Thursday, May 14, 2015

हेमसरिता अन्तराष्ट्रिय पुरस्कार प्राप्त कविता

बा सँगका बिलौना
पुरै पढ्न लिंकमा क्लिक गर्नुहोस। कविताको शीर्षकमै लिंक छ।
 यहाँ तल पनिः
http://setopati.com/sahityapati/23834/

हामी फेनिक्स चरा झै खरानीबाट ब्यूँतिने छौ

http://setoparewa.com/2015/05/14/27565

एउटा प्रलय भर्खरै फर्केको छ हाम्रो आँगनबाट। हाम्रा शतकौका सम्पत्तिहरु खोसेर हाम्रा अमूल्य सम्पदाहरुलाई केही सेकेण्डमा धुलिसात गरेर हिडेको छ त्यो। बर्षौ मरुभूमिको बालुवा पेलेर तेल निकाली हाम्रा बान्धवहरुले बनाएका घरहरुसँग कतिपयका परिवार र धेरै सपनाहरुको अपहरण गरेर गएको छ त्यसले।
हामी त्रास, ब्याकुलता, पीडा र आँसुले लथपथ भएका छौं।
यसै बेला केही उपबुज्रुकहरु नेता र कर्मचारीतन्त्रको सत्तो सराप गर्दै आफू चाहीं राहतका सामग्री कसरी कब्जा गर्ने भन्ने ध्याउन्नमा बसेका देखिन्छन्। नैतिकता र मानवीय सम्वेदना माथि नै चुनौती दिँदै कतिपय यातायात ब्यवसायीहरुले संकटमा फसेका र विपदले ब्याकुल हुँदै काठमाडौं छोड्न आतुर यात्रुहरुबाट तीन गुणा सम्म बढी भाडा असूल गर्ने गरेको, चोरहरुले लुटपाट गर्न निस्केको, धर्मपरिवर्तनकारीहरु अलिकति पनि मानवीय संवेदनाको ख्याल नराखी राहतका सामग्रीको साटो तिनीहरुका धर्मग्रन्थ बाँडेको र धार्मिक आस्थाको आधारमा राहतमा भेदभाव गरेको तथा कालाबजारी लुब्धहरुले राहतको लाइनमा बसी त्यो सामान पसलमा राखेर बेच्ने गरेको तथा मर्दा कात्रोमा खल्ती बोक्नेहरुले बोराका बोरा खाद्यान्न घरको गोदाममा राखेर भूकम्पपीडितका लागि राहत बाँड्न आएकाहरुलाई अपशब्द बोल्दै चामलका बोरा लुट्ने सम्मका घटनाहरुले हाम्रो नैतिकताको कहालीलाग्दो स्तर देखाएको छ भने अर्को तिर थुप्रै नौजवानहरु आफ्नो गास कटाएर भोक तिर्खा नींदको परवाह नगरी भूकम्पपीडितहरुका लागि राहत बोकेर स्वयंसेवामा जुटिरहेका छन्।
थुप्रै स्वयंसेवी विश्वका कुनाकुनाबाट आएर वसुधैव कुटुम्बकम् भन्ने भनाईलाई वास्तविक जीवनमा देखाउन सफल भएका पनि छन्।
यही समयमा एकातिर संसारका कुनाकुनाबाट नेपालमा भूकम्पपीडितहरुका लागि राहत सङ्कलन भैरहेछ। संसार एकजुट भएको छ। हाम्रो पीडामा उनीहरुको समभाव छचल्किएको छ। धेरै देशका उध्दारकर्ताहरु रातोदिन उध्दारमा खटेर भर्खरै फर्केका छन् भने अर्कोतिर तिनै मध्ये कतिपयले एक सयको सहयोग गरेर एक लाखको विज्ञापन गर्न र आफू नै नेपालको विधाता भएको गोयबल्स प्रचारवाजी गर्न पनि भ्याएका छन् ।
हाम्रै सरकारको कार्यसम्पादनको बिषयमा भन्नुपर्दा म नेपाल सरकारको एक हप्ता लामो अलमल र धरमरबाट बिचलित भएको थिएँ।
प्रलयको त्यो कहालीलाग्दो दिनदेखि स्वतस्फुर्त उध्दारमा खटिएको मैले दोस्रो दिन देखि कार्यालय पुगेर विपद् प्रभावित नेपाली भूगोलको जुनसुकै कुनामा भए पनि उध्दारका लागि खटाइयोस् भनेर बिन्तीपत्रै हालेको हुँ र पनि त्यसको ४८ घण्टापछि मात्र फिल्डमा खटाइएको थिएँ म। त्यो ४८ घण्टा मेरा दाजुभाइ दिदीबहिनीहरु भत्केका घरको भग्नावशेषमा छटपटाइ रहँदा म अर्थ मन्त्रालयको क्यान्टिनमा चिया पिएर बसिरहेको थिएँ मुटुभरी पीडाको पहाडले थिंचिएर।
लोकसेवा आयोगको जाँचको लागि तयारीका लागि बाहेक हामीले यति ठूलो बिपद् ब्यवस्थापनको कुनै तयारी गरेका रहेनछौं।
त्यस सम्बन्धी नीति तथा निर्देशिकाहरु पनि अपुरा रहेछन् हाम्रा। नेपाली सेना र प्रहरी बाहेक राज्यकोषबाट तलब खाने कर्मचारी र शिक्षकहरु लामो समय भूमिकाबिहीन रहे या बनाइए। तिनले आफ्नो घर सुरक्षित रहेकोमा मखलेल मुद्रामा चिया गफमै त्यो अमूल्य समय कटाइरहे। निकै ढीला परिचालित भयौ हामी।
नेपाल बन्द गराउन र दलगत तुच्छ स्वार्थका लागि लाखौ जनता सडकमा उतार्ने धम्की दिने र नेपाल बन्द गर्ने राजनीतिक दलहरु पनि यो बिपदको घडीमा ट्वाल्ल परिरहे। निकै ढीलो बेहासीबाट ब्युँझे ती।
२००७ सालको प्रजातन्त्रपछि नेपाल कहिल्यै स्थिर हुन पाएन। राजनीतिक हिसाबले अस्थिर यो देशले प्रकृतिको कोप भाजन पनि ब्यहोर्नु पर्‍यो। उध्दार, राहत र पुनर्स्थापनाको चरण पार गर्दै यसको क्षतिपूर्ति हुन कम्तीमा अर्को एक दशक लाग्नेछ ।
हुन त नेपालमा राहत र पुनर्स्थापनाको लागि देश विदेबाट धेरै ब्यक्ति र संस्थाले सहयोग गर्ने घोषणा गरेका छन् तर ती मध्ये कमै रकम मात्र वास्तविक पीडित सम्म पुग्नेछ। बिदेशी संस्थाबाट आउने धेरै रकम तिनीहरुका कर्मचारीहरुका लागि नै खर्च हुने हुँदा उतै फिर्ता हुनेछ भने कतिपय स्वार्थप्रेरित संस्थाहरुको सहयोग नेपालमा तिनको अनुयायीहरुका लागि मात्र उपयोग हुनेछ। हाम्रा प्राथमिकताहरुमा हामीले नै खर्च गर्न पाउने गरी नआउने बैदेशिक सहायताले केवल परनिर्भरता र असमानता मात्र बढाउने छ।
तर हामी यस बखत जति धेरै निराशाको भूमरीमा परेका भए पनि चाँडै नै फिनिक्स चरा झै खरानीबाट बौरेर प्रगतिको उत्तङ्ग आकाशमा उड्ने छौं। तल उल्लेख गरिएका कुराहरु आशाका सुनौला किरणहरु हुन् जो भोली पारिलो घामजस्तै हामीले अनुभूत गर्न पाउने छौं।
  • यो विपद्को घडीमा उध्दारका लागि हामीबीच पहाडी र मधेशीको जाति र जनजातिको पूर्वेली र पश्चिमेलीको कुनै रेखा थिएन। त्यहाँ केवल नेपाली रह्यौं। एउटै परिवारका दाजुभाइ दिदीबहिनीहरु भयौ। देशलाई आपत् पर्दा जसरी हामी एकाकार भएका छौं देशको समृध्दिका लागि त्यसरी नै हाम्रा हातहरु जुट्नेछन्।हाम्रो राष्ट्रियता बलियो हुँदै जानेछ।
  • गएको एक दशक हामी कसको अग्लो घर बनाउने भन्ने ध्याउन्नमा लाग्यौं।उद्यमशील बनेनौं। हामीले कुनै भवन सम्बन्धी र भू उपयोग सम्बन्धी आचार संहिता बनाएनौ या पालना गरेनौं। हामीले प्रकृतिको भारवहन क्षमताको वास्ता गरेनौं। पर्यावरणको उपेक्षा गरिरह्यौं। अब हामीले भवन संहिताको पालना गर्नेछौ। ससाना र उस्तै साइजका घर बनाउने छौं।भूकम्प सहन सक्ने जापानी प्रविधिका घर बनाउने छौं। सानो घर बनाएपछि बचत हुने पैसा उद्योगधन्दामा लगाउने छौं।
  • ब्यवस्थित र सुन्दर शहरका लागि राष्ट्रिय शहरी विकास रणनीति लागू हुनेछ। त्यसले समग्र शहरी विकासको ब्यवस्थित खाकामा आधारित दीगो विकासको पूर्वाधारहरु खडा हुँदै जानेछन्।
  • बिदेश जाने रकम समेत जुटाउन नसकेका दाजुभाइहरुले यहाँ पर्याप्त काम पाउनेछन्। तिनको ज्यालादर बढ्नेछ।तिनका नानीहरु विद्यालय जानेछन्।विदेशमा रहेका घर बनाउने सीप भएका नेपाली दाजुभाइहरु स्वदेश फर्कने छन्। तिनले बिदेशमा सिकेको सीप र प्रविधि यहाँ लागू गर्नेछन्।
  • हामीले पहिले देखि नै धरापमा रहेका विद्यालयको ठाउँमा नयाँ उस्तै गुणस्तरका विद्यालयहरु बनाउने छौं।ध्वस्त भएका स्वास्थ्य चौकीहरु थप साधन र स्रोत सहित पुनर्स्थापित हुनेछन्। ध्वस्त प्रहरी चौकीहरु बिउँतेर आउँदा त्यहाँ महिला शौचालयको समस्या हुनेछैन। सरकारले बस्ती विकासको एकीकृत योजना ल्याउनेछ। ब्यवस्थित बस्तीहरुमा आधारभूत सेवा र सुविधाहरु प्रभावकारी तरिकाले प्रदान गर्न सहज हुनेछ।
  • नेपाली निर्माण ब्यवसायीहरुको क्षमता बिस्तार हुनेछ। तिनले अत्याधुनिक उपकरणहरु भित्र्याउने छन्। नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगधन्दाको विकास हुनेछ।
  • भूकम्पले क्षतिग्रस्त सम्पदाहरुले नयाँ जीवन पाउने छन्। ती फेरी नयाँ प्रविधिमा आधारित भएर कम्तीका १०० बर्षको आयू लिएर ब्यूँतने छन्।
  • सरकारी बजेटको वितरण प्रणालीमा परिवर्तन हुनेछ। कनिका छराइबाट मुक्त गर्ने यो उपयुक्त मौका हुनेछ। दातृ राष्ट्रहरुले सहयोगको मुठ्ठी खोल्नेछन्। पुनर्निर्माणको लागि रकमको अभाव हुनेछैन।
  • बिदेशी सहयोग लिंदा सार्वभौमसत्ताको रक्षा गरेर कसरी लिन सकिन्छ भन्ने बारेमा हामी तयारी गर्न सक्नेछौं। विदेशको जोगी सिध्द गाउँको जोगी गिध्द ठान्ने आम नेपाली प्रबृत्तिमा सुधार आउनेछ।
  • नेताहरुले विपदको घडीमा कसरी जनताको आक्रोसबाट बच्दै जनमुखी कार्यक्रम अघि सार्ने भन्ने कुरा सिक्नेछन्।जनताले आफै पनि विपदको तयारी गर्न सिक्नेछन्।
  • नेपाली कर्मचारीतन्त्र जुम्स्याइँबाट मुक्त हुन उपयुक्त अवसर प्राप्त गर्नेछ। यसले विपद ब्यवस्थापनको प्रभावकारी तरिका सिक्नेछ।तिनमा हिम्मत, आँट, आशा, स्वाभिमान, जाँगर, इमान्दारिता, स्वयंसेवी भावनाको विकास हुनेछ।
  • हाम्रो नयाँ पुस्तामा स्वयंसेवाको भावना अद्भूत रुपले उदाउँदै गएको छ। भोलीका पुस्ताहरुमा यसको उत्साहजनक सकारात्मक प्रभाव पर्नेछ। देशको लागि निस्वार्थ सेवा भन्ने भावनाको प्रवल विकास हुनेछ।
यी केही उदाहरणहरु मात्र हुन्। यी तर्कहरुको तथ्यगत विश्लेषण अर्को लेखमा गरिने छ। यी सम्भावनाका अतिरिक्त अरु हजारौं सम्भावनाहरु छन्। धेरै राष्ट्रहरु ठूलो विपदबाट गुज्रने बित्तिकै नयाँ अठोट, साहस, प्रतिवध्दता, परिश्रम र फेनिक्स चरा झैं पुनरुत्थान र माथिल्लो तहको प्रगतिको बुलन्द सपनाले पुनर्स्थापित मात्र भएका छैनन् अझ उच्चस्तरको प्रगति हासिल गर्दै देशको कायापलट नै गरेका छन्।
असीम पीडाका बीच गुज्रीरहेका हामीहरुलाई यस प्रलयले नयाँ बिहानीको खोजी गर्ने उपयुक्त अवसर दिएको छ। छाडौ अब भ्रष्ट मनोवृत्ति, जुम्स्याईं, धरमर, अलमल र आफूलाई मात्र केन्द्रमा राख्ने प्रवृत्ति । हामी आफ्नै बलबुताबाट माथि उठ्न सक्छौं । यो देशको भाग्य बोकी आउने मान्छे कुनै विदेशी हैन। हामी आफै हौं।
 -लेखक अर्थ मन्त्रालयका उपसचिव हुन् ।

- See more at: http://setoparewa.com/2015/05/14/27565#sthash.rpe5Yxq4.dpuf

Sunday, April 28, 2013

छुवाछूत, व्राम्हणवाद र शास्त्रज्ञहरूको कुम्भकर्ण निद्रा


छुवाछूत, व्राम्हणवाद र शास्त्रज्ञहरूको कुम्भकर्ण निद्रा

१२ चैत्रमा प्रकाशित नागरिक दैनिकको बिचार पृष्ठमा तारा लाम्गादेद्वारा लिखित "दलित आन्दोलनमा जातीयताको सवाल" शीर्षकको लेखमा "मैले सबैभन्दा बढी घृणा गर्ने धर्म हिन्दू नै हो" भन्ने भनाइ उल्लेख भएको छ। केही दिन अघि अन्यत्र कतै अन्जना बिशंखेको "यत्रो असुरक्षाबीच महिलाले किन गर्छन् प्रेम?" शीर्षकको लेखमा मा पनि प्रेम र यौनलाई " हिन्दू ब्राम्हणवादी संस्कृतिद्वारा निर्देशित सोच" भनिएको छ। यी त केही उदाहरणहरू हुन्। प्रत्येक दिनको पत्रिकाका हिन्दू धर्म, ब्राह्मण संस्कृतिको विरुद्ध बिषवमन गर्दै गोयबल्स शैलीमा गरिएका पीत पत्रकारिताको बारेमा कसैले कुनै खण्डन गरेको पाइँदैन।जहाँ ८२ प्रतिशत भन्दा बढी हिन्दू छन् त्यहाँ तिनीहरूको आस्थामा रातोदिन प्रहार गर्दा पनि कोही बोलिरहेको छैन। कसैले बुध्दिबिलास गर्न छ भने " हिन्दू ब्राम्हणवादी पितृसत्तात्मक सोंच' भनिदिए त्यो ठूलो प्रगतिवादी ठहरिने भ्रम परेको छ। तर साँवा अक्षर पढ्न सक्नेले इमान्दारीपूर्वक अध्ययन गरोस् र बुझोस् वास्तवमा हिन्दू धर्म नै त्यस्तो धर्म हो जसले प्रत्येक धर्मावलम्बीलाई आफ्नै धर्मप्रति गौरव गर्न सिकाएको छ नकि धर्मान्तरण गर्न वा अरू धर्म मान्नेलाई विभेद गर्न। कृष्ण भगवानले गीतामा " स्वधर्मो निधनं श्रेयः परधर्मो भयावहः " भनेर भनेको यो वाक्य नै त्यसको प्रमाण हो।

नेपाललाई क्रिश्चियनीकरण गर्नका लागि यूरोपियन यूनियन अन्तर्गतका धनी क्याथोलिक चर्चहरू र गैससहरू, कोरियाका चर्चहरूमात्र हैन, जापान-नेपालको मित्रताको फाइदा उठाउँदै केही जापानी क्रिश्चियन स्वयंसेवकहरूको समेत योगदान र ठूलो धनराशि ओइरिएको छ।त्यो धन लुँड्याउनेहरूले नै नेपालमा जातीय सद्भाव भड्काउने प्रपञ्च गरिरहेका छन्। यस कुत्सित कार्यमा नेपालका उग्रपन्थी भड्कावबादीहरू, उग्र जातीवादीहरू र पैसाको लागि धर्म परिवर्तन गरेकाहरू अहोरात्र तन, मन र वचनले लागिरहेका छन्।नेपाललाई उपनिवेश बनाउने नपाएको झोंकमा नेपालमा जातीय विद्वेष बढाएर नेपाल तहसनहस पार्न डेढसय बर्ष अघिदेखि योजनाबद्ध रूपमा शुरू गरिएको गोराछालावालाको साहित्यमूलक इतिहास लेखनले हाम्रो इतिहास बङ्गाइएको छ। त्यही साहित्यको गायत्री जप्दै नेपालमा जातीय विद्वेषको बीउ रोपेर त्यसको बिरुवामा मलजल गर्ने काम भएको छ तर हाम्रा हिन्दूधर्म मान्ने विद्वानहरू जसले संस्कृत र धर्मशास्त्रको अध्ययन गरेर आफूलाई पण्डित, महापण्डित दाबी गर्दै मखलेल मुद्रामा हिँडिरहेका छन्, तिनीहरूले व्राम्हणलाई राक्षसीकरण गर्ने यस्ता आरोपको खण्डन गर्ने जाँगर समेत देखाउँदैनन्। तिनलाई टपराको अलमल नै प्रिय छ, दुई चार अन्धभक्तको पाउलागी र प्रणाम नै प्रिय छ। त्यसभन्दा अघि बढेर हिन्दु धर्म संस्कृति, सामाजिक सद्भाव र हिन्दू धर्मको सनातनी भावको व्याख्या गर्नका लागि दुई चार वाक्य लेख्ने जाँगर, हिम्मत र तत्परता तिनमा छैन। ती त केवल नेपाल संस्कृत विश्वविद्यालयलाई कामधेनू बनाएर गोडा पसारेर खानमै गौरव  गर्छन्।

खास गरी तीन अवस्थामा ब्राम्हणबादको शब्दको निकै दुरूपयोग गरेको  पाइन्छ- (क) महिलाका पीडासँग जोडेर, छुवाछूतसँग जोडेर र नश्लबादसँग जोडेर। महिलाका पीडा र नश्लबादसँग ब्राम्हणबादलाई जोडेर पछिका लेखहरूमा लेखिनेछ, यहाँ केवल छूवाछूतको प्रसंग जोडौं ।जातीय भेदभाव र छुवाछूत हाम्रो धर्मको अन्तर्य हैन। वास्तवमै इतिहासको अन्धयूगमा शासकहरूले ब्राह्मणहरू प्रति समाजको विश्वासलाई दुरुपयोग गर्दै आफ्नो शासन सत्ता लम्बाउन र दमनयुक्त शासन चलाउन वैधानिकता प्राप्त गर्न ब्राम्हण कर्मचारीको विद्वताको दुरूपयोग गर्दै स्मृति परम्परालाई बङ्गाएर  छुवाछूत र जातीय विभेदको बीउ रोपेका हुन् भन्ने कुरा गहिरिएर हिन्दू धर्मशास्त्र अध्ययन गर्नेलाई भनिरहनु पर्ने कुरा हैन।स्मृतिहरू पढेर हैन, श्रुति पढेर मात्र यो तथ्य उजागर गर्न सकिन्छ।तर कतिपय स्मृति परम्परामा आधारित जातीय छुवाछुत हिन्दू धर्मको बदनामी गर्ने हतियार भएको छ। यही छुवाछूतको वैशाखीमै क्रिश्चियनीकरण मौलाउँदै गएको छ।उग्रवामपन्थी र उग्रजातीबादीहरूलाई नारा मिलेको छ, तर शास्त्र पढैयाहरू त्यस्ता कुतर्कको खण्डन गर्न भन्दा आफ्ना खुट्टा ढोगाउनतिरै प्रसन्न चित्त भएर लागेका छन्।

के हिन्दू धर्मविरूध्द भएका यी सबै प्रलापको तर्कसंगत खण्डन गर्नु तिनीहरूको दायित्व हैन (कुनै पनि धर्मबिरूध्दका प्रलाप हामीलाई सह्य छैन हिन्दूधर्मको बिरूध्दको मात्र हैन)? के हाम्रा पण्डितहरू शंकरभाष्यसूत्र घोक्छन् मात्र तर त्यहाँ उल्लेखित 'सडेर जाने सबैको शरीर चाण्डाल नै हो, आत्मासँग के को छूवाछुत" भन्ने कुरा बिर्सन्छन्? के ती माझी-दैाहित्र वेदव्यासको उदाहरणबाटै नै हाम्रो धर्मले जातीय छुवाछूत मान्दैन भन्ने कुरा बुझाउँदा आफ्ना खुट्टा ढोग्नेहरू कम हुन्छन भनि ठान्छन्? के सत्यकाम जावालाको बाबु र गोत्रको पत्तो नभएपनि उनको सत्यवादिता नै ब्राम्हण हुन योग्य आधार भएको थियो भन्ने कुराको इतिहास तिनले बिर्सेका हुन्? के शवरीका जूठा वयरदाना खाने रामचन्द्रको आराधना गर्ने तर मूर्ति बनाउने कालिगढलाई मन्दिर प्रवेशमा रोक लगाएर धर्मको पालना गरेको भन्ठान्छन्? गोमांसभक्षी म्लेच्छ र यवनहरूसँग छोइछिटो गर्नुपर्ने तर आफ्ना बान्धवहरूसँग दलित भनी छोइछिटो गर्नमा धर्मको उच्चता देख्छन्? जन्मेना जायते शुद्रो कर्मेणा द्विजः उच्यते भन्ने कुरा तिनीहरूले जाँचदिनका लागि मात्र पढेका हुन्? ती सत्य जान्दछन् भने किन बोल्दैनन्? जान्दैनन भने किन जानिटोपल्छन्? "न जटाहि न गोत्तेहि न जच्चा होति ब्राह्मणो।यम्हि सच्चं च धम्मो च सो सुची सो च ब्राह्मणो॥" अर्थात जटाले हैन, गोत्रले हैन, जन्मले हैन, सत्य, धर्म र पवित्रतायुक्त मानिस नै ब्राम्हण हो भन्ने बुध्दबचन पनि छ भने ब्राम्हण कसरी सबै समस्याको कारण हुन्छ? अनि ब्राह्मणवाद भनेको त सत्य, धर्म र पवित्रताको पक्ष लिनु भएन र? के यो सत्य बुझाउन हाम्रा पण्डितहरू सक्षम छैनन्?  के साँच्चै आज हामी जसलाई ब्राह्मण भन्छौं ती साँच्चै ब्राह्मण त हुन्? ब्राह्मण शब्दको दुरूपयोग हैन बरू सच्चा ब्राह्मण हुने दिशामा सबै जात जाति लाग्नु पर्छ किनकी समभाव , शुद्धता , पवित्रता , तपगर्नु , निश्छली , ज्ञानी , विज्ञानले युक्त हुनु , दान लिनु र दानदिनुपनि , यज्ञगर्नु गराउनु , वेदाध्ययन गर्नु गराउनु आदी  गुणले युक्त हुनु नै ब्राह्मण हुनु हो। हरेक जात, कूल, वर्ण, गोत्र, वंश वा धर्मको मानिस ब्राह्मण हुन सक्दछ यी गुणहरूको विकास गरेर। अनि यस्ता कुराको पक्ष लिनु नै ब्राह्मणबाद हो नकि अहिले पीत पत्रकारिता गरिएजस्तो नकारात्मक चरित्र। कसैलाई पनि ब्राह्मण हुनबाट रोकिएको छैन हिन्दू धर्ममा।

 लेखक संस्कृतको औपचारिक अध्ययन गरेको ब्यक्ति हैन, अर्थशास्त्रको विद्यार्थी हो।त्यसैले धर्मशास्त्रका घाघडान विद्वानहरूबाटै यो कुप्रचारको खण्डन होस् भनेर बर्षौं प्रतिक्षारत रह्यो तर हाम्रा ब्राह्मण विद्वानहरूले त आत्मश्लाघाबाट माथि निस्कने छन्दछाँटै देखाएनन्। अब यसको बहस चलाउनै पर्ने भएको छ। हिन्दू विद्वानहरू, कृपया सोच्नुहोस्- अलिकति दायित्व हाम्रो धर्म रक्षार्थ (धर्मो रक्षति रक्षितः, अरू के भनौं र?), सांस्कृतिक विरासतको पवित्रतार्थ र सुविचारको प्रवर्धनार्थ पनि हुनु पर्दैन र? त्यतिमात्र हैन, जातीय राजनीतिका लागि हिन्दू धर्मावलम्बीमा विद्यमान कुसंस्कारको सहारा लिने प्रचलनको अन्त्यका लागि पनि हामीले बोल्नै पर्ने र अभियानै चलाउनु पर्ने भएको छ। के छूवाछूत र उचनीचको भावनाका विरुद्धको जनजागरणको शुरूवात तपाइँहरूबाटै हुनु पर्दैन र? धर्म निरपेक्षताको दुरूपयोग गर्दै हिन्दू धर्मका विरुद्ध योजनाबद्ध आक्रमण हुँदा बोल्ने दायित्व कसको हो? के कोही हिन्दू धर्मका अनुयायीले अन्य धर्मको विरुद्ध लेख लेखेको देखिएको छ? हामी सबै धर्मको सम्मान गर्छौं त्यसैले कुनै धर्मको विरुद्ध बोल्नु नै अधर्म हो भन्ठान्छौं तर हिन्दू धर्ममाथि सबैको आक्रमण के टुलुटुलु हेरेर बसिरहने?

कृपया, पण्डित महोदयहरू, सक्नुहुन्छ भने यो पीतपत्रकारिता बन्द गराउनोस्। तपाइँहरूको विद्वता, तर्क, ज्ञानको प्रयोग गर्ने बेला आइसक्यो। केही मानिसहरूको खुट्टा ढोगाइ पाउनमा मात्र आफ्नो अमूल्य समय नष्ट नगर्नुहोस्। नश्वर देहको खुट्टा ढोगाएर ईश्वरको अदालतमा हामी देवमार्गको अधिकारी हुने छैनौं, हामीले छाडेर गएका हाम्रो ज्ञान, विवेक र तर्कयुक्त सुविचारहरूले समाजलाई मार्गदर्शन गर्न सकेमात्र हामीले आफ्नी आमा, धर्म, संस्कृति र पूर्वजहरूको ऋणभार घटाउन सहयोग पुग्नेछ। उत्तिष्ठतः जाग्रतः प्राप्य वरान्निबोधत । अधिकं किम्।

 -भीष्मकुमार भूसाल

२०६९ चैत्र १२

Friday, April 26, 2013

क्या ह्यान्डसम, क्या क्यूट, छि! साहित्य?



"वाह! क्या ह्यान्डसम देखिएको?"
"क्या मुस्कान छ!"
"कस्तो जवान देखिएको!"
एउटा फोटो फेसबुकमा पोष्ट भएको थियो, २४ घन्टा नबित्दै यस्तै प्रतिक्रिया सहित झन्डै १०० लाइक आएछन् (केटीको भए त्यसको ४ गुणा आउनै पर्थ्यो)। त्यस अघि २१ अप्रिल (आज २६ हो) मा मैले आफू हेमसरिता पाठक अन्तरराष्ट्रिय साहित्य पुरस्कारबाट सम्मानित भएको खबर सम्प्रेषण गरेँ जुन भ्रष्टाचार विरोधी सन्देश बोकेका सात सय भन्दा बढी कवितासँग प्रतिस्पर्धा गरेर प्रथम भएकोमा दिइएको थियो। करिब दर्जन अनलाइन समाचार पोर्टलमा प्रकाशित उक्त समाचारको लाइक भने ५ दिनमा ५ दर्जन पनि पुगेनछ। तपाइँले म आत्मप्रशंसाको लोभी  रहेछु भन्ने अर्थ  लगाइसक्नु भयो है, धैर्य गर्नुस्। मेर ध्येय केवल हाम्रा रुचिहरू उजागर गर्ने मात्र हो।
सोही समाचार जब मैले बिदेशी मित्रहरूको जानकारीको लागि भनेर प्रकाशित गरेँ, त्यसमा लाइक कम र इमेल धेरै प्राप्त भए । जसमा उक्त कविताको अंग्रेजी अनुवाद पठाइदिन अनुरोध गरिएको थियो। मैले उक्त कवितालाई शेक्सपियरका सोनेटको ढाँचामा अनुवाद गरी अनुरोधकर्ता साथीहरूलाई पठाइदिएँ । केही प्रतिक्रियाहरू यस प्रकार रहे -
अमेरिकाको टेक्सासकी (मेक्सिकन सँग विवाह गरेकी) डा. क्रिष्टल कोभारूवियास लेख्छिन्-
"Wow! This is just beautiful! And the last two lines are my very favorites :) Congratulations on your much deserved recognition!!!
You know that in Mexico, and on the border where we live, corruption is rampant. While this is extremely worrisome, what makes corruption in that area particularly scary is that it is almost always tied to very vicious forms of violence--sometimes unimaginable acts of violence.

 I hope to keep it forever, so that if we do return to that area of Texas/Mexico, I can refer to it whenever needed."
देउस्तो विश्वविद्यालयका प्रा.डा. जेम्स विल्सन लेख्छन्-
"It is a lovely poem :) Some of the words feel a little odd in English, but I wouldn't change them, as I think they fit with the style."
योकोहामा विश्वविद्यालय जापानका प्रा.डा. क्रेग पार्सन्स लेख्छन्-
"What wonderful words!"
देउस्तो विश्वविद्यालयकै PhD candidate माइते आल्तुना लेख्छिन् -(उनको जवाफ स्पेनिशमा भएकोले नेपालीमा भाषान्तर गरिएको)
"म यस्तो राम्रो कविको साथी हुन पाएकोमा आफूलाइ निकै भाग्यमानी र सम्मानित महसूस गर्छु। जीवन प्रतिको दृष्टिकोणको सुन्दरतम भाव भएको उक्त कविता कृपया हस्ताक्षर गरेर दिनुहोस्। म फ्रेममा हालेर घरमा सधैंको लागि राख्न चाहन्छु।"
नेपालबाट डा. कृष्ण गुरूङ लेख्नुहुन्छ-
"It is truly beautiful, heart touching and the fact. Well written sir. It deserved the award."
मेरो साहित्यको ब्लग छ, http://nadikinarakageet.blogspot.com.es/ त्यसका पाठक कहाँका रहेछन् भनेर वेभ डाटा हेरेँ। सर्वाधिक पाठकहरू स्पेन बस्ने नेपाली रहेछन्, लगभग उत्तिकै रहेछन् अमेरिका बस्ने नेपाली पनि। त्यसपछि बल्ल नेपालमा रहेका साथीहरूको पालो आउँदो रहेछ, जवकी मेरा मित्रसूचीमा रहेका ८५ प्रतिशत जति साथीहरू नेपालमै हुनुहुन्छ। यसको मतलब नेपालमा रहेका साथीहरूलाई विश्लेषणात्मक लेखहरू र साहित्य भन्दा फोटो-लाइक मन पर्ने विषय हो त?
अब मेरो कार्यालयका साथीहरूको कुरा गरूँ, अचम्मैसँग निकै कम साथीहरूलाई मात्रै मेरो साहित्य पुरस्कारको खबर मन प-यो। " के के न बाघै मारेजस्तो पो ग-यो ए!  के पो लछारेको रहेछ र कविता लेखेर,  ल न त पढिदिउँ न त"  भन्ने साथीहरू पनि निकै कम रहे?  महाअचम्म त मेरा साहित्यकार मित्रहरूलाई पनि त्यो पढ्ने झ्याउलो गर्न मन लागेन (शायद उहाँहरू आफै प्रतिस्पर्धी भएर पो हो कि?) भने अरूको के कुरा?  मेरा हाकिमहरूलाई त यस्तो नाथे कुरा पढ्ने के फूर्सद हुन्थ्यो। तर अपवाद रहनुभयो, म कार्यरत मन्त्रालयका सचिव श्री शान्तराज सुवेदी र मलाइ निरन्तर साहित्य लेख्न उत्प्रेरित गर्ने सहसचिव राममणी दुवाडीज्यू। उहाँहरू बाहेक अरू ४ जना साथीहरू मात्र उक्त कविता पढ्न पाउँ भनेर लेख्नेमा पर्नुभयो।
त्यसो त मैले ३/४ दिनमा नयाँ पोष्ट गरिन भने "लौ न, नयाँ पढ्न पाउँ भन्ने साथीहरू पनि स्पेनमा हुनुहुन्छ जसमध्ये दुईजना मित्रहरूले त मलाई उक्त प्रतियोगितामा भाग लिने सम्मको प्रेरणा दिनुभएको हो, नत्र म यस्ता प्रतियोगितामा भाग लिन अघि सर्ने मान्छे हैन। उहाँहरूको नाम मैले मनमै राख्न चाहेँ।
अब कुरा उठ्छ, के फेसबुक हामीले निराशा, कुण्ठा र नेताहरूप्रति घृणा पोख्नका लागि मात्र हो? या सुन्दरीहरूका तस्वीरमा कमेण्ट गर्नका लागि मात्र? त्यही फेसबुकबाट हामीले पुष्पा बस्नेतलाइ सिएनएन हिरो बनाउन सक्यौं भने राम्रा र सन्देशमूलक कुराहरू पढ्न हामीलाइ किन यस्तो विरक्ति?
१२ बर्षको उमेरदेखि साहित्य लेख्दै आएपनि मूलप्रवाहमा पस्न नचाहेको र प्रकाशित गर्नमा मेरो अरूची लगायतका कुराले नेपाली साहित्यका स्वनामध्य मनिषीहरूबीच म अपरिचित नाम हो भन्ने मलाइ थाहा छ। अझ भनूँ, मेरो साहित्यिक हैसियतबारे म अपरिचित छैन। यो पनि थाहा छ, कविता धेरैले बुझ्दैनन् पनि। अझ यो त झन् स्पष्ट छ, भ्रष्टाचार विरोधी कुराहरू पद र पावरमा पुगेकामध्ये धेरैजसोलाई मन पर्ने बिषय हैन। तर पनि जव सम्म हाम्रो पठन संस्कृतिमा सुधार हुँदैन, हामी राम्रो समाजको कल्पना गर्न सकौंला र ? एउटा अमेरिकन साथीलाई त्यो कविताका शब्दहरूले त्यति छुने कि उनले सधैँका लागि त्यो कविता याद गर्न र अरूलाई सुनाउन चाहन्छिन् तर हाम्रै देशको अवस्थालाई समेटेर उल्लेख गरेको र उत्कृष्ट ठहरिएको कविता हामीलाई पढ्न पनि मन लाग्दैन। हाम्रा रूची के हुन्?
मैले उक्त कविता मेरो साहित्य ब्लगबाट हटाएँ पनि। रचनाकारले आफ्नो अमूल्य समय र सिर्जना शक्ति लगाएर लेखेर पनि निशुल्क उपलब्ध गराएका सिर्जनाहरू कसैले पढिदेओस् र त्यसमा टिप्पणी गरिदेओस् या मनन गरी राम्रा कुराहरूबाट प्रेरणा प्राप्त गरोस् भन्ने अपेक्षा गर्नु शायद प्रशंसाको लोभी हुनु हैन। नकारात्मक टिप्पणी पनि स्वीकार्य छन्।
२६ अप्रिल, २०१३
सान सेवाष्टियन, स्पेन

Monday, March 25, 2013

इतिहासको अग्निपरीक्षामा कर्मचारीतन्त्र


इतिहासको अग्निपरीक्षामा कर्मचारीतन्त्र

“तिनीहरुका परिवारमा पुग्दो अन्न थिएन । बर्गीय बिभाजनले ती खेतीपातीबाट पनि अलग थिए । उब्जनीको पचास देखि पैसट्ठी प्रतिशत कर तिर्दा पनि अविचलित भै खेती स्याहार्ने बेला निष्फिक्रि कामूक नृत्य नाचिरहेका निर्दोष किसानलाई हेरेर चित्त बुझाउँथे र उत्साहित हुन्थे । तिनीहरुसँग बर्षभरी कार्यालय जान केवल एकसरो लुगा हुन्थ्यो तर ती इतिहास बदल्ने गौरवशाली आस्थामा अडिग थिए । तिनमा अभावको भीषण खडेरी थियो तर सँगै थियो अविचल दृढ बिश्वास, देशलाई सवल र समृद्ध बनाउन दिइएको अभिभाराप्रति । त्यसैले ती पारिवारिक र बर्गीय स्वार्थबाट माथि उठे र समृद्ध जापान बनाउने अभियानको जगमा कहिल्यै नमक्किने, नपिसिने ढुङ्गाका रुपमा आफूलाई बिलीन गराए ।” ती थिए– सन् १८६८ मा ‘मैजी अभ्यूदय’ पछिका कर्मचारीहरु जसले आजको समृद्ध जापानको मूल जग बसालेका थिए ।

 बर्तमान पुस्ताले पुर्खाहरुको पसिनाले आर्जेका बिरासतको ब्याज खाइरहेको हुन्छ । दुर्भाग्यवश हामी नेपालीले नेपाल एकीकरण, ब्रिटिशसँगको त्रासदीपूर्ण लडाइमा प्राप्त प्रदर्शित बीरता र सातसालको प्रजातन्त्र प्राप्तिको उत्सर्गबाहेक पुर्खाबाट त्यस्तो कुनै बिरासत पाएनौ जसको ब्याज हामीले खान सकौं । अंग्रेजसँगको लडाईंमा पानीमात्र खाएर खुकुरी नचाएका बीरबीरांगनाको रगत र पसिनाको ब्याज हामीले अझै खाइरहेका छौं बीर गोर्खार्ली भनेर । त्यसबाहेकका केही सपूतहरुका लोकोपकारका खातिर गरिएका आत्मोत्सर्ग पक्कै प्रेरणादायी छन् तर देशको संगठित समूहबाट गरिएका त्याग र बलिदानको ब्याज नै आगामी पुस्ताले खान पाउने रहेछ । हाम्रा भावी सन्ततिका लागि सुनौलो क्षितिज खोल्न त्याग र उत्सर्ग गर्नुपर्ने संगीन घडी अहिले नेपाली कर्मचारीतन्त्रमा आएको छ ।

अवश्य पनि भोको पेटले भजन गाउन कठीन हुन्छ तर के पनि सत्य हो भने सच्चा भक्तहरु भोको हुनुमै गौरव गर्छन् । एउटा स्नातकोत्तर गरेको कर्मचारी (ऊ खरिदार पनि हुनसक्छ) ले अहिले जति तलब पाउँछ, ऊ सचिव नै भएपनि उसले पाउने तलव उसको बालसखा ( जसले तीन कक्षा पास गर्न सकेको थिएन) ले दुबइमा कमाएको मासिक आम्दानीको आधा पनि हुँदैन । सँगै मुखियामा नियुक्ति पाएको साथी अमेरिका भासिएको छ, उसका छोराछोरी निजी गाडीमा महङ्गो स्कूल जान्छन् र आलिसान बंगलामा बस्छन् तर उसलाई चाचानाना र चिचिपापाकै पिरलो छ । हो यस अवस्थाबाट गुज्रेको छ अहिलेको इमान्दार कर्मचारीबर्ग (सबै होइन) । यस हिसावले नेपालमा कर्मचारीको अवसर लागत (अपर्चुनिटी कस्ट) निकै उच्च छ र प्रतिफल न्यून तर पनि एउटा टेक्ने हाँगो छ, त्यो हो –स्वदेश सेवामा अर्पेको जीवन ।

इतिहासका केस्रा केलाउने हो भने नेपाली कर्मचारीतन्त्र सधैं घडीको पेण्डुलमभन्दा बढी केही हुन सकेको छैन न त यसले कुनै आदर्श नै स्थापित गर्न सकेको छ । यो सधैं शक्तिका पछाडी पसिना सुँघ्दै हिड्छ, स्वाभिमानलाई चाकरीको बेदीमा बली दिन्छ र आदर्शलाई बाध्यताको कात्रो ओढाएर राष्ट्रिय स्वार्थको मलामी जान्छ । यो बौद्धिक छ तर सबै बुद्धि सत्ताको ताबेदारीमा खर्चन्छ र आफूलाई कुरुप पार्छ ।

पंक्तिकारले  केहीबर्ष अघि काठमाण्डौका कर्मचारीहरुबीच गरेको अध्ययनले के देखाएको छ भने धेरै कर्मचारीहरु आफ्नो दक्षताको क्ष्ोत्रभन्दा बाहिर काम गर्न बाध्य छन् । पहिले कुन कुरा निर्णय गर्ने भन्ने स्पष्ट एजेण्डा अधिकांश निर्णयाधिकारीमा छैन (उनीहरुको बिचारमा ‘माथिको आदेश’ लाई नै पहिलो प्राथमिकता दिनुपर्छ), कर्मचारीतन्त्र हाकिममुखी छ (हाल यसमा परिवर्तन आएर राजनितीक शक्तिमुखि हुँदै गैरहेको छ), प्राबिधिक कर्मचारीहरुमा मात्र कार्यस्पष्टता छ, साठी प्रतिशत कर्मचारीहरु त्यस्तो निर्णय मन पराउँछन् जसले भविश्यमा असुरक्षित नभइयोस् (तदर्थबादी निर्णय), असी प्रतिशतले आफ्नो निर्णयबाट सेवाग्राहीमा पर्ने लागत–लाभ बिश्लेशण नगरी प्रकृयागत निर्णय गर्छन् र “भोली” र “प्रकृया मिलेन” भन्ने शब्दावली छयासी प्रतिशतलाई प्रिय लाग्छ । चौवन्न प्रतिशत कर्मचारीहरु बिवेकसम्मत निर्णय गर्ने वातावरण नभएको गुनासो गर्छन् ।

सेवाग्राहीका मतमा छिटो सेवा पाउनका लागि सुन्नुपर्ने “चिया खर्च” राष्ट्रिय लज्जाको बिषय हो । काम फत्ते गर्न चिनजानको कर्मचारी हुनु सर्वाधिक सहज उपाय हो भने नेताबाट दवाव दोस्रो उपाय । छ्यहत्तर प्रतिशत सेवाग्राहीमा नेपाली कर्मचारीतन्त्रले बिवेकशील निर्णय गर्छ भन्ने विश्वास छैन ।

यद्यपि यो अध्ययनको निष्कर्षलाई सामान्यीकरण गर्न त सकिंदैन तर पनि यसले नेपाली कर्मचारीतन्त्रको छबिछायाँलाई स्पष्ट प्रतिबिम्बित गर्छ । के यो भासबाट उम्कने बेला भएन अब ? अवश्य पनि राजनैतिक अस्थिरता र उच्च अवसर लागतका हिसावले नयाँ आँट र कार्यदिशा जोखिमपूर्ण र चुनौतियुक्त छ तर एक अविचलित आस्था र दृढ संकल्पका अँगाडी सबै तगाराहरु दावानलको अगाडी परालको पहाड भष्म भएझैं खत्तम हुँदै जान्छन् । होइन हामीलाई भूपीका शब्दझैं यो अलमल नै प्रिय छ, यो धरमर नै प्रिय छ भने दक्ष कर्मचारीहरुले पनि बिख्यात साहित्यकार कालीप्रसाद रिजालले हालै अतित सम्झेर आफू सफल साहित्यकार र सफल कर्मचारी दुबै हुन नसकेकोमा गरेका प्रलाप सबैको नियति हुनेछ । गौरवपूर्ण र राष्ट्रहीतको लागी लिइएको अडानले जागीरै जान्छ भने पनि त्यो बलिदानीका लागि अव तयार हुनैपर्छ ।

अबको कार्यदिशा
आदर्शको बाटो कण्टकयुक्त, असजिलो र साँघुरो हुन्छ तर अगम्य नै हुँदैन । हो, हामीमा त्यही आदर्श चाहिएको छ, आजैबाट हामीले राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर जनसेवाको प्रण गर्नैपर्छ । नेताहरुलाई कसरी बजेटखर्चको हिसाव मिलाउने भन्नेमा आफ्नो योग्यता र बुद्धि खर्च नगरी एकएक पैसा कसरी राष्ट्रहीतमा लगाउन सकिन्छ भन्ने मार्गदर्शनमा लगाउनु पर्छ । एउटा आदर्श कर्मचारी संगठनमा भएको नैतिक बल कुनै पनि राजनैतिक बलभन्दा कमजोर हुँदैन । हामीले जुन समयको लागि जनताको पसिनाबाट तलब खाएका छौं त्यो एकएक पल जनसेवामै लगाउनु पर्छ । आर्थिक प्रलोभनबाट यो सोचेर मुक्त हुनुपर्छ कि हामीले आधा पेट खाएर बनाएको समृद्ध नेपालमा हाम्रा सन्ततिले यसको भुक्तानी पाउनेछन् । उच्च पदस्थमा “पदेन बुद्धि” को मानसिकतालाई तुरुन्त हटाउनु पर्छ, बुद्धि र बिचारका लागि बुढो हुनै पर्ने होइन । संसारको निर्माण युवाहरुले नै गरेका हुन् । नेपालमै पनि बि.पि., मदन र गगन बुढो भएर बिचारशील र युगद्रष्टा भएका होइनन् । त्यो कर्मचारीका हकमा पनि लागू हुन सक्छ ।

देशले राजनैतिक कायापलट गरेको तर राजनैतिक नेतृत्वले स्पष्टदिशा निर्देश गर्न नसकेको यस इतिहासकै सर्वाधिक संगीन मोडमा कर्मचारीतन्त्रले यथास्थितिबादलाई सिद्धार्थ गौतमले दरवार त्यागेजस्तै त्यागेर “राष्ट्रनिर्माणका लागि मेरो जीवन” भन्ने मानसिक उर्जा बोकेर प्रगतिशील र साहसिक निर्णय गर्ने, सबै कर्मचारीमा समभाव राख्ने, सेवाग्राहीलाई तुरुन्त सेवा र उनीहरुको सम्मान गर्ने, लोभबाट मुक्ति र “उज्ज्वल नेपालको लागि मेरो कार्यालय समय” भन्ने दृढसंकल्पका साथ अघि बढौं । हामीसँग प्रबिधि कमजोर छ तलब दुर्बल छ र राजनैतिक हस्तक्षेप प्रबल छ तर ती सबै हाम्रो दिशाहीनतामा मात्र मौलाएका हुन्, हाम्रो राष्ट्रनिर्माणको अठोटसामू ती पानीका फोका सरह बिलाउने छन् ।

अन्तमा, ‘आन वास्वो’का सटीक शब्दहरुमा –“एउटा प्रबुद्ध कर्मचारीतन्त्र जुन बर्गीय स्वार्थबाट माथि उठेर राष्ट्रका लागि आत्मोत्सर्ग गर्न तयार हुन्छ, द्वन्दरत सामाजिक शक्ति र गुटहरुबीच मिलनभाव ल्याउन र सामाजिक न्याय प्राप्त गर्ने उत्तम यन्त्र त्यही हो ।” दलीय स्वार्थ र सामाजिक न्यायहीनता मौलाएको यस संगीन घडीमा समग्र कर्मचारी उत्सर्गका लागि तयार होउँ । शुरु आफैबाट र आजैबाट गरौं । हाम्रा भावीपीढिले हामीलाई सम्झने एउटा सानो चौतारी हाम्रा नाममा चिन्न सकून् ।

सान सेबाष्टियन, स्पेन
२०६८ आश्विन ६

गरीबहरूलाई सुरक्षित आवासको पहल होस्


बिहीबारको नागरिक मुखपृष्ठमा छापिएको खरानीमा रूपान्तरित औरही गाउँको तस्वीर देखेर असाध्यै मन रोयोप्रत्येक बर्षको गर्मीयामसँगै शुरू हुने भीषण आगलागीले यसरी नै हजारौं हजार नागरिकको बिचल्ली हुने गरेको छ । यसले गर्दा प्रत्येक बर्षको मेहनत नयाँ झुप्रो खडा गर्नेमै जानेहुँदा ती गरीबहरूको जीवन पनि गरिबीको दुष्चक्रभित्रै खरानी हुने गरेको छ । घरसँगै लुगा, पुस्तकहरू र खानेकुरा सखाप हुँदा विद्यार्थीहरू विद्यालय जान सकेका छैनन । बिनाशले बालबालिकामा पारेको मानसिक असर त छँदैछ, यसले नयाँ पुस्ता पनि गरिबीको दुष्चक्रबाट कहिल्यै निस्कन नसक्ने कुरा निर्बिवाद छ ।
बैशाख महिनाको अन्त्य सम्म् केबल २० प्रतिशत मात्र विकास बजेट खर्च हुनसकेको खवर आइरहेको छ । तराको राजनीति गर्नेहरूला केबल सत्तालिप्सा र निकृष्ट ब्यक्तिगत स्वार्थको जंजीरले सधैं बाँधेको छ । ती गरीबहरूका बारेमा सोंच्ने फुर्सद उनीहरूला छैन, छ त केबल आफ्ना भाइभतिजाला ठेक्कापट्टा दिलाएर कसरी कमाउन सकिन्छ भन्ने मात्र ।
जबसम्म घर निर्माणको परम्परागत शैलीमा परिवर्तन ल्याउन सकिन्न तवसम्म हामीले प्रत्येक बर्ष आगलागी पीडितका लागि राहत संकलगन गर्नुपर्ने र उनीहरू सधैंभरी नयाँ झुपडी निर्माणमा लाग्नु पर्ने हुन्छ । यसले गर्दा गरिबीको दुष्चक्रबाट उनीहरूलाई कहिल्यै माथि उठ्न नसक्ने कुरा घामजस्तै छर्लंङ्ग छ । तसर्थ कंक्रिट टायल (वा अरू कुनै सस्तो र कम ज्वलनशील बस्तु) को छाना सहितका कंक्रिट ब्लकका स-साना घर (जो ४०/५० हजारमा तयार हुन्छन्) बनाउनका लागि सरकारी, नीजि र सामाजिक संस्थाको संयुक्त अभियान चलाउन सकिन्छ । त्यस्ता घरहरू आगलागीबाट बच्न मात्र नभै बिजुली जडान गर्न पनि सुरक्षित हुनेछन् । गाउँमै बिजुली आएपनि उपयुक्त घर नभएका कारणले त्यसको सुविधाबाट बञ्चित भएका गरीबहरू पनि यसबाट लाभान्वित हुनेछन् । तसर्थ आगामी बजेटमा अत्यन्त गरीबहरूका लागि कम्ती  ५००० सस्ता र सुरक्षित घर बनाउन बजेट बिनियोजन गरी सरकार, सामाजिक संस्था र सम्बन्धित लाभार्थीको योगदानमा त्यस्तो कार्यक्रम लागू गर्नु उपयुक्त हुन्छ । प्रत्येक बर्ष ५००० हजारका दरले मात्र बनाउँदा पनि केही बर्षमै आगलागी सम्बेदनशील क्षेत्रका बिपन्नका लागि आवश्यक घर निर्माण गर्न सकिन्छ। गरिबी निवारण कोषले पनि बिपन्नका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्न सक्छ। सरकारले केही करोड बजेट छुट्याएर बर्षेनी अर्बौंको आर्थिक र खर्बौंको मानसिक क्षति रोक्न सकिने हुँदा यसका लागि सबै पक्षबाट तत्काल पहल होस् ।
भीष्मकुमार भूसाल
हालः विद्यावारिधि शोधार्थी, देउस्तो विश्वविद्यालय, स्पेन
2068/01/22

बारीमा हीरा छ, कोइला माग्न हिड्छैां हामी


के छैन हामीकहाँ ?

भर्खरैको प्रधानमन्त्रीको भारत भ्रमण कत्तिको सफल हुन्छ भन्ने कुरा नेपालले कति माग्न सक्छ भन्ने कुरालाई मानक बनाएर प्रस्तुत गर्ने हाम्रो शैलीले एकपटक फेरी खिन्न तुल्याएको छ । हामीले कति माग्न सक्यौं भन्ने होइन, एउटा सार्वभौम राष्ट्रको सरकार प्रमुखले पारस्परिक समानताका कायम गर्न सक्ने दिशामा के गर्न सक्नुहुन्छ र हाम्रो स्वाभिमान उचो पार्ने गरी प्रस्तुत हुन सक्नुहुन्छ कि हुन्न भन्ने हो । हामी आफ्नो बारीको कान्लामा पुरिएका हिराका टुक्राहरु अलिकति खनेर निकाल्न भन्दा मोतीको खोजीमा समुद्रतिरको यात्रा गछौं र त्यहाँ नपुग्दै सकिन्छौं । अव यो अवस्थाको अन्त्य गर्न लाग्नु पर्ने वेला आएको छ । विश्व इतिहासमा मागेर कोही धनी भएको अभिलेख छैन । वर्तमानमा हाम्रो सम्पन्नताका केही उदाहरणहरु हेरौं र यी सम्पदारुपि हीराहरुलाई तत्काल उपयोगमा ल्याउन सिकौं ।

आर्थिक बृद्धि र विकासका लागि चाहिने मुख्य कुराहरु हुन् ः मानव संशाधन, प्राकृतिक स्रोत, भूमी, उद्यमशीलता, बजार आदि । अहिले यी सबै कुराहरु हाम्रो अनुकूल छन् । केही उदाहरणहरु हेरौं ः
प्राकृतिक सम्पदाका हिसाबले हेर्दा जलविद्युतका क्षेत्रमा विश्वकै दोस्रो धनी भनेर घोषणा गरिएको दशकौं भइसक्यो । त्यसमाथि भर्खरै जापानको नेशनल इन्स्टिच्यूट अफ एडभान्स इन्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजीको अध्ययन अनुसार हिमाली क्षेत्रबाट विश्वकै सबैभन्दा सस्तो सौर्य उर्जा निकाल्न सकिन्छ । जति विद्युत उत्पादन गरेपनि बिशाल छिमेकी देशहरुमा यति ठूलो बजार छ कि हाम्रो रातो माटो पनि बिक्छ, बिजुलीको कुरै छोडौं  यसमा ढीलो नगरौं । हामीले यो सम्पदा दोहन गर्न ढीला ग¥यौं भने छिमेकी बजारले विद्युत आपूर्तिको अर्कै विकल्प खोजीसक्नेछ ।

 प्रकृतिले हिमाल, पहाड र तराइको संरचना दिएको छ । विश्वभर आयुर्वेदिक उपचार पद्धति फैलिरहेको बेला हिमाली क्षेत्र जडीबुटीबाट मात्रै पनि अपार आयआर्जन गर्न सक्छ । पहाडले बिभिन्न जातका फलफूल र नगदे बाली उब्जाउन सक्छ, तराइले खाद्यान्न । यति माग्यमानी देश कमै हुन्छन् ।

जनशक्तिः भर्खरै सार्वजनिक नेपालको जनसंख्या सर्भेक्षणले नेपालको उत्पादनशील जनसंख्या उच्चतम तहमा रहेको देखाएको छ । विकासशील देशमा जस्तो परनिर्भर जनसंख्या बढ्ने क्रम नेपालमा घट्दो छ । हाम्रो सांस्कृतिक संरचनाले बलियो पारिवारिक संरचना छ । यस्तो बेलामा यी पाखुराहरुलाई बढीभन्दा बढी राष्ट्रनिर्माणमा लगाउँ । बिप्रेषणले देश धनी हुने भने फिलिपिन्स अहिलेसम्म विश्वकै धनी भइसक्ने थियो ।
अर्कोतिर नेपालीहरुले बिदेशमा गएर पनि निकै मिहिनेती  र इमान्दारको दर्जा पाएका छन् । केही बर्ष अघिसम्म पनि आन्दोलन र राजनीतिमा बढी रमाउने श्रमिकहरुले बिदेशका अनुभवबाट पाठ सिकेर आएका छन् । बिदेशकै तीता अनुभवले त्यहाँबाट फर्केका नेपालीहरुलाई स्वरोजगारतर्फ उन्मुख हुन निकै प्रेरित गरेको छ ।

नेपालका कानूनहरु यति पर्याप्त छन् कि विकसित देशहरुले नेपाल लगायतका देशहरुबाट सिक्ने कुरा छन् । विकसित देशमा भन्दा हामीकहाँ धेरै कुरामा अनुकरणीय अनुशासन छ ।  उदाहरणको लागि, विकसित देशमा विश्वविद्यालयका कक्षहरु पनि धुम्रपानले गन्हाएका हुन्छन् । हामीले सार्वजनिक स्थानमै धुम्रपान गर्न नपाउने कानून कार्यान्वयन गर्दैछौं ।

आर्थिक बृद्धिको छचल्किने प्रभाव (Spillover effect) अवका विश्वशक्तिहरु भारत र चीन नै हुन् । आफ्ना छिमेकी राष्ट्रहरु विश्वशक्ति भएको समयमा त्यहाँ भएको समृद्धिको बाछिटा हामीले सोहोर्न सक्नु पर्छ । हामीकहाँ त्यसको स्पीलओभर प्रभाव प्राप्त हुने ठूलो अवसर छ ।

पर्यटनः बुद्धको जन्मभूमी नेपाल र चीनमा बुद्ध धर्मको पुनरुत्थानले धार्मिक पर्यटनको सम्भावना निकै बढ्दो छ । हिन्दू र बुद्ध धर्मावलम्बीका तीर्थहरुको प्रचार र प्रवद्र्धनबाट मात्रै हामीले लाख होइन करोडौं धार्मिक पर्यटक भित्राउन सक्छौं ।

राजनीतिक दलहरु शान्ति स्थापनातिर चासो दिन थालेका छन् जसले संविधान र राजनीतिक स्थायित्वको अपेक्षा गर्न सकिन्छ ।
इतिहासले नै हामीलाई निकै ठूलो अवसर दिएको छ अहिले ।

२०६८ बैशाख १५ गते
सान सेबाष्टियन, स्पेन

बाबुराम भट्टराइलाई खुला पत्र


एउटा नागरिकको पत्र प्रधानमन्त्रीलाई

प्रिय प्रधानमन्त्री !
मलाइ नोकरशाही औपचारिकताको “सम्माननीय प्रधानमन्त्रीज्यू” भनेर सम्बोधन गर्न भन्दा “प्रिय प्रधानमन्त्री” भनेर आत्मीय सम्बोधन गर्न मन लाग्यो । नेपाली नागरिकहरुले आफ्ना राजनीतिक आस्थाबाट निस्पृह रहेर तिमीलाई अन्धकारमा उज्यालोको राँको लिएर आएको भनेर सहर्ष तिम्रो स्वागत गरेका हुन् । तिमीलाई इतिहासको गर्तमा धूलीधूसर भएर बिलाएको हेर्न होइन, देशको समृध्दिका र प्रतिष्ठाका ध्रुवताराको रुपमा हेर्न चाहेका हुन् ।

भदौ ११, २०६८ को दिन जब तिमी प्रधानमन्त्रीमा निर्वाचित भयौ त्यसवेला म दुर्गम पहाडको एउटा दलित बस्तीमा हिंड्दै थिएँ । साँझ परिसकेको थियो । त्यहाँ एउटा कोलाहल सुनियो । तिमी प्रधानमन्त्री भएको खुसियालीमा त्यो दलित बस्ती कुनै राजनीतिक आस्थाको घेरा तोडेर हर्षबढाइ गरिरहेको थियो र दशैंका लागि किनेर राखेको राँगो काटेर हर्ष बढाइ गर्ने तयारी गर्दै थियो । “दशैंमा देखा जाएगा, यी मान्छेले अब देशाँ केही गर्चन् गर्चन्, दशैं ता आजै मनाउन पर्च” भन्दै थियो त्यो समूह । आफ्नो करिब चार दशकको जीवनमा दर्जनौं प्रधानमन्त्रीहरु निर्वाचित वा मनोनित भएको देखियो, सुनियो तर जनताका आँखा यसरी कुनै व्यक्ति पदासीन हुँदा चम्केको मैले कहिल्यै देखेको थिइन ।

जब तिमीले अर्थमन्त्रीको कार्यकालमा करिब उनान्साठी हजार बिदेश भ्रमणवापतको रकम आफूले दोहोरो भ्रमण खर्च नलिने भनेर राज्यकोषमा फिर्ता ग¥यौ, त्यसले तिम्रो ख्याति करोडौंले बढायो । जब तिमी मुस्ताङ्ग गाडी चढेर एउटा नमूना देखायौ, ढोंगीहरुले जे भने पनि नेपाली जनताका आँखा फेरी एकचोटी तिम्रा आदर्शले पुलकित भए । भदौ महिनाभरका खवरकागजहरु हेर्दा तिम्रा प्रशंसामा लाखौंलाख शब्दहरु खर्च भएका छन् । जनस्तरबाट निस्वार्थ त्यस्तो प्रशंसा नेपालको इतिहासमा कसैले पाएको छैन । ती सबै तिमीप्रति आमजनताका सपना, आशा र भरोशाका प्रतिध्वनी थिए । बजार अनुगमन र हेलो सरकारका तिम्रा पहलकदमीहरु बिरोधीहरुका आँखामा प्रचारको माध्यममात्र भएपनि जनताका आँखामा तिनका तिमीप्रतिको भरोशाका मूर्तता थिए । अध्ययनमा तिम्रो अब्बलताको उपयोग देशले अब गर्न लाग्यो भनेर हामी सबै हर्षित थियौं ।

वास्तविक नेताको परीक्षा संकटको बेलामा हुन्छ । हामीलाई थाहा छ, तिम्रो प्रधानमन्त्रीत्वको धरातल निकै कमजोर छ तर के यो नै जीवनको अन्तिम घडी हो प्रधानमन्त्रीमा रहिरहनलाई । तिम्रो सत्कर्मको निरन्तरता अविचलित रहेमा फेरी तिमीलाई विपक्षीहरुले नै काँधमा बोकेर पुनः प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराउन वाध्य हुनेछन् आफ्नो दलले रोक्न सक्ने कुरै हुने छैन । लोभीहरुका घेरामा सत्ताको उच्चतम आसनमा टिक्न खोजेर आफ्ना सुकीर्तिको क्षय बाहेक केही हुँदैन । पश्चिमाका आँखामा तानाशाह भएपनि सन् सत्तरीको दशकमा लिबियाका शासक कर्णेल गद्दाफीले लिबियाको बिशाल मरुभूमीमा कृत्रिम नदी निर्माण गरेर कृषिक्रान्ति मात्रै गरेनन् आफ्नो देशका नागरिकको प्रतिव्यक्ति आय समृद्ध देशको हाराहारीमा पु¥याएकै हुन् तर त्यस्ता राष्ट्रबादी नेताको पनि सत्तामोहले कीर्तिक्षय मात्र भएन, त्रासद अन्त्य पनि भोग्नुप¥यो । एउटा महापुरुष तवसम्म सत्तामा रहिरहन्छ जबसम्म उसले नयाँ नयाँ सुकीर्ति र आदर्शका इँटाहरु थ्पिरहेको हुन्छ । राष्ट्रनिर्माणका ती इँटा अलिकति पनि खिइन थाल्नु अगावै उसले आफ्ना सुकर्मको विरासत अर्को पुस्तालाई सुम्पन्छ । प्रधानमन्त्री भएको तीन महिनामै छोड भन्न खोजेको कदापी होइन, हामीले तिमीलाई कम्तीमा एक दशक यो देशको कार्यकारीको पदमा देख्न चाहन्छौं तर तिम्रा सच्चा आदर्श र बोलीमा अडिग हुने शर्तमा मात्र ।

तर कति छिटै तिमी गल्यौ? हामीले सत्तामा टाँसिइरहनका लागि अदालतले दोषी करार गरेका व्यक्तिको आममाफीको प्रस्ताव गर्ने, चारदर्जन मन्त्रीको जम्बो मन्त्रीमण्डलको नेतृत्व गर्ने प्रधानमन्त्रीको कल्पना गरेका थिएनौं तिमीबाट । यदि मन्त्री नपाएकै कारण अर्को समूहमा जाने सभासद्लाई मन्त्री बनाएर शक्ति सन्तुलन गर्न खोेजेको हो भने ती तिम्रा आडभरोसा होइन खिर्राको काठका खाँवाहरु सावित हुनेछन् । तिमीजस्ता विद्वान व्यक्तिले जातीय सन्तुलन मिलाउन चारदर्जन सल्लाहकार नियुक्त गरेको भनेर हास्यास्पद तर्क दिंदा हामीलाई लाग्नु लाज लागेको छ । अर्थमन्त्री छँदाको तिम्रो सफलता के जातीय सल्लाहकारबाट सम्भव भएको थियो? जातीय सन्तुलन चाहिएजति संसदमै थियो । तिनीहरुले प्रधानमन्त्रीलाई सल्लाह दिन नमिल्ने भनी संविधानमा प्रतिबन्धात्मक व्यवस्था पनि गरिएको थिएन । तर पनि तिमी गल्यौ । तिमीले प्रचण्डको प्रधानमन्त्रीत्व कालमा सुत्ने पलङ्ग, महंगो घडी र छोरालाई बिदेश घुमाउने जस्ता क्षुद्र लोभ त्याग्न नसकेर करोडौंको बदनामी कमाएको बिस्र्यौ । । देशमा साढे तीन दर्जन भन्दा बढी नागरिकको बस दुर्घटनाबाट एक चिहान हुँदा एउटा समवेदना पनि व्यक्त नगरी अमेरिका हानिने बाबुरामको कल्पना तिमीप्रति आशालु नेपाली जनताका मष्तिष्कमा थिएन ।

कुनै पनि गृहस्थी मानिसको सादा जीवनको अठोट परिवारको समर्थनबिना  पुरा हुन असम्भव हुन्छ । तिमीले जतिसुकै हिसिला म्याडमको क्षमताको चर्चा गरे पनि उनको राम्रा गाडी चढ्ने मोह, नातागोता भर्नाको अतिरेक आकांक्षा र अर्थ संकलनको मोहले तिमीलाई निरन्तर कलंकित तुल्याइरहेछ । हामीलाई थाहा छ, तिम्रा जीवनमा भोगबिलासको कुनै महत्व छैन तर एकातिर तिमी चाणक्यको शैलीमा घरको काममा राज्यको तेल खर्चेर दियो नबाल्ने प्रतिबद्धता देखाइरहेका हुन्छौ अर्कोतिर करोडौंको राज्यकोष खर्चेर कार्यकर्तालाई उच्चतहको सुविधा सहित कथित सल्लाहकारमा भर्ना गरिरहेका हुन्छौ । यदि तिनै लोभीपापीहरुको आडबाट मात्र सत्तामा टिकीरहनु पर्छ भने त्यो कुर्सीलाई तिलाञ्जली किन नदिने ? बापू महात्मा गान्धीले आजीवन राज्यसत्ताको भोग गरेनन् र पनि ती विश्वमा बुद्ध जत्तिकै पूजित छन् । काका हो ची मिन्हले प्रधानमन्त्री हुँदासम्म पनि टायरका चप्पल लगाएकै हुन् । हामीले तिमीबाट देशमा सुव्यवस्था, सुशासन, संबृद्धि र राष्ट्रिय प्रतिष्ठाको बीउ रोपेर छोड्ने अपेक्षा गरेका थियौं ताकि त्यसपछि सत्तामा आउनेहरुका लागि तिमी आदर्शका पुञ्ज बन्न सक । नभए अर्को चुनावमा जनताले तिमीलाई नै त्यो बिरुवा हुर्काउने जिम्मेवारी दिउन् ।

प्रिय प्रधानमन्त्री ! जति दिन प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन्छौ, जनताका नजरमा आदर्शका पात्र भएर बस, तिम्रो पार्टी वा अन्य पार्टीका शकूनीहरुले जे सुकै भनून् । तिम्रो मितब्ययिता र कानूनी राज्यको  एकलब्य चेष्टा यति छिट्टै किन स्खलित भैरहेछ ? हाम्रा भोलीका सन्तानलाई कुनै आदर्श पुरुषको नाम लिनु पर्दाका वखतमा तिम्रो नाम तिनका मुखमा सरर्र आओस् । शान्त, सभ्य, समृद्ध र सुन्दर देशका लागि जग हाल । पारिवारिक लोभ र मोहबाट माथि उठ, अपराधीलाई आफ्नै परिवारको सदस्य भए पनि मोलाहिजा नगर । हाम्रा आँखामा तिमीप्रतिका विश्वास, भरोसा र आस्थालाई बाँचीरहन देउ ।

(बाबुराम भट्टराई प्रधानमन्त्री भएको १ बर्ष पुग्दा लेखेको पत्र जुन इमेल गरी पठाएको थिएँ। त्यसको कुनै प्रतिकृया आएन। उनले पढे या उनका निजी सचिवले इमेल नै डिलिट गरे थाहा भएन)



हामी माकुराका सन्तान


हामी माकुराका सन्तान

फेरी अर्को एउटा बहुराष्ट्रिय कम्पनीलाई नेपालबाट लखेट्ने प्रपञ्च नेपाल यूनिलिभरका मजदूर (?) बाट भएको खवर आएको छ । कोडाक, कोलगेट पाल्मोलिभ, सूर्य गार्मेन्टस हुँदै यो क्रम अब नेपाल युनिलिभरमा सरेको छ । भारतसँग बिप्पा सम्झौता, लगानी बोर्डको गठन जस्ता नीतिगत आधार तयार पार्नेतिर सरकार लागे पनि बैदेशिक लगानी भित्रिनका लागि नीतिले मात्र केही गर्दैन भन्ने कुरातिर सरकारको ध्यान पुगेको देखिंदैन । बैदेशिक लगानीका तीन मुख्य शर्तहरु हुन् - औद्योगिक वातावरण, उत्पादित बस्तुको बजार र कानून ।

जसरी पुस्तकालयमा रहेका पुस्तकहरु हेर्दैमा नपढी लाइब्रेरियन विद्वान हुँदैन, त्यस्तै जतिसुकै सम्झौता र कानून बनाए पनि जवसम्म ती कार्यान्वयनमा आउँदैनन् तवसम्म ती केवल खोष्टा कागज मात्र हुन्छन् ।
विश्व बैंकको Doing Business Index 2012 ले नेपालको स्थान विश्वका १८३ अर्थतन्त्रमध्ये १०७ औं स्थानमा देखाएको छ । भूपरिवेष्टित राष्ट्र भएको कारणले मात्र सीमापार व्यापारमा नेपाल विश्वको १६२ औं स्थानमा पर्दछ अर्थात नेपाली निर्यातले प्रतिस्पर्धा गर्न निकै कठीन छ । यस अवस्थाले गर्दा नेपालमा बैदेशिक लगानी आकर्षित हुने अवसथा नै छैन । त्यसमाथि श्रमिक उत्पादकत्व हेर्ने हो भने दक्षिण एशिया संसारकै कम उत्पादकत्व भएको क्षेत्र हो र त्यसमा पनि नेपालक दक्षिण एशिया पनि सबैभन्दा कम श्रमिक उत्पादकत्व भएको देश हो ।

श्रमिकका हक र अधिकारको प्रत्याभूति गर्नु रोजगारदाताको कर्तव्य हो तर के पनि बिर्सनु हुँदैन भने जुन देशबाट मासिक ५ देखि ९ हजार तलबका लागि एक लाख भन्दा बढी खर्चेर नेपालीहरु अरबका मरुभूमी र मलेशियामा पापड बेलिरहेका छन् त्यही देशमा तुलानात्मक हिसाबले असाध्यै कम काम गरेर (अझ मजदूर नेताहरुले त कामै नगरेर) मासिक रु. २१ हजार भन्दा बढी तलब सुविधा पाउँदा पनि थप आन्दोलन गर्नु भनेको हामी नेपालीको माकुरे प्रबृत्ति नै हो । माकुराले बच्चा आफ्नो पेटमा हुर्काउँछ, जब ती बाहिर निस्कन समर्थ हुन्छन् तिनले आफ्नै आमालाई खान्छन् र माउको अन्त्य हुन्छ । यो प्रबृत्तिको अन्त्यका लागि सरकारले नै अग्रसरता देखाउँदैन र राजनीतिक दलले आफ्ना कथित कार्यकर्तालाई छाडा छोड्छन् भने नेपालमा केही बर्ष भित्रै माकुराका सन्तानहरुले देशमा एउटै उद्योग पनि बाँकी रहन दिने छैनन् । रुख हुर्कन दिए पो धेरै फलको आशा गर्न सकिन्छ, बढ्नै नदिने, हाँगा छिमलीरहने, जरा काटीरहने हो भने रुख कसरी हुर्कन्छ र धेरै फलको आशा गर्ने ? यो प्रबृत्तिको अन्त्य नगर्दासम्म कुनै बैदेशिक त के स्वदेशी लगानीको लागि पनि फोस्रा भाषण नगरे हुन्छ ।

भीष्मकुमार भूसाल
विद्यावारिधि शोर्धार्थी (अर्थशास्त्र)
स्पेन
2068/10/4

Tuesday, January 31, 2012

भूटानी शरणार्थी तेस्रो देश पुनर्स्थापनाका स्वार्थहरू

 (यो लेख सन् २००८ मे महिनामा नेपाल जापान डटकममा प्रकाशित भएको थियो । समयत्रम सँगै शरणार्थीहरू तेस्रो देश पुनःस्थापनामा लगिए । शरणार्थी आन्दोलन कमजोर बन्दै गएको परिप्रेक्ष्यमा कसरी यो आन्दोलन तुहाउन थरिथरीका भूमिका खेलिएका थिए भन्ने बुझ्न सहयोगी हुने लागेकोले पुनः उध्दरण गरिएको हो)

भूटानी शरणार्थी तेस्रो देश पुनर्स्थापनाका स्वार्थहरू
“हालैका बर्षमा जापानले बिदेशीहरुको आगमन र बसोवासमा नरम नीति अपनाएको हो ?” प्रश्न गरियो— योकोहामा युनिभर्सिटीका एकजना प्राध्यापकसँग । “अवश्य ! तर ,” उनले भने — “ जवसम्म तपाईं हाम्रो दैनिकीलाई दखल पु¥याउनु हुन्न, जवसम्म तपाईं हाम्रा छोराछोरीले प्रतिस्पर्धा गर्ने जागीरमा प्रतिस्पर्धी बनेर आउनुहुन्न र जवसम्म तपाईं हाम्रो संस्कृतिमा दखल पु¥याउनु हुन्न, तबसम्म मात्र” ।

यस प्रसंगले निकट भविश्यमा अमेरिकाको निगाहमा अमेरिका लगायतका युरोपियन देशहरुमा पुनस्र्थापनाको तयारी भै रहेको भूटानी शरणार्थीको दीर्घकालीन परिणामको सानो झझल्को दिन्छ । अवश्य पनि बिगत १७ बर्षदेखि राज्यबिहीन भएका भूटानी शरणार्थीहरुको भागिरथ प्रतिक्षाको पीडा, तिनका नयाँ सन्ततिको निर्दोष बालमष्तिष्कमा जन्मजात थोपरिएको अनागरिकको भयावह दुस्वप्न, तिनका शिक्षा, रोजगारी र नागरिक हैसियतको अभाव र अनिश्चितताको पीडा अकल्पनीय छ । भोग्नेहरुलाई मात्र थाहा छ, त्यस पीडाले उनीहरुलाई रातदिन कति डसिरहेछ । अझ कति डसिरहने हो त्यसको अनिश्चितताको कल्पना मात्रले पनि अझ कहाली लाग्दो भविश्य दृष्टिगोचर हुँदा तेश्रो देशमै गएर बरु आफ्नो रोजीरोटी गरेर बाँच्न पाए पनि हुँदो हो भन्ने भावना कतिपयमा प्रबल हुनुलाई अन्यथा मान्न सकिन्न ।

के प्रजातन्त्र र मानव अधिकारको बिश्वप्रवक्ता (स्वघोषित?) अमेरिका निस्वार्थः दयालु भएर ६०००० भूटानी शरणार्थीहरुलाई देश भित्राउन खोजेको हो ? अवश्य पनि मानवीयताको भावनामा पुरै शंका गरिहाल्न त सकिदैन तर पनि यस्ता कैयन यक्ष प्रश्नहरु छन् जसको उत्तर तेश्रो मुलुकमा पुनर्थापना लागि तयार हुनु अगावै खोजिनु पर्छ ।

हुनत अमेरिका आफैमा आप्रवासीहरुको देश हो । यस हिसाबले पनि आप्रवासीप्रति अमेरिका तुलनात्मक रुपले उदार देखिन्छ । तर पनि जापानी प्राध्यापकले भनेझैं जवसम्म तपाईं पूर्ण नागरिकका अधिकार प्रयोेग गर्नहुन्न , अर्थात तपाईं रैथाने बासिन्दाका समकक्षी प्रतिस्पर्धा गर्न खोज्नुहुन्न , आफ्नो निजत्व लागु गर्ने प्रयास गर्नुहुन्न  तवसम्म त्यहाँ अवश्य बस्न सक्नुहुन्छ । मानौं तपाईंहरुलाई अमेरिकी नागरिकसँग कुनै कुरामा पनि कमी हुन दिइएन, के तपाईं त्यहाँ तपाईंको आफ्नोपन पाउनुहुन्छ ? के तपाईं आफ्नो देशमा जस्तै राजनीतिक प्रतिस्पर्धा गर्नसक्नु हुन्छ ? के तपाईं त्यहाँ उच्च ओहदामा पुग्ने र स्वाभिमानपूर्बक बाँच्ने कल्पना गनुहुन्छ ? तपाईं त्यहाँ  आजीवन अनुगृहित भएर बस्नुपर्नेछ र तपाईंका सन्तानहरुपनि । सधैं खुम्चिएर, कुँडिएर ।

आखिर किन अमेरिका भूटानी शरणार्थीहरु प्रति यति दयालु देखिएको छ त ? यो दयालुपना शरणार्थीहरुप्रति हो या निरंकुश भूटानी शासकहरुप्रति ? अमेरिका जसले इराकमा, अफगानिस्तानमा र अन्य बिभिन्न ठाउँमा मानव अधिकार र प्रजातन्त्रको नारा दिएर तबाह पार्नसक्छ तर सवालाख भूटानीले करीव दुई दशकसम्म राज्यबिहीन हुँदा उनीहरु लुटिंदा, मारिंदा तिनका पक्षमा कत्तिको आवाज उठाएको छ ? अझै पनि भूटान जाने पर्यटकलाई नेपालीभाषी भएका दक्षिणी बस्तीहरुमा जान दिइँदैन (तिनीहरुमाथि गरिएको अत्याचारको पोल खुल्ला भनेर) त्यो कुरामा के अमेरिका अनभिज्ञ छ ?

शरणार्थी अमेरिका लगेर उसले आफ्नो देशमा औद्योगिकीकरण प्रक्रियामा अभाव हुँदै गएको निम्नस्तरको सीपबिहीन जनशक्ति, जुन उसको आर्थिक समृद्धिका अपरिहार्य हुन्छ (किनकि रैथाने अमेरिकीहरु “मसल” मा आधारित श्रम गर्न तयार छैनन, तिनीहरुले पाएका शिक्षाका अवसरले पनि तिनीहरुलाई मष्तिष्कमा आधारित श्रम गर्न बाटो खोलेको छ) त्यो अभाव सोझा र मिहिनेती शरणार्थीबाट पुरा गर्न चाहन्छ । डि.भि.चिठ्ठाको पनि आशय के त्यही त होइन ? अर्कोतिर यसको राजनैतिक पल्ला अझ गहु«ंगो छ । भारतले टुलुटुलु हेर्ने र उसले भारतको डिफ्याक्टो सुरक्षा छाता (कानूनत ः गत फेब्रुअरीको भूटान—भारत मैत्री सन्धीले भूटानको सार्वभौमसत्तामा प्रश्न उठाउने ठाउँ रहेन ) का नागरिकहरुलाई आफ्नो देशतिर डो¥याएर आफ्नो बिश्वब्यापी प्रभावलाई थप बलियो बनाउन चाहन्छ भने उसको यथास्थितिबादी शक्ति प्रतिको अटुट आस्थालाई कायम गर्दै भूटानी निरंकुश शासकलाई बक्सिस दिन चाहन्छ थप जातीय र धार्मिक सफायाको बाटोमा अघि बढ्न । यसको लागि भूटानी शरणार्थी मार्फत भूटानमा बढ्दै गैरहेको कम्यूनिष्ट प्रभाव भन्ने काल्पनिक बहाना पनि मिल्दै गएको छ , जुन उसको लागि सधैं कडा एलर्जीको रुपमा रहेको छ ।

के अमेरिका भूटानमा हालका राजबंशको प्रथम राजाले सन् १९०७ मा राज्यारोहण गर्नु अगावै नै त्यहाँका दुई मध्ये एक शक्तिकेन्द्र , पारोको राज्य संचालनकर्ता नेपालीभाषी भूटानी थिए भन्ने कुरामा अनभिज्ञ छ ? के त्यतिबेला नै भूटानको सरकारी कामकाजको भाषा नेपाली थियो भन्ने १०० बर्ष पुराना प्रमाण (जुन शरणार्थीले यस्तो हण्डर र ठक्कर हुँदा, आफ्ना घरमा आगो लगाइदिंदा र जनगणनाको नाममा अत्याचारी खेतालाहरुबाट प्रमाण मागेर नष्ट गरिदिंने लगायतका समस्याका बाबजूद पनि अझै बोकिरहेका छन् ) प्रति जानकार छैन ? के अझैपनि भूटानमा रहेका नेपालीभाषी नागरिकलाई प्रहरी तथा सेनामा भर्ना लिन सन् १९९० देखिनै प्रतिबन्ध लगाइएको छ , सरकारी सेवामा नयाँ प्रवेश दिइएको छैन भन्ने प्रति जानकार छैन ? यी अन्याय अमेरिकाको परिभाषाको नागरिक अधिकार र प्रजातन्त्रको हनन भित्र पर्छन् कि पर्दैनन् ? यसको बिरुद्धमा अमेरिकाले कत्तिको आवाज उठाएको छ ? अहिलेको दयालुभाव (?) प्रदर्शनले जातीय र धार्मिक सफायाका लागि बिश्वब्यापी रुपमा पूठ दिन्छ कि दिंदैन ? यसले प्रत्येक देशमा रहेका अल्पसंख्यकहरुमा असुरक्षाको वातावरण सिर्जना गर्छ कि गर्दैन ? कि बिश्वभरका निरंकुश शासकले लखेटेर राज्यबिहीन पारेका नागरिकहरु सबैलाई अमेरिकाले आफ्नो देशमा लैजाने हो ? यदि त्यसै हो भनेपनि लाखौं इराकी, अफगान र प्यालेष्टिनी तथा अफ्रिकाका बिभिन्न देशमा अत्याचार र त्रासमा भागाभाग गरिरहेका लाखौं शरणार्थीहरुलाई पनि उसले लैजाला नै ।

यी प्रश्नहरुले भूटानी शरणार्थीहरुमा अमेरिकाप्रति नकारात्मक भावना उब्जाउन खोजिएको होइन ( त्यस्तो अर्थ नलागोस्)
न त अमेरिकाको भूटानी शरणार्थी प्रतिको सदाशयतामाथि प्रश्न उठाउन खोजिएको हो । यो त प्रबृत्तिको बिरोध हो । अमेरिकाले भूटानी शासकको अत्याचारबिरुद्ध मौन रहँदा भूटानी नागरिकले भोग्नुपरेको पीडाको मूल्य भूटानी शरणार्थीहरुलाई आफ्नो देशमा लैजाने आश्वासनले चुक्ता हुन्छ ? यो त सिधैं निरंकुश शासकलाई तिम्रो बाटाको काँडा म मिल्काइदिएँ, ल अकण्टक आफ्नो यात्रामा अघि बढ भनेर नैतिक बल दिएको होइन ? जुन देशका राजदूतले नेपालका आर्मी ब्यारेक ब्यारेक चाहार्न भ्याउँछन्् त्यो देशले भूटानी निरंकुश शासकलाई जातीय सफाया रोक्न खेलेको भूमिका कहाँनिर छ ?

अमेरिकी सरकारको सहयोगको प्रबृत्ति पनि उत्तिकै गजबको छ । इराक ध्वंसका लागी खर्बौ डलर खर्च गर्ने देशले, नेपालमै पनि द्वन्दकालमा हतियारका लागि करोडौं सहयोग दिने देशले हालै नेपालमा आएको बिनासकारी बाढीले घरबार गुमाएका, भोकले मर्मान्त भएका लाखौंलाख बाढीपीडितको लागि भने पुरै पचास हजार डलर सहयोग गर्छ ( हुनत सहयोग दिनुपर्ने बाध्यता छैन , १ रुपियाँ दिएपनि उसको खुसीको कुरा हो ) । अमेरिकी सरकारले आफ्ना नागरिकबाट उठाएको करबाट गर्ने खर्च कस्ता क्षेत्रमा गरिरहेको छ, सबैले बुझेकै कुरा हो ।

अर्कोतिर भारत छ, जसले ट्रकमा मालसामान लादेझैं लादेर भूटानबाट नेपाल ल्याई घोप्टाएका शरणार्थी जब सोहीबाटो आफैं हिडेर फर्कन चाहन्छन् तिनमाथि क्रुरतम रुपमा प्रस्तुत भएर निरन्तर तिनका स्वदेश फिर्ति प्रकृयामा मुख्य बाधक बनिरहेको छ । हालैको प्रणव मुखर्जीको जिओडेमोग्रफीक बिश्लेषणले अर्को जगहँसाइ गरेको छ । भूटान, जुन बिश्वकै सर्वाधिक कम जनघनत्व हुने देशहरुमध्ये एक हो ( ४५प्रति बर्ग कि.मी.) त्यहाँ त्यही देशका नागरिक फर्कंदा जनसंख्या असन्तुलन हुने तर्क गर्छन् । मुखर्जी गणितले शरणार्थीप्रति भारतीय ब्यूरोपोलिटिक्सको रवैया कस्तो छ भन्ने स्पष्ट पार्छ । गत राष्ट्रपतीय चुनावमा एक पटक प्रस्तावित उम्मेदवार समेत भैसकेका बिद्वान कूटनीतिज्ञ मुखर्जीको यो गणितको लज्जास्पद प्रस्तुतिकरणले भारत नै यो समस्यालाई अल्झाउन चाहन्छ भन्ने तर्कलाई नै बल पु¥याउँछ । के छिमेकीको परिवारमा कलह हुँदा मिलाउन जानुको साटो कुनै एक सदस्यमाथि अत्याचार हुँदा पीडकको  पक्षमा लाग्नु असल छिमेकीको धर्म हो ? के मरिसस्, फिजी, ट्रिनिडाड एण्ड टोबेगो लगायतका बिभिन्न देशहरुमा रहेका भारतीय मूलका वा हिन्दीभाषी नागरिकलाई ती देशबाट भूटानी शरणार्थीलाई भूटानबाट लखेटेझैं लखेट्ने हो भने भारतको भूमिका यस्तै हुनेछ ? सवा अर्व नागरिकहरुहरु सहित सयौं जातजाति र भाषाभाषीयुक्त प्रजातन्त्रबादी भारत, जसले प्रधानमन्त्री र सत्तारुढ दलका सर्वाधिकारसम्पन्न नेता तथा हालै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा जुन किसिमको ऐतिहासिक धार्मिक एवं जातीय समावेशीकरण देखाउन सफल भएको छ, उसैले भूटानबाट नेपालीभाषी र हिन्दूधर्मावलम्बी नागरिकहरुलाई राज्यबिहीन बनाउँदा उल्टै निरंकुश सरकारको समर्थन गरेर नेपालीभाषीको स्वदेश फिर्तीमा भाँजो हाल्नु कत्तिको सुहाउने कुरा हो ? के श्रीलंकामा अल्पसंख्यक तमिलहरुलाई पाखा लगाउने प्रयासबाट शुरु भएको त्यहाँको भयानक गृहयुद्धबाट भारतले पाठ सिक्नु पर्दैन ? २१ औं शताब्दिको लोकतन्त्रको मुख्य संकेत नै ब्यापक समावेशीकरण र अल्पसंख्यकका पक्षमा राज्यले दिएको सम्मानजनक ब्यवहार हो । के नेपालीभाषीको भूटानबाट उन्मूलनले भारतको समृद्धि र सुरक्षालाई सबल बनाउँछ ? भारतले भूटानका एकथरी नागरिकलाई डमी चुनावको लागि ईलेक्ट्रोनिक भोटिङ मेसिन र अर्काथरी नागरिकलाई आफ्नो देश प्रवेश गर्न खोज्दा लाठी र गोली बर्साउनु कस्तो प्रजातान्त्रिक अभ्यास हो ?

जुन देशले आफ्ना २५ प्रतिशतभन्दा बढी नागरिकलाई सर्वस्वहरण सहित देश निकाला गरेको छ त्यही देशले ग्रस नेशनल हेप्पीनेश (खूद राष्ट्रिय खुशी) मापन गरेर आफ्नो देशमा ह्यापीनेश स्टान्डर्ड उच्च भएको नाटक गर्छ । संसदीय प्रजातन्त्रको पपेट ड्रामा गर्छ त्यसैलाई भूटानमा भएको प्रजातन्त्रप्रतिको अग्रगामी पाइला भनेर डङ्का पिट्ने भारतीय संचार माध्यमले शरणार्थीका पक्षमा सिन्को भाँच्न त परै जाओस् उल्टो नकारात्मक प्रचारबाजी गर्दा प्रजातन्त्रको वकालत ठान्दा हुन् ।

चिन्ताको बिषय हो —भूटानी शरणार्थीहरुको बहुलता रहेका भनिएको भूटान कम्यूनिष्ट पार्टी (माओबादी) ले हतियारको बलबाट संघर्ष अघि बढाउन खोजेको हल्ला । यो नै अमेरिकाले भूटानमा कम्यूनिष्ट प्रभाव हावी हुन नदिन शरणार्थी तेश्रो देशमा पुनर्वास गराउन जोड दिनुको कारण हो भन्ने एकथरिको तर्कलाई बल पु¥याउँछ । अमेरिका र भारतले श्रीलंकाको उदाहरणबाट नै पनि के बुझ्न सक्छ भन् हतियारबन्द बिद्रोहको लागि कम्यूनिष्ट नै हुन नपर्ने रहेछ । वास्तवमा हतियारबन्द आन्दोलनको हल्लाले भूटानी शरणार्थीको पल्ला कमजोर पार्न प्रत्यक्ष परोक्ष भूमिका खेल्ने हुनाले शरणार्थी नेताहरु सचेत हुनैपर्छ । यदि शान्तिपूर्बक पुकारिएका हजार आवाज पनि सुन्न कोही तयार हुँदैनन् भने त्यस अवस्थामा शरणार्थीहरुलाई आफ्नो अस्तित्वको अन्तिम लडाईंका लागि के गर्नुपर्छ, तिनीहरुले निर्णय गर्नसक्छन् । हिंसाको प्रयोग सभ्य समाजका लागि शोभनीय हुँदैन (चाहे जो सुकैले जे सुकै नाममा गरेको होस्)

भर्खरै नेपालका लागि अमेरिकी राजदूत नान्सी पावेल नेपाल आएकी छिन् । उनी एउटी नारी भएकोले पनि राज्यहीन नारीको, तिनले सन्तान हुर्काउन गर्नुपरेको संघर्षको, तिनका नानीहरुले स्कूल जान नपाउँदाको र तिनका पति र हुर्के बढेका छोराहरुले काम नपाएर जुवा तासमा दिन काटिरहँदाको र आफन्तहरुको क्रुर हत्याको पीडाको कल्पना गर्नसक्छिन् । आफ्नो पोत्ने चुलो र बच्चा खेल्ने आँगन नहुँदाको दर्द महिलालाई कति हुन्छ अनुमान गर्न सक्छिन् (भलै उनले चुलो पोत्ने कुरा नबुझ्लिन् ) । शरणार्थीप्रतिका अत्याचारका फेहरिस्त बुझ्न उनलाई टेक नाथ दाहालको निर्वासन ग्रन्थका दस्तावेज बढाइचढाई लाग्छ भने एकताका भूटानी शाही परिवारका पाहुना भै भूटान भ्रमण गरेका माइकल हट को अनबिकमिङ सिटिजन पढून (नपढेकी भए) । अमेरिकाका लागि भूटानी शरणार्थी आफ्नो देशमा लगेर भारतलाई खुच्चिङ्ग भनेर कुनै फाइदा हुनेछैन, खास गरी उसको प्रजातन्त्रको प्रवक्ताको प्रस्तुतिका लागि । बरु भारतका केही नेताहरु (जुन सधैं त्यहाँको रुढीबादी कर्मचारीतन्त्रबाट प्रभावित देखिएका छन् ) लाई समेत बिश्वासमा लिएर भूटानी शरणार्थी स्वदेश फिर्ती र सम्मानजनक बसाइको लागि अबिलम्ब कदम चाल्न उनको सरकारसँग आवश्यक कदम चाल्न सक्छिन् । त्यति भए यो समस्या छिनभरमा समाधान हुनेछ  र स्वार्थप्रेरित तेश्रो देशमा पुनस्र्थापनाको दोषबाट ऊ मुक्त हुनेछ ।

शरणार्थीहरुको आन्दोलन शसक्त हुन सकेका छैनन् । ती बर्षौंको निरासाले थाकेका, गलेका र निरीह देखिएका छन् । मेचीपुलमा तिनको शान्तिपूर्ण अभियानमा भारतीय सुुरक्षाबलबाट गोली हानेर एक भूटानीे शहीद भएपछि भारतको अन्तराष्ट्रिय छबिमा कालो धब्बा लागेको छ । तर भूटानी घरफिर्ती अभियानलाई ठूलो बल दिएको छ (यदि त्यो हिंसात्मक आन्दोलनको क्रममा भएको भए भूटानी शरणार्थीको बिपक्षमै हुने थियो ) । भारतका सीताराम यचुरी लगायतका हस्तीहरुले शरणार्थीहरको स्वदेशफिर्ती अभियानमा तीब्रता दिएर भारतमाथि लागेको कलंक मेट्न सक्छन् । सर्बशक्तिमान सत्तारुढ दलकी नेतृ सोनिया गान्धीले यो अन्यायको अन्तका लागि पहल गरेर आफ्नो उचाइलाई अझ उन्नत बनाउने बेला भएको छ अहिले । भर्खरै भारतले शरणार्थी समस्यामा चासो दिएको भान पारेपनि शब्द छनौटमा समेत कन्जुस्याई गरी “नेपालका शिविरमा रहेका भूटान फर्कन चाहने शरणार्थी” भनेर सम्बोधन गरेको छ, “भूटानी शरणार्थी” सम्म पनि सिधै भन्न सकेको छैन । निकट भविश्यमै शरणार्थीहरुको भाग ( नेपाली रुढ शब्दमा बिलो ) लगाइदै छ र ती भागहरु बिभिन्न देशमा अनुगृहित हुँदै तत्तत् देशमा श्रमिक बन्न पछि लाग्नुपर्नेछ । अवश्य पनि ज्यान सबैलाई प्यारो लाग्छ तर पुस्तौं पुस्ता मरेसरह बाँच्नु भन्दा न्यायका लागि, आफ्ना पुर्खाको बिरासतका लागि र तिनका रगत पसिना बगेका भूमिको सम्मानका लागि पनि भूटानीहरु आफ्नो देश फर्कर्नै पर्छ । लुत्र ेकान लगाएर कसैको निगाहमा उसका पछि लागेर आजीवन अनुगृहित जीवन बाँच्नु भन्दा त आफ्नो देश र जातिको लागि मर्नु कता हो कता अमूल्ृय हुन्छ ।

जुकेना २, अर्घाखाँची
हाल ः योकोहामा, जापान