस्कृतिमा दखल पु¥याउनु हुन्न, तबसम्म मात्र” ।

यस प्रसंगले निकट भविश्यमा अमेरिकाको निगाहमा अमेरिका लगायतका युरोपियन देशहरुमा पुनस्र्थापनाको तयारी भै रहेको भूटानी शरणार्थीको दीर्घकालीन परिणामको सानो झझल्को दिन्छ । अवश्य पनि बिगत १७ बर्षदेखि राज्यबिहीन भएका भूटानी शरणार्थीहरुको भागिरथ प्रतिक्षाको पीडा, तिनका नयाँ सन्ततिको निर्दोष बालमष्तिष्कमा जन्मजात थोपरिएको अनागरिकको भयावह दुस्वप्न, तिनका शिक्षा, रोजगारी र नागरिक हैसियतको अभाव र अनिश्चितताको पीडा अकल्पनीय छ । भोग्नेहरुलाई मात्र थाहा छ, त्यस पीडाले उनीहरुलाई रातदिन कति डसिरहेछ । अझ कति डसिरहने हो त्यसको अनिश्चितताको कल्पना मात्रले पनि अझ कहाली लाग्दो भविश्य दृष्टिगोचर हुँदा तेश्रो देशमै गएर बरु आफ्नो रोजीरोटी गरेर बाँच्न पाए पनि हुँदो हो भन्ने भावना कतिपयमा प्रबल हुनुलाई अन्यथा मान्न सकिन्न ।

के प्रजातन्त्र र मानव अधिकारको बिश्वप्रवक्ता (स्वघोषित?) अमेरिका निस्वार्थः दयालु भएर ६०००० भूटानी शरणार्थीहरुलाई देश भित्राउन खोजेको हो ? अवश्य पनि मानवीयताको भावनामा पुरै शंका गरिहाल्न त सकिदैन तर पनि यस्ता कैयन यक्ष प्रश्नहरु छन् जसको उत्तर तेश्रो मुलुकमा पुनर्थापना लागि तयार हुनु अगावै खोजिनु पर्छ ।

हुनत अमेरिका आफैमा आप्रवासीहरुको देश हो । यस हिसाबले पनि आप्रवासीप्रति अमेरिका तुलनात्मक रुपले उदार देखिन्छ । तर पनि जापानी प्राध्यापकले भनेझैं जवसम्म तपाईं पूर्ण नागरिकका अधिकार प्रयोेग गर्नहुन्न , अर्थात तपाईं रैथाने बासिन्दाका समकक्षी प्रतिस्पर्धा गर्न खोज्नुहुन्न , आफ्नो निजत्व लागु गर्ने प्रयास गर्नुहुन्न  तवसम्म त्यहाँ अवश्य बस्न सक्नुहुन्छ । मानौं तपाईंहरुलाई अमेरिकी नागरिकसँग कुनै कुरामा पनि कमी हुन दिइएन, के तपाईं त्यहाँ तपाईंको आफ्नोपन पाउनुहुन्छ ? के तपाईं आफ्नो देशमा जस्तै राजनीतिक प्रतिस्पर्धा गर्नसक्नु हुन्छ ? के तपाईं त्यहाँ उच्च ओहदामा पुग्ने र स्वाभिमानपूर्बक बाँच्ने कल्पना गनुहुन्छ ? तपाईं त्यहाँ  आजीवन अनुगृहित भएर बस्नुपर्नेछ र तपाईंका सन्तानहरुपनि । सधैं खुम्चिएर, कुँडिएर ।

आखिर किन अमेरिका भूटानी शरणार्थीहरु प्रति यति दयालु देखिएको छ त ? यो दयालुपना शरणार्थीहरुप्रति हो या निरंकुश भूटानी शासकहरुप्रति ? अमेरिका जसले इराकमा, अफगानिस्तानमा र अन्य बिभिन्न ठाउँमा मानव अधिकार र प्रजातन्त्रको नारा दिएर तबाह पार्नसक्छ तर सवालाख भूटानीले करीव दुई दशकसम्म राज्यबिहीन हुँदा उनीहरु लुटिंदा, मारिंदा तिनका पक्षमा कत्तिको आवाज उठाएको छ ? अझै पनि भूटान जाने पर्यटकलाई नेपालीभाषी भएका दक्षिणी बस्तीहरुमा जान दिइँदैन (तिनीहरुमाथि गरिएको अत्याचारको पोल खुल्ला भनेर) त्यो कुरामा के अमेरिका अनभिज्ञ छ ?

शरणार्थी अमेरिका लगेर उसले आफ्नो देशमा औद्योगिकीकरण प्रक्रियामा अभाव हुँदै गएको निम्नस्तरको सीपबिहीन जनशक्ति, जुन उसको आर्थिक समृद्धिका अपरिहार्य हुन्छ (किनकि रैथाने अमेरिकीहरु “मसल” मा आधारित श्रम गर्न तयार छैनन, तिनीहरुले पाएका शिक्षाका अवसरले पनि तिनीहरुलाई मष्तिष्कमा आधारित श्रम गर्न बाटो खोलेको छ) त्यो अभाव सोझा र मिहिनेती शरणार्थीबाट पुरा गर्न चाहन्छ । डि.भि.चिठ्ठाको पनि आशय के त्यही त होइन ? अर्कोतिर यसको राजनैतिक पल्ला अझ गहु«ंगो छ । भारतले टुलुटुलु हेर्ने र उसले भारतको डिफ्याक्टो सुरक्षा छाता (कानूनत ः गत फेब्रुअरीको भूटान—भारत मैत्री सन्धीले भूटानको सार्वभौमसत्तामा प्रश्न उठाउने ठाउँ रहेन ) का नागरिकहरुलाई आफ्नो देशतिर डो¥याएर आफ्नो बिश्वब्यापी प्रभावलाई थप बलियो बनाउन चाहन्छ भने उसको यथास्थितिबादी शक्ति प्रतिको अटुट आस्थालाई कायम गर्दै भूटानी निरंकुश शासकलाई बक्सिस दिन चाहन्छ थप जातीय र धार्मिक सफायाको बाटोमा अघि बढ्न । यसको लागि भूटानी शरणार्थी मार्फत भूटानमा बढ्दै गैरहेको कम्यूनिष्ट प्रभाव भन्ने काल्पनिक बहाना पनि मिल्दै गएको छ , जुन उसको लागि सधैं कडा एलर्जीको रुपमा रहेको छ ।

के अमेरिका भूटानमा हालका राजबंशको प्रथम राजाले सन् १९०७ मा राज्यारोहण गर्नु अगावै नै त्यहाँका दुई मध्ये एक शक्तिकेन्द्र , पारोको राज्य संचालनकर्ता नेपालीभाषी भूटानी थिए भन्ने कुरामा अनभिज्ञ छ ? के त्यतिबेला नै भूटानको सरकारी कामकाजको भाषा नेपाली थियो भन्ने १०० बर्ष पुराना प्रमाण (जुन शरणार्थीले यस्तो हण्डर र ठक्कर हुँदा, आफ्ना घरमा आगो लगाइदिंदा र जनगणनाको नाममा अत्याचारी खेतालाहरुबाट प्रमाण मागेर नष्ट गरिदिंने लगायतका समस्याका बाबजूद पनि अझै बोकिरहेका छन् ) प्रति जानकार छैन ? के अझैपनि भूटानमा रहेका नेपालीभाषी नागरिकलाई प्रहरी तथा सेनामा भर्ना लिन सन् १९९० देखिनै प्रतिबन्ध लगाइएको छ , सरकारी सेवामा नयाँ प्रवेश दिइएको छैन भन्ने प्रति जानकार छैन ? यी अन्याय अमेरिकाको परिभाषाको नागरिक अधिकार र प्रजातन्त्रको हनन भित्र पर्छन् कि पर्दैनन् ? यसको बिरुद्धमा अमेरिकाले कत्तिको आवाज उठाएको छ ? अहिलेको दयालुभाव (?) प्रदर्शनले जातीय र धार्मिक सफायाका लागि बिश्वब्यापी रुपमा पूठ दिन्छ कि दिंदैन ? यसले प्रत्येक देशमा रहेका अल्पसंख्यकहरुमा असुरक्षाको वातावरण सिर्जना गर्छ कि गर्दैन ? कि बिश्वभरका निरंकुश शासकले लखेटेर राज्यबिहीन पारेका नागरिकहरु सबैलाई अमेरिकाले आफ्नो देशमा लैजाने हो ? यदि त्यसै हो भनेपनि लाखौं इराकी, अफगान र प्यालेष्टिनी तथा अफ्रिकाका बिभिन्न देशमा अत्याचार र त्रासमा भागाभाग गरिरहेका लाखौं शरणार्थीहरुलाई पनि उसले लैजाला नै ।

यी प्रश्नहरुले भूटानी शरणार्थीहरुमा अमेरिकाप्रति नकारात्मक भावना उब्जाउन खोजिएको होइन ( त्यस्तो अर्थ नलागोस्)
न त अमेरिकाको भूटानी शरणार्थी प्रतिको सदाशयतामाथि प्रश्न उठाउन खोजिएको हो । यो त प्रबृत्तिको बिरोध हो । अमेरिकाले भूटानी शासकको अत्याचारबिरुद्ध मौन रहँदा भूटानी नागरिकले भोग्नुपरेको पीडाको मूल्य भूटानी शरणार्थीहरुलाई आफ्नो देशमा लैजाने आश्वासनले चुक्ता हुन्छ ? यो त सिधैं निरंकुश शासकलाई तिम्रो बाटाको काँडा म मिल्काइदिएँ, ल अकण्टक आफ्नो यात्रामा अघि बढ भनेर नैतिक बल दिएको होइन ? जुन देशका राजदूतले नेपालका आर्मी ब्यारेक ब्यारेक चाहार्न भ्याउँछन्् त्यो देशले भूटानी निरंकुश शासकलाई जातीय सफाया रोक्न खेलेको भूमिका कहाँनिर छ ?

अमेरिकी सरकारको सहयोगको प्रबृत्ति पनि उत्तिकै गजबको छ । इराक ध्वंसका लागी खर्बौ डलर खर्च गर्ने देशले, नेपालमै पनि द्वन्दकालमा हतियारका लागि करोडौं सहयोग दिने देशले हालै नेपालमा आएको बिनासकारी बाढीले घरबार गुमाएका, भोकले मर्मान्त भएका लाखौंलाख बाढीपीडितको लागि भने पुरै पचास हजार डलर सहयोग गर्छ ( हुनत सहयोग दिनुपर्ने बाध्यता छैन , १ रुपियाँ दिएपनि उसको खुसीको कुरा हो ) । अमेरिकी सरकारले आफ्ना नागरिकबाट उठाएको करबाट गर्ने खर्च कस्ता क्षेत्रमा गरिरहेको छ, सबैले बुझेकै कुरा हो ।

अर्कोतिर भारत छ, जसले ट्रकमा मालसामान लादेझैं लादेर भूटानबाट नेपाल ल्याई घोप्टाएका शरणार्थी जब सोहीबाटो आफैं हिडेर फर्कन चाहन्छन् तिनमाथि क्रुरतम रुपमा प्रस्तुत भएर निरन्तर तिनका स्वदेश फिर्ति प्रकृयामा मुख्य बाधक बनिरहेको छ । हालैको प्रणव मुखर्जीको जिओडेमोग्रफीक बिश्लेषणले अर्को जगहँसाइ गरेको छ । भूटान, जुन बिश्वकै सर्वाधिक कम जनघनत्व हुने देशहरुमध्ये एक हो ( ४५प्रति बर्ग कि.मी.) त्यहाँ त्यही देशका नागरिक फर्कंदा जनसंख्या असन्तुलन हुने तर्क गर्छन् । मुखर्जी गणितले शरणार्थीप्रति भारतीय ब्यूरोपोलिटिक्सको रवैया कस्तो छ भन्ने स्पष्ट पार्छ । गत राष्ट्रपतीय चुनावमा एक पटक प्रस्तावित उम्मेदवार समेत भैसकेका बिद्वान कूटनीतिज्ञ मुखर्जीको यो गणितको लज्जास्पद प्रस्तुतिकरणले भारत नै यो समस्यालाई अल्झाउन चाहन्छ भन्ने तर्कलाई नै बल पु¥याउँछ । के छिमेकीको परिवारमा कलह हुँदा मिलाउन जानुको साटो कुनै एक सदस्यमाथि अत्याचार हुँदा पीडकको  पक्षमा लाग्नु असल छिमेकीको धर्म हो ? के मरिसस्, फिजी, ट्रिनिडाड एण्ड टोबेगो लगायतका बिभिन्न देशहरुमा रहेका भारतीय मूलका वा हिन्दीभाषी नागरिकलाई ती देशबाट भूटानी शरणार्थीलाई भूटानबाट लखेटेझैं लखेट्ने हो भने भारतको भूमिका यस्तै हुनेछ ? सवा अर्व नागरिकहरुहरु सहित सयौं जातजाति र भाषाभाषीयुक्त प्रजातन्त्रबादी भारत, जसले प्रधानमन्त्री र सत्तारुढ दलका सर्वाधिकारसम्पन्न नेता तथा हालै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा जुन किसिमको ऐतिहासिक धार्मिक एवं जातीय समावेशीकरण देखाउन सफल भएको छ, उसैले भूटानबाट नेपालीभाषी र हिन्दूधर्मावलम्बी नागरिकहरुलाई राज्यबिहीन बनाउँदा उल्टै निरंकुश सरकारको समर्थन गरेर नेपालीभाषीको स्वदेश फिर्तीमा भाँजो हाल्नु कत्तिको सुहाउने कुरा हो ? के श्रीलंकामा अल्पसंख्यक तमिलहरुलाई पाखा लगाउने प्रयासबाट शुरु भएको त्यहाँको भयानक गृहयुद्धबाट भारतले पाठ सिक्नु पर्दैन ? २१ औं शताब्दिको लोकतन्त्रको मुख्य संकेत नै ब्यापक समावेशीकरण र अल्पसंख्यकका पक्षमा राज्यले दिएको सम्मानजनक ब्यवहार हो । के नेपालीभाषीको भूटानबाट उन्मूलनले भारतको समृद्धि र सुरक्षालाई सबल बनाउँछ ? भारतले भूटानका एकथरी नागरिकलाई डमी चुनावको लागि ईलेक्ट्रोनिक भोटिङ मेसिन र अर्काथरी नागरिकलाई आफ्नो देश प्रवेश गर्न खोज्दा लाठी र गोली बर्साउनु कस्तो प्रजातान्त्रिक अभ्यास हो ?

जुन देशले आफ्ना २५ प्रतिशतभन्दा बढी नागरिकलाई सर्वस्वहरण सहित देश निकाला गरेको छ त्यही देशले ग्रस नेशनल हेप्पीनेश (खूद राष्ट्रिय खुशी) मापन गरेर आफ्नो देशमा ह्यापीनेश स्टान्डर्ड उच्च भएको नाटक गर्छ । संसदीय प्रजातन्त्रको पपेट ड्रामा गर्छ त्यसैलाई भूटानमा भएको प्रजातन्त्रप्रतिको अग्रगामी पाइला भनेर डङ्का पिट्ने भारतीय संचार माध्यमले शरणार्थीका पक्षमा सिन्को भाँच्न त परै जाओस् उल्टो नकारात्मक प्रचारबाजी गर्दा प्रजातन्त्रको वकालत ठान्दा हुन् ।

चिन्ताको बिषय हो —भूटानी शरणार्थीहरुको बहुलता रहेका भनिएको भूटान कम्यूनिष्ट पार्टी (माओबादी) ले हतियारको बलबाट संघर्ष अघि बढाउन खोजेको हल्ला । यो नै अमेरिकाले भूटानमा कम्यूनिष्ट प्रभाव हावी हुन नदिन शरणार्थी तेश्रो देशमा पुनर्वास गराउन जोड दिनुको कारण हो भन्ने एकथरिको तर्कलाई बल पु¥याउँछ । अमेरिका र भारतले श्रीलंकाको उदाहरणबाट नै पनि के बुझ्न सक्छ भन् हतियारबन्द बिद्रोहको लागि कम्यूनिष्ट नै हुन नपर्ने रहेछ । वास्तवमा हतियारबन्द आन्दोलनको हल्लाले भूटानी शरणार्थीको पल्ला कमजोर पार्न प्रत्यक्ष परोक्ष भूमिका खेल्ने हुनाले शरणार्थी नेताहरु सचेत हुनैपर्छ । यदि शान्तिपूर्बक पुकारिएका हजार आवाज पनि सुन्न कोही तयार हुँदैनन् भने त्यस अवस्थामा शरणार्थीहरुलाई आफ्नो अस्तित्वको अन्तिम लडाईंका लागि के गर्नुपर्छ, तिनीहरुले निर्णय गर्नसक्छन् । हिंसाको प्रयोग सभ्य समाजका लागि शोभनीय हुँदैन (चाहे जो सुकैले जे सुकै नाममा गरेको होस्)

भर्खरै नेपालका लागि अमेरिकी राजदूत नान्सी पावेल नेपाल आएकी छिन् । उनी एउटी नारी भएकोले पनि राज्यहीन नारीको, तिनले सन्तान हुर्काउन गर्नुपरेको संघर्षको, तिनका नानीहरुले स्कूल जान नपाउँदाको र तिनका पति र हुर्के बढेका छोराहरुले काम नपाएर जुवा तासमा दिन काटिरहँदाको र आफन्तहरुको क्रुर हत्याको पीडाको कल्पना गर्नसक्छिन् । आफ्नो पोत्ने चुलो र बच्चा खेल्ने आँगन नहुँदाको दर्द महिलालाई कति हुन्छ अनुमान गर्न सक्छिन् (भलै उनले चुलो पोत्ने कुरा नबुझ्लिन् ) । शरणार्थीप्रतिका अत्याचारका फेहरिस्त बुझ्न उनलाई टेक नाथ दाहालको निर्वासन ग्रन्थका दस्तावेज बढाइचढाई लाग्छ भने एकताका भूटानी शाही परिवारका पाहुना भै भूटान भ्रमण गरेका माइकल हट को अनबिकमिङ सिटिजन पढून (नपढेकी भए) । अमेरिकाका लागि भूटानी शरणार्थी आफ्नो देशमा लगेर भारतलाई खुच्चिङ्ग भनेर कुनै फाइदा हुनेछैन, खास गरी उसको प्रजातन्त्रको प्रवक्ताको प्रस्तुतिका लागि । बरु भारतका केही नेताहरु (जुन सधैं त्यहाँको रुढीबादी कर्मचारीतन्त्रबाट प्रभावित देखिएका छन् ) लाई समेत बिश्वासमा लिएर भूटानी शरणार्थी स्वदेश फिर्ती र सम्मानजनक बसाइको लागि अबिलम्ब कदम चाल्न उनको सरकारसँग आवश्यक कदम चाल्न सक्छिन् । त्यति भए यो समस्या छिनभरमा समाधान हुनेछ  र स्वार्थप्रेरित तेश्रो देशमा पुनस्र्थापनाको दोषबाट ऊ मुक्त हुनेछ ।

शरणार्थीहरुको आन्दोलन शसक्त हुन सकेका छैनन् । ती बर्षौंको निरासाले थाकेका, गलेका र निरीह देखिएका छन् । मेचीपुलमा तिनको शान्तिपूर्ण अभियानमा भारतीय सुुरक्षाबलबाट गोली हानेर एक भूटानीे शहीद भएपछि भारतको अन्तराष्ट्रिय छबिमा कालो धब्बा लागेको छ । तर भूटानी घरफिर्ती अभियानलाई ठूलो बल दिएको छ (यदि त्यो हिंसात्मक आन्दोलनको क्रममा भएको भए भूटानी शरणार्थीको बिपक्षमै हुने थियो ) । भारतका सीताराम यचुरी लगायतका हस्तीहरुले शरणार्थीहरको स्वदेशफिर्ती अभियानमा तीब्रता दिएर भारतमाथि लागेको कलंक मेट्न सक्छन् । सर्बशक्तिमान सत्तारुढ दलकी नेतृ सोनिया गान्धीले यो अन्यायको अन्तका लागि पहल गरेर आफ्नो उचाइलाई अझ उन्नत बनाउने बेला भएको छ अहिले । भर्खरै भारतले शरणार्थी समस्यामा चासो दिएको भान पारेपनि शब्द छनौटमा समेत कन्जुस्याई गरी “नेपालका शिविरमा रहेका भूटान फर्कन चाहने शरणार्थी” भनेर सम्बोधन गरेको छ, “भूटानी शरणार्थी” सम्म पनि सिधै भन्न सकेको छैन । निकट भविश्यमै शरणार्थीहरुको भाग ( नेपाली रुढ शब्दमा बिलो ) लगाइदै छ र ती भागहरु बिभिन्न देशमा अनुगृहित हुँदै तत्तत् देशमा श्रमिक बन्न पछि लाग्नुपर्नेछ । अवश्य पनि ज्यान सबैलाई प्यारो लाग्छ तर पुस्तौं पुस्ता मरेसरह बाँच्नु भन्दा न्यायका लागि, आफ्ना पुर्खाको बिरासतका लागि र तिनका रगत पसिना बगेका भूमिको सम्मानका लागि पनि भूटानीहरु आफ्नो देश फर्कर्नै पर्छ । लुत्र ेकान लगाएर कसैको निगाहमा उसका पछि लागेर आजीवन अनुगृहित जीवन बाँच्नु भन्दा त आफ्नो देश र जातिको लागि मर्नु कता हो कता अमूल्ृय हुन्छ ।

जुकेना २, अर्घाखाँची
हाल ः योकोहामा, जापान

Monday, January 16, 2012

सिंगापुर सपना र नेतृत्व

सिंगापुर सपना र नेतृत्व

पञ्चायतकालमा नेपालको बिकासका सम्बन्धमा एउटा निरपेक्ष नारा थियो नेपाललाई एसियाली मापदण्डमा पु-याउने । त्यसका मापक परिसूचकहरु के थिए भन्ने कुरा त यो नाराका प्रबर्तकलाई पनि थाहा नहुँदो हो । २०४६ को जनआन्दोलन पश्चात सिंगापुर र स्वीजरल्याण्ड बनाउने नारा आए । नेताहरुको ती देशमा भ्रमण पनि जारी छ । नयाँ नाराहरु सापेक्ष त होलान्  तर ती नारालाई कार्यरुप दिन योजना, नेतृत्व र बातावरण बनाउन सक्ने क्षमतावान नेताको अभाव कहिले पुरा हुने हो वा यो केवल मृगतृष्णा मात्र सावित हुने हो, भविश्यको गर्भमै छ ।
कुनै पनि देशलाई सिंगापुर बनाउने या स्वाजिल्याण्ड बनाउने भन्ने कुरामा राजनैतिक नेतृत्वको मुख्य जिम्मेवारी हुन्छ । हामीले देख्ने गरेको सिंगापुर सपनालाई बुझ्न सिंगापुरको बिगत, यसले पाएको ओजस्वी नेतृत्व र यसको बर्तमान सम्मको यात्रालाई सर्सर्ती हेर्नु पर्ने हुन्छ ।
राजनीतिक ईतिहासको खुला शिक्षा यो हो कि प्रत्येक राजनेताको राजनैतिक भविश्यको अन्त असफलता वा हारबाट हुने गर्दछ तर कतिपय अपवाद हुन्छन् । ती  मध्ये एक हुन् — आधुनिक सिंगापुरका परिकल्पनाकार ली कुआन यिउ । यो नामको चिनीया अर्थ हुन्छ —टाढासम्म फैलिएर चम्किने प्रकाश । साँच्चिनै आफ्नो नामको बिरासत थामे उनले —एउटा गुमनाम नगरराज्यलाई समृद्धिको प्रकाशले टाढाटाढासम्म चम्काएर । ३० बर्षसम्मको अबिच्छिन्न र अत्यन्त सफल प्रधानमन्त्रीकाल पुरा गरेर सन् १९९० मा प्रधानमन्त्रीबाट अवकाश लिएतापनि अझैंसम्म पनि सिंगापुरको राजनीतिका पर्दापछाडीका सर्बशक्तिमान खेलाडी उनै रहेका छन् , सन् १९९० देखि २००४ सम्म सिनीयर मिनिस्टर र २००४ देखि हालसम्म मिनिस्टर मेन्टरको रुपमा ।

बि.बि.सि.का सम्बाददाता आफ्नो सिंगापुर भ्रमणको अनुभवबारे लेख्छन् —“ आगन्तुकले यहाँ कमै गर्मी (या सर्दी) को अनुभव गर्न पाउँछन् ।...बातानुकुलित सवारी, वातानुकुलित किनमेल केन्द्र र वातानुकुलित होटलहरु...। एउटा सानो देश जहाँ विश्वकै ठूलाठूला बैंकहरु र गगनचुम्बी भवनहरु छन् । सिंगापुरका बस्ती र सडकमा कतै फोहोरको संकेत पाइँदैन ।”

सेप्टेम्बर १६, सन् १९२३ मा सिंगापुरको चीनियाँ मूलका परिवारमा जन्मेका ली को जन्म हुने बित्तिकै उनका हजुरबाले भनेका थिए रे — “यस नातीलाई कुनै पनि अंग्रेजसँग बराबरी गर्न सक्ने बनाउनु पर्छ ”। पोर्चुगिज पछि ब्रिटिश उपनिवेशको रुपमा रहेको सिंगापुरमा सन् १९४३ मा जापानी सेनाले कब्जा जमाएपछि  त्यसबेला जापानी सेनाको क्रुरताबाट आफूले कहिल्यै नबिर्सिने पाठ सिकेको बताउने ली ले विश्वविद्यालयको शिक्षा भने हजुरबाको सपना पुरा गर्न बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट लिए । पढाइमा बिलक्षण तेजिला ली ले अध्ययनको समाप्ति पश्चात सन् १९५० को पूर्वाद्धमा सिंगापुर फर्केर कानूनी फर्म खोले । सन् १९५४ नोबेम्बर महिनामा बेलायतमा शिक्षित मध्यम बर्गीय चीनियाँहरु, जुन १९५० को पूर्बाद्धमा सिंगापुर फर्केका थिए, तिनीहरुसँग मिलेर “ पिपुल्स एक्सन पार्टी ” खोले । यो पार्टीले अधिकांश गरीव र गैर अंगे्रजी भाषी चिनीयाँहरुलाई आकर्षित ग¥यो । १९५९ मा सिंगापुर आन्तरिक स्वशासनका लागि स्वतन्त्र भयो र यसै बर्ष भएको आम निर्वाचनमा अत्यधिक बहुमतका सात उनको पार्टीले बिजय हासिल गरेपछि ३५ बर्षकै उमेरमा उनी सिंगापुरको प्रथम प्रधानमन्त्री भए । सन् १९६३ मा भएको जनमत संग्रहबाट ७१ प्रतिशतको बहुमतले सिंगापुरलाई मलेशिया (तत्कालीन मलाया) मा गाभियो तर नेतृत्व तहमा भएको तीब्र बिबादले सन् १९६५ मा मलेशियाले सिंगापुरलाई निष्कासन गरेको घोषणा ग¥यो । ली ले भनेका छन् — “मलेशियाको मुस्लिम सरकारले सिंगापुरलाई तलाक दियो” । यसरी सोही बर्ष संयुक्त राष्ट्र संघको सदस्यता पाएपछि सिंगापुरको नयाँ अध्याय शुरु भयो ।

स्पष्ट योजना र  मिहीन शुरुवात
मूख्यतः आफू कानूनी क्षेत्रको ज्ञाता भएपनि उनले सर्वप्रथम शहरको दीर्घकालीन योजना तयार पारे । गरीबी र वासस्थानको अभाव झेलिरहेका सिंगापुरवासीलाई पब्लिक हाउजिङको ब्यवस्था गरेर बासको ठेगान लगाए । बिकासको शुरुवात कसरी गर्नुभयो त ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन् ः “सिंगापुरवासीलाई हामीले कसरी नम्र हुने, कसरी हल्ला अत्यन्त कम गर्ने, कसरी शिष्टाचार निभाउने, दिसा गरेपछि कसरी चर्पी सफा गर्ने, कसरी चुइगम चपाएर गाडीको सीटमुनी नचप्काउने (कानूनी रुपमा अझै पनि चुइगम आयात निषेध छ) जस्ता कुराहरु सिकायौं ।”

अर्थनीति
तेश्रो शताब्दी देखिको इतिहास भएको तर चौधौं शताब्दीमा श्रीविजय राज्यका राजकुमार परमेश्वरको शासनकालबाट बिशेष महत्वपूर्ण रहँदै आएको यसको आधुनिक इतिहास भने सन् १८१९ मा ब्रिटिश अधिग्रहण अन्तर्गत सर थोमस राफल्सले ब्रिटीश बन्दरगाहको रुपमा बिकास गरेपछि शुरु भएको पाइन्छ । त्यसपछि नै यो चीन तथा भारत दुबैको ब्यापारिक केन्द्र र दक्षिणपूर्बी एसियाको महत्वपूर्ण ब्यापारिक टापूको रुपमा फस्टाउँदै गएको हो । बिभिन्न उतारचढाव ब्यहोर्दै सन् १९५९ मा ब्रिटिश राजबाट पूर्ण आन्तरिक स्वशासन को अधिकार प्राप्त गरेपछि सन् १९६३ मा मलेशियामा गाभिएको सिंगापुरलाई आन्तरिक बिग्रह र मनमुटावका कारण मलेशियाले निष्काशन ग¥यो । त्यसपछि मात्र सिंगापुर एक सार्वभौमसत्तासम्पन्न मुलुक बन्न पुग्यो र यस सँगै आर्थिक एवं राजनैतिक सक्षमता प्रस्तुत गर्ने चुनौतीका साथै एकै चोटीे ठूलो बेरोजगारी र बासस्थानको अभावका समस्या सल्टाउनु पर्ने चुनौती आइलाग्यो ।
ली ले ब्यापक कर कटौती र कर छूटको ब्यवस्था गरेर बैदेशिक पूँजीलाई आकर्षित गरे । एकै चोटी २५००० आवास गृह बनाएर घरबारबिहीनहरुका समस्या सल्टाउँदै गए । खुला बजार अर्थनीतिको प्रयोग गरियो । बैदेशिक पूँजी प्रवेश सँगै रोजगारीका अवसरहरु र आन्तरिक आर्थिक गतिबिधिमा ब्यापक बृद्धि भयो । त्यस सँगै सिंगापुर एयरलाइन्सको स्थापना गरियो जसले हाल विश्वकै सर्वाधिक ठूला बिमानसेवाहरुमा आफूलाई उभ्याउन सफल भएको छ । यसले सिंगापुरको पर्यटन उद्योगमा गुणात्मक प्रभाव (मल्टिप्लायर इफेक्ट) पा¥यो र संसारकै आकर्षक र ठूला पर्यटन उद्योगमध्ये एक हुन पुग्यो । क्रमशः ठूला पब्लिक हाउजिङ फेसिलिटी निर्माण गरियो र बाँकी आवास समस्या पनि समाधान गरियो । ठूला ठूला बिदेशी तेल प्रशोधन कम्पनीहरु तथा इलेक्ट्रोनिक्स कम्पनीहरु सिंगापुर प्रवेश गरे लगत्तै सिंगापुरको अर्थतन्त्रले पछि फर्केर हेर्नु परेन । हाल सिंगापुर ३२८६७ अमेरिकी डलर प्रति ब्यक्ति आय सहित विश्वकै १८ औं धनी मुलुकमा दरिन पुग्यो (२००६ को तथ्यांक अनुसार) । एसियाकै सर्वाधिक कम भ्रष्टाचारयुक्त मुलुक, उच्च बिकसित बजार अर्थतन्त्र, विश्वकै सर्वाधिक ब्यापार÷बाणिज्य–मैत्री कर्मचारीतन्त्र सहितको अर्थतन्त्र र केवल २.४ प्रतिशत बेरोजगारी दर भएको सिंगापुरको २००६ को आर्थिक बृद्धिदर ७.९ प्रतिशत छ भने सो बर्ष ९७ लाख पर्यटकले सिंगापुरको भ्रमण गरेका थिए ।

राजनैतिक पक्ष
राजनैतिक सवालमा ली हार्डलाइनरको रुपमा देखा परे । जातीय द्वन्द्व र आन्तरिक अस्थिरताका बीच गुज्रेको एउटा सानो राज्यले थप द्वन्द्व धान्न सक्ने अवस्था पनि थिएन । लगातार अत्यधिक बहुमतमा रहेको ली को पिपुल्स एक्सन पार्टीलाई आफ्नो अभियानमा दृढतापूर्वक लाग्न सहज पनि भयो भने अर्कोतिर जातीय बिद्वेश फैलिने, धार्मिक सहिष्णुतामा खलल पुग्ने भाषणमा उनले प्रतिबन्ध समेत लगाए ।  ली सँग लिएको एक अन्तर्वार्तामा सन् १९६५ तिरको अवस्था बारे उनले भनेका छन् —“हामी अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिरहेका थियौं । हामीले चारैतिर शत्रुबाट घेरिएको इजराइलबाट पाठ सिक्यौं । हामीलाई नान्नी स्टेट भनिन्थ्यो... तर अहिले हामीलाई सबैले राम्रो ब्यवहार गर्छन् । अब हामीले आफूलाई प्रतिस्पर्धी बनाइ राख्न बिना कुनै सरकारी सुरक्षा–जाली जीवनको नयाँ बाटोमा चुनौती र खतरालाई सामना गर्ने कुराको शुरुवात गनुपर्छ । ”

निरपेक्ष राजनीतिक स्वतन्त्रका पक्षमा भने ली कडा रुपमा प्रस्तुत भएका छन् । सन् १९९१ मा जापानको आसाही शिम्बुनले आयोजना गरेको गोष्ठीमा बोल्दै उनले भनेका थिए —“ ब्यक्तिका निरपेक्ष स्वतन्त्रता तथा अधिकारले कहिलेकाँही सार्वजनिक सुरक्षा र नियम कानूनको निर्वाध पालनामा सम्झौता गर्नुपर्ने हुन्छ , राष्ट्र जब निश्चित तहको शिक्षा र औद्योगिकीकरणको तहमा पुग्छ, परस्पर बिरोधी स्वार्थ समूह भएका प्रतिनिधी समावेश भएको प्रतिनिधिमूलक सरकारको आवश्यकता पर्नसक्छ —ल एण्ड अर्डर कायम गर्नका लागि । ”

कानूनी पद्धतिका बारेमा पनि ली आफ्नो दृष्टिकोणमा स्पष्ट र दृढ देखिएका छन् । यसबारेमा सन् १९९८ मा सिंगापुर टाइम्समा एच्. एफ्. क्याङ, डब्ल्यू फर्नान्डिज र सुमिको तानले उनको भनाई उद्धृत गर्दै लेखेका छन् —“ल एण्ड अर्डरहरु पास गर्दै जानु दुखद आसा मात्र हुन्छ जबसम्म यस अघि पास गरेका कानूनहरुको निश्चित रुपमा पालना र स्थायित्व स्थापित भैसकेको हुँदैन ।” । क्याम्ब्रिज विश्वविद्यालयका गे्रजुएट भएतापनि त्यहाँको कानूनी प्रणालीमा रहेको जुरी सिस्टममा उनलाई बिश्वास नरहेको धारणा ब्यक्त गरेका छन् । यसले जुरीमेनहरुको अन्धबिश्वास, अज्ञानता, पक्षपात र पूर्वाग्रहलाई स्वीकृती दिन सक्ने उनको भनाइ रहेको छ । कडा दण्ड सजायले समाजमा अपराध बढाउँछ भन्ने एकथरिको तर्कमा उनको बिमति छ । उनी भन्छन् —“ अपराध र सजायमा नरम धारणाले अपराध घटाउँदैन भन्ने तर्क राख्नेहरुप्रति मेरो कहिल्यै विश्वास भएन ।” आफ्नो भनाइलाई पुष्टि गर्न उनले जापानले कब्जा गर्दाताका तिनीहरुले दिने क्रुर सजायको डरले सिंगापुरमा अपराधमा ठूलो कमी आएको कुरा औंल्याएका छन् । वास्तवमै सिंगापुरमा कानून अत्यन्त कडा छ । त्यसैले पनि होला, सिंगापुरलाई डिस्नेल्याण्ड अफ डेथ पेनाल्टी पनि भन्ने गरिन्छ । हुर्के बढेका छोराछोरीले आफ्ना बृद्ध आमाबाबुको हेरचाह गर्नै पर्ने कानूनी ब्यवस्था “मेन्टेनेन्स अफ प्यारेन्टस् एक्टले गरेको छ ।”

समावेशीकरण
समावेशीकरणको मूल मुद्धा उठाउँदै द्वन्द्वको भूमरीमा रुमल्लिइरहेको हाम्रो देशमा झैं सिंगापुरमा पनि बहुभाषी, बहुजातीय नागरिकहरुको बसोवास छ । जम्मा ७०४ बर्ग कि.मि. क्षेत्रफल भएको सिंगापुरमा पनि समावेशिकरणलाई ठूलो महत्व दिएको पाइन्छ । यसको लागि प्रतिनिधिमूलक संसदीय प्रणाली (वेष्टमिनिष्टर सिस्टममा आधारित) अपनाइएको पाइन्छ । ली को सरकारले बहुजातीय र बहुभाषिक बासिन्दाहरुलाई गोलबन्द गरेर एउटै साझा “सिंगापुरी” को परिचय दिए । वास्तवमा जातिबाद र बर्गबादका समस्या समृद्धिसँगै स्वतः हराएर जान्छन् ।

हाल हाम्रो देशमा सवैभन्दा चर्कोरुपमा उठाइएको सवाल भनेको  समावेशीकरणको मुद्दा हो । ली ले यसबारेमा भनेका कुरा बारेमा सन् १९९८ मा सिंगापुर टाइम्सले लेखेको छ —“ जव शक्तिमा भएकाहरुले अल्पसंख्यकहरुलाई बेवास्ता गर्छन्, बाहिर पार्छन् वा अल्पसंख्यक समुदायका मुख्य ब्यक्तिहरुसँग शक्तिको बाँडफाँड गरेर देशको एकताको रक्षा गर्दैनन् (तब) सरकार असफलतातिर उन्मुख हुन र (देश) टुक्रिन बेर लाउँदैन ।”

शिक्षा
ली ले प्रधानमन्त्रीत्व ग्रहण गर्दा सिंगापुरमा ब्यापक निरक्षरता थियो । उनले अंग्रेजीलाई समेत सरकारी कामकाजको भाषा बनाए र आफ्ना नागरिकलाई बिकसित मुलुकसँग प्रतिपस्धी बनाउन अंग्रेजी शिक्षाको बिस्तारमा ब्यापक कार्यक्रम लागू गरे । ९५ प्रतिशत साक्षरता दर भएको सिंगापुरमा हाल आएर प्राथमिक शिक्षा अनिवार्य छ भने परम्परागत पाठ्यक्रमको भारमा ३० प्रतिशतले कटौती गरिएको छ । माध्यमिक तह पुरा गरेपछि विद्यार्थीले पोलटेक्निक्स या युनिभर्सिटी एउटा रोज्छन् । निजी तथा सरकारी विद्यालयको गुणस्तरमा कुनै भिन्नता छैन । १९९९ मा बिषेश योजना अन्तर्गत पुराना विद्यालय भवनहरु भत्काई नयाँ सुविधासम्पन्न भवनहरु निर्माण गरिएका छन् जसमा विद्यार्थीको चाप अनुसार कक्षाकोठालाई बढाउन वा घटाउन सकिन्छ । सिकाइको लागि अत्युत्तम वातावरण निर्माण गर्न आवश्यक भौतिक पुर्वाधारहरुको पर्याप्त ब्यवस्था गरिएको छ । बालबालिकालाई सिर्जनशील सोंचाइ र रचनात्मक क्रियाकलापमा बढी भन्दा बढी संलग्न गराइन्छ । बरु समस्याको रुपमा त शुरुशुरुमा अभिभावक नै देखिए । उनीहरुले आफ्ना नानीहरुलाई धेरै गृहकार्य, धेरै ट्यूसन र राम्रो नम्बर ल्याउन सधैं दवाव दिने गरेको खुलासा गर्दै निवर्तमान शिक्षा मन्त्रीले भनेका थिए —“ हामीले हाम्रा नानीहरुलाई तिनीहरुको क्षमताले भ्याएसम्मकै उत्तम र प्रतिस्पर्धी बनाउने प्रयत्न गर्नुपर्छ तर तिनीहरु तिनका अभिभावकका अवास्तविक प्रत्यासा र मागहरुलाई पुरा गर्न खोजेर तिनको क्षमता भन्दा पर धकेन्नु हुँदैन ।”

हुनत एउटा देशको मोडेल अर्को देशमा हुवहु अपनाउन त सकिंदैन तर पनि हाम्रो देशमा हाल विद्यमान अराजकता नियन्त्रणका लागि कठोर दण्डप्रणाली, समावेशीकरणका लागि ब्यापक सहभागितामूलक प्रतिनिधित्व, विकास निर्माणका लागि दीर्घकालीन र स्पष्ट योजना, अनुशासित र कर्मशीलतामा जोड, जातीय बिद्वेश फैलाउने बिरुद्ध कडा कारवाहीको ब्यवस्थाजस्ता कैयन कुराहरु छन् जुन नेपालले पनि अनुसरण गर्नसक्छ । हुनत आलोचकहरुले एकदलीय अधिनायकत्व चलाएको, वाक्स्वतन्त्रतामा नियन्त्रण गरेका जस्ता आरोप पनि ली लाई लगाएका छन् तर के चाँही स्पष्ट हो भने त्यसो नभएको भए शायदै आजको सभ्य, समृद्ध र सबल सिंगापुर बन्दो हो ।

सन्दर्भ सामग्रीहरुः
द सिंगापुर स्टोरीः मेमोरिज अफ ली कुआन यिउ
सिंगापुर टाइम्सका बिभिन्न अंकहरु
अग्ली जापानिज , फ्राइडम्यान बर्तु
विकीपेडियाः द फ्रि इन्साइक्लोपेडिया   इत्यादि ।